उच्च आर्थिक वृद्धिदरमा विश्वबैंकले सहयोग गर्ने


काठमाडौं ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसियाका उपाध्यक्ष जोहानेस जुटबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।

भेटमा अर्थतन्त्र, सहरी पूर्वाधार, लगानी, पर्यटन र वातावरणसम्बन्धी विषयमा छलफल भएको थियो । अर्थमन्त्री पौडेलले आर्थिक सूचकहरू गत वर्षको तुलनामा सुधार भएको उल्लेख गर्दै नेपालले नीतिगत तथा संरचनागत सुधार अघि बढाएको जानकारी दिनुभयो । उहाँले विश्व बैंकले ल्याएको कन्ट्री पार्टनरसिप फ्रेमवर्क नेपालको प्राथमिकतासँग मिल्ने बताएर योजनाहरूमा सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभयो ।

वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएपछि निजी क्षेत्रसँग मिलेर लगानी गर्ने गरी काम अघि बढाउने जानकारी पनि दिनुभयो ।

त्यसक्रममा उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै लुम्बिनी, काठमाडौं उपत्यकाको पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र निजी क्षेत्रको सहभागितामा जोड दिनुभयो ।

त्यस्तै अर्का उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहानेस जुटले भेट गरी नयाँ सहरी परियोजनामा सहकार्यबारे छलफल गरेका छन् ।

भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्र विकास, काठमाडौं उपत्यकामा भौतिक पूर्वाधार निर्माण, फोहोर व्यवस्थापन र नदी स्वच्छतालगायतका विषयमा सहकार्य गर्नेबारे कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

सिंहले विश्व बैंकसँगको सहकार्यप्रति आभार व्यक्त गर्दै आगामी योजनामा थप सहयोग हुने अपेक्षा गरे भने जुटले लुम्बिनी र काठमाडौंलाई प्राथमिकतामा राखेको रणनीति सकारात्मक भएको भन्दै निरन्तर सहयोगको आश्वासन दिएका छन् ।