‘डिप्रेसन’ शब्द हामीले प्रायः दैनिकरुपमा प्रयोग गरिरहेका हुन्छौं । ‘आजको दिन कस्तो नराम्रो भयो, म त डिप्रेस्ड छु’, ‘परीक्षा बिग्रियो, म त डिप्रेसनमै गएँ’, ‘कस्तो एक्लै बसिरहेको, तिमीलाई डिप्रेसन भयो कि क्या हो ?’, ‘प्रेममा विछोड भए म त डिप्रेसनमै जान्छु’, ‘जागिर नपाएर, धनसम्पत्ति नकमाएर डिप्रेसन हुन्छुजस्तो छ’ ।
यस्ता शब्द हामी आफैंले प्रयोग गरिहेका हुन्छौं वा हाम्रो परिवार, आफन्त वा समाजमा कसैले प्रयोग गरिरहेको सुन्छौं । आफ्नो नैराश्यता, उदासीपन वा दुःखका भावनालाई हामी आफैंले ‘डिप्रेसन’ को परिधिभित्र राखेर व्याख्या गरिरहेका हुन्छौं । के वास्तवमा यस प्रकारका भावना आउनु डिप्रेसन हो कि होइन भन्ने बुझ्न जरुरी छ ।
हिजोआज सबैले प्रयोग गर्दै आएको डिप्रेसन शब्द प्रचलित वा चलनचल्तीको भाषाजस्तै बनेको छ । यो कुनै प्रसिद्ध घुम्ने ठाउँ वा लोकप्रिय ब्रान्डजस्तै भएको छ । सबैको जिब्रोमै झुन्डिएको छ । यथार्थमा हामीले प्रयोग गर्ने डिप्रेसन सामान्यरूपमा अनुभव गर्ने उदासीपनजस्तो होइन, यो त एउटा गम्भीर मानसिक स्वास्थ्य समस्या हो ।
कुनै व्यक्ति जति बेला पनि उदास देखिन्छ । परिवार तथा साथीहरुसँग राम्रोसँग बोलचाल गरेको छैन । कोठाभित्र एक्लै धुमधुमी बस्ने गरेकाले साथीहरुले उसलाई डिप्रेसनमा गएको भन्छन् । त्यस्तै अर्को व्यक्तिको स्वभावमा महिनौंअघि नै परिवर्तन आएको छ । उसलाई पहिलाजस्तै काम गर्न खासै रुचि छैन र ध्यान दिन पनि सकिरहेको छैन । उसलाई राति निद्रामा पनि समस्या भइरहेको छ । तथापि, ऊ साथीहरुसँग हाँस्ने बोल्ने गरिरहेको छ तर पनि उसमा आएको परिवर्तनले गर्दा साथीहरु उसलाई डिप्रेसनमा गइस् क्या ? भनेर जिस्क्याउँछन् तर ऊ होइन भनेर पन्साउँछ ।
दुवैको अवस्थालाई हामीले प्रायः एउटै दृष्टिकोणबाट हेर्छौं र डिप्रेसनको नाम दिन्छौं । तर के उनीहरू दुवैमा उस्तै प्रकृतिको समस्या छ त ? भन्ने महत्वपूर्ण प्रश्न उठ्छ । हामीले सामान्यतया प्रयोग गर्ने ‘डिप्रेसन’ शब्द र वास्तविक चिकित्सकीय डिप्रेसनबीच के फरक छ ? यो बुझ्नु निकै जरुरी हुन्छ, किनभने एउटा सामान्य मानवीय भावना र एउटा उपचार आवश्यक मानसिक अवस्थाबीचको भिन्नताबारे थाहा पायौं भने हामीलाई आफू र आफन्तहरूको मानसिक स्वास्थ्यबारे सही निर्णय गर्न मद्दत पुग्छ ।
त्यसलाई बुझ्न शुरुमा ‘स्याड्नेस’ अर्थात् उदासीपन के हो ? भन्नेबारेमा प्रस्ट हुनुपर्छ । उदासी भनेको एक विश्वव्यापी प्राकृतिक भावनात्मक प्रतिक्रिया हो, जुन जीवनको कुनै पनि समयमा हामी सबैले अनुभव गर्न सक्छौं । जस्तै– शारीरिक वा मानसिक पीडा, असफलता, धोका, प्रियजनको मृत्यु वा अन्य कठिन परिस्थितिहरू हुँदा त्यस किसिमको भावना महसुस हुन सक्छ । उदासीले दैनिक जीवनमा धेरै ठूलो समस्या पु¥याउँदैन ।
यो प्रायः छोटो समयको लागि रहन्छ । समयको गतिसँगै यो आफैं घट्दै जान्छ । अथवा परिवार, साथीभाइजस्ता नजिकको व्यक्तिको सहायताले बिस्तारै कम हुन सक्छ । कठिन परिस्तितिमा केही उदास हुनु सामान्य मानिन्छ । तर, त्यो उदासी लामो समयसम्म कायम रहिरह्यो वा गहिरिँदै गयो र व्यक्तिको व्यवहारमा फरकपन देखिँदै गयो भने त्यो डिप्रेसनको लक्षण पनि हुन सक्छ ।
