काठमाडौं ।
अध्यागमन विभागले अब ‘भिजिट भिसा’मा नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत ट्र्याकिङ गर्ने भएको छ।
विभागले मंगलबार जारी गरेको विज्ञप्तीमा असोज १ गतेदेखि पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा ‘फरेन नेशनल ट्र्याकिङ सिस्टम’ अनिवार्य लागू गरिने उल्लेख छ ।
विभागका अनुसार प्रणालीले विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्ने, सूचनामा सहज पहुँच दिलाउने, सम्भावित अपराध नियन्त्रण गर्ने र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेछ ।
दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एन्ड ट्राभल्स कम्पनी तथा मनी एक्सचेन्ज संस्थामा पनि यो प्रणाली लागू गरिनेछ । त्यसपछि क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थामा समेत विस्तार गरिने विभागले जनाएको छ ।
नयाँ प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास, गतिविधि र प्रस्थानको व्यवस्थित अभिलेख राख्न सकिनेछ । आपतकालीन अवस्थामा खोज, उद्धार तथा सुरक्षामा यसले सहयोग पुग्ने विश्वास विभागको छ ।
त्यस्तै सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच प्रभावकारी सूचना आदानप्रदान हुने भएकाले पर्यटन क्षेत्र सुरक्षित र व्यवस्थित बन्ने अपेक्षा गरिएको छ ।
विभागले विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक तथा निजी संस्थालाई प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुन आग्रहसमेत गरेको छ ।











प्रतिक्रिया