युवाहरूमाझ हिजोआज आफ्नो भावनालाई डिप्रेसनका रूपमा परिभाषित गर्ने प्रवृत्तिको विकास भइरहेको छ । यो अर्को गम्भीर चुनौती पनि हो ।
लक्षण:
सबै उदासीपन डिप्रेसन होइन । साथै सबै व्यक्तिमा डिप्रेसनको लक्षण एकै प्रकारको हुन्छ भन्ने पनि हुँदैन । तथापि, कुनै व्यक्ति लामो समयसम्म उदास रह्यो, उसले आफूमा रित्तोपन महसुस ग¥यो, उसमा चिडचिडा महसुस भइरहन्छ । मनमा अनेकौं विचार खेलिरहन्छ । फरकखालको व्यवहार प्रदर्शन गर्ने र गम्भीर अवस्थामा पुगेपछि आत्महत्याको विचार व्यक्त गर्ने पनि हुन सक्छ ।
डिप्रेसन व्यक्तिको सोच्ने तरिका, व्यवहार, भावनात्मक प्रतिक्रिया र जीवनप्रतिको दृष्टिकोणमा नै परिवर्तन गराउन सक्ने अवस्था हो । यसका साथै, तौलमा अचानक परिवर्तन आउनु, निद्रामा समस्या (धेरै सुत्नु वा कम सुत्नु), थकान बढ्दै जानु, शरीरमा विभिन्न किसिमका पीडा वा असहजताजस्ता शारीरिक लक्षणहरू पनि देखिन सक्छन् ।
असर र कारण :
डिप्रेसनले मानिसको दैनिक जीवनमा नै असर पु¥याउन सक्छ । जस्तै कि पढ्न मन नलाग्ने, काम गर्ने जाँगर नआउनु, व्यक्तिगत हेरचाहमा ध्यान नदिने, पारिवारिक विषय र जिम्मेवारीका सम्बन्धमा चासो नदिने, यस्ता समस्या दुई हप्ताभन्दा लामो समयसम्म देखिरहेको अवस्थामा मनोपरामर्शको सहयोग लिनु आवश्यक हुन्छ । डिप्रेसन कुनै पनि विशिष्ट कारणविना पनि हुन सक्छ । तर जैविक कारण– आनुवांशिक, मस्तिष्कको विकार, न्यूरोकेमिकल असन्तुलन, हर्मोन, मनोवैज्ञानिक– तनावपूर्ण जीवन र कुनै घटनाहरुले मानसिक आघात पुग्न सक्छ ।
त्यस्तै सामाजिक तथा आर्थिक कारकहरू– आर्थिक समस्या, भेदभाव, स्थिरताको अभावजस्ता विविध कारणहरूले पनि मानिसलाई डिप्रेसनमा लैजान योगदान पु¥याउन सक्छ । नेसनल मेन्टल हेल्थ सर्भे, २०२० को तथ्यांकअनुसार नेपालका १३ वर्षदेखि १७ वर्ष उमेरका किशोरकिशोरीमा कुनै पनि मानसिक समस्या दर ५.२ प्रतिशत रहेको छ, जसमा मेजर डिप्रेसन डिसअर्डर (एडीडी) को दर ०.६ प्रतिशत रहेको छ भने १८ वर्ष र सोभन्दा माथिका वयष्कहरूमा दीर्घकालीन मानसिक समस्या दर १० प्रतिशत र तत्कालको ४.३ प्रतिशत रहेको छ, जसमा मेजर डिप्रेसन डिसअर्डर (एमडीडी) को २.९ प्रतिशत र तत्कालको १ प्रतिशत रहेको छ ।
त्यस्तै सेप्टेम्बर २०२४ मा प्रकाशित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरेन्द्र सैनिक अस्पताललगायतका स्वास्थ्य संस्थाको संयुक्त अध्ययन (मेटा विश्लेषण) अनुसार वयष्क जनसंख्यामा डिप्रेसनको समग्र प्रसार १३.७५ प्रतिशत र बालबालिका एवं किशोरकिशोरीहरूमा २७.४९ प्रतिशत रहेको देखिएको छ ।
यी तथ्यांकअनुसार डिप्रेसनलाई ख्यालठट्टा र सामान्य उदासीको भावनाका रुपमा नलिएर स्वास्थ्यसम्बन्धी समस्या हो भनेर बुझ्नुपर्ने देखिएको छ ।
डिप्रेसन र उदासीमा भिन्नता :
उदासी र डिप्रेसन दुवै एक–आपसमा सम्बन्धित भए तापनि निश्चितरूपमा एउटै होइनन् । उदासी कुनै पनि समस्या, दुःख, तनावजस्तो परिस्थितिमा आउने अस्थायी प्राकृतिक प्रतिक्रिया हो । त्यस्तै डिप्रेसन एक प्रकारको मुड डिसअर्डर हो, जसले व्यक्तिको महसुस, सोचाइ र काम गर्ने तरिकालाई असर गर्न सक्छ ।
उदासी सामान्यतया कुनै खास कारण वा जीवनमा अपेक्षा नगरेका ठूला परिवर्तनहरूको कारणले हुन सक्छ भने डिप्रेसन कुनै स्पष्ट कारण वा कारणविना पनि हुन सक्छ । डिप्रेसनले मानिसको दैनिक जीवनमा नै असर पु¥याउन सक्छ भने मानिसहरू सजिलैसँग उदासीबाट बाहिर निस्कन सक्छन् । यसले दैनिक जीवनमा खासै असर पु¥याउँदैन । उदासी समयसँगै हट्न सक्छ भने डिप्रेसनलाई सामान्यतया सहयोग वा उपचारको आवश्यकता पर्दछ ।
त्यस्तै उदासी हुँदा सामान्यतया शरीरमा ठूलो परिवर्तन आउँदैन । तर, डिप्रेसनमा निद्रा, भोक, ऊर्जाको स्तर, ध्यान केन्द्रित गर्ने क्षमताजस्ता कुरामा परिवर्तन आउन सक्छ ।
अब के गर्ने ?
डिप्रेसनका लक्षणहरू देखा पर्नेबित्तिकै आत्तिनुपर्दैन, किनकि यो कहिलेकाहीँ हल्का किसिमको पनि हुन सक्छ । वातावरणमा सामान्य परिवर्तन वा प्रियजनहरूको सहयोगले सुधार हुन सक्छ । यद्यपि, बेवास्ता गरियो भनेचाहिँ सामान्य देखिएको यो अझ खराब हुन पनि सक्छ । त्यसैले प्रारम्भिक अवस्थामा नै मद्दत खोज्नु जरुरी हुन्छ । मद्दत खोज्नु कमजोरीको होइन, यो शक्तिको संकेत हो । डिप्रेसन अरु शारीरिक समस्या, मधुमेह, क्षयरोगजस्तै उपचारयोग्य समस्या हो भन्ने बुझ्न जरुरी छ ।
डिप्रेसनलाई बेवास्ता गर्ने तथा मनोपरामर्श लिन लजाउने गरेको अवस्थामा यो समस्या झन्–झन् जटिल हुँदै गई त्यसले दैनिक जीवनमा असर पर्ने अवस्था सिर्जना हुन सक्छ । त्यसको परिणामस्वरुप मानिसले आत्महत्याको प्रयास गर्ने र त्यसको विचार आउनु दुवै डिप्रेसन गम्भीर संकेत हुन् । यस अवस्थामा तुरुन्तै विशेषज्ञ मनोपरामर्शदाता, मनोवैज्ञानिक, मनोचिकित्सकहरुको सहयोग लिनुपर्छ, जसले थेरापी, मानसिक परामर्श र गम्भीर अवस्थामा औषधिमार्फत विभिन्न दृष्टिकोणहरू विश्लेषण गरेर उपचार गर्दछन् । सरकारले पनि विभिन्न निःशुल्क हेल्पलाइन नम्बरहरू उपलब्ध गराएको छ, जसमा सम्पर्क गरेर तत्काल र प्राथमिक मानसिक सहायता प्राप्त गर्न सकिन्छ ।
निष्कर्ष :
डिप्रेसन केवल क्षणिक उदासी मात्र होइन, यो एक गम्भीर मानसिक स्वास्थ्य अवस्था हो, जसलाई सहयोग र हेरचाह गर्नुपर्छ । डिप्रेसनको निदान गर्र्न व्यक्तिले आफ्नो जीवन अस्पतालमा बिताउनुपर्ने वा सधैँभरि औषधिमा भर पर्नुपर्ने भन्ने होइन । समयमै उचित थेरापी, सहयोगी सम्बन्ध र स्वस्थ जीवनशैलीको परामर्श प्राप्त गरेको अवस्थामा छिटो निको पार्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा, हामीले डिप्रेसनलाई कलंक वा अरु नजरले हेर्न बन्द गरी यसलाई सहानुभूतिपूर्वक बुझ्नुपर्छ । किनभने मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ । यसमा मद्दत खोज्नु व्यक्तिको कमजोरी नभएर आत्मविश्वासको प्रमाण हो ।
(लेखक श्रेष्ठ मनोविज्ञानकी विद्यार्थी हुनुहुन्छ ।)











प्रतिक्रिया