नेपालमा पनि फेसबुक कन्टेन्ट मनिटाइजेसन सुरु


काठमाडौं।

मेटाले नेपाललाई फेसबुक कन्टेन्ट मनिटाइजेसनका लागि योग्य देशको सूचीमा समावेश गरेको छ । यससँगै नेपाली प्रयोगकर्ता तथा कन्टेन्ट क्रियटरले फेसबुकमार्फत औपचारिक रूपमा आम्दानी गर्न सक्ने भएका छन् ।
अब प्रोफेसनल मोडमा रूपान्तरण गरिएको फेसबुक प्रोफाइल वा पेजका सर्जकले विज्ञापनसहितका विभिन्न टुल (जस्तैः एड अन रिल्स् र स्टाटर्स ) प्रयोग गरी आयआर्जन गर्न सक्नेछन् । कम्पनीले केही प्रयोगकर्तालाई इमेलमार्फत सेवाको सुरुवातबारे जानकारी गराएको छ ।

मनिटाइजेसनअन्तर्गत फेसबुकले सर्जकका सामग्रीमा विज्ञापन देखाई आम्दानीको हिस्सा उपलब्ध गराउनेछ । भुक्तानीका लागि नेपाली बैंक खाता र स्थायी लेखा नम्बर अनिवार्य हुनेछ । मेटाको निर्णयले नेपाली डिजिटल क्रियटरलाई प्रत्यक्ष आम्दानीको अवसर दिने मात्र होइन, देशमा रेमिट्यान्स र कर राजस्व बढाउन पनि सहयोग गर्ने अपेक्षा गरिएको छ ।

फेसबुक मनिटाइजेसनका लागि मेटाले कडा नियम लागू गरेको छ । ‘पार्टनर मनिटाइजेसन पोलिसी’ अनुसार केवल योग्य सामग्री मात्र पोस्ट गर्न पाइनेछ । घृणा, हिंसा, गलत जानकारी वा कम्युनिटी स्टान्डर्ड उल्लंघन गर्ने सामग्रीमा प्रतिबन्ध लगाएको छ ।

मेटाले डुप्लिकेट वा रिपोस्ट कन्टेन्टलाई अस्वीकार गर्ने र गलत तरिकाले फलोवर्स वा भ्यूज बढाउने गतिविधिमा मनिटाइजेसन रोक्ने जनाएको छ । त्यस्तै भिडियोबाट आयआर्जन गर्न कम्तीमा १५ सेकेन्डको हुनुपर्ने शर्त राखिएको छ।

क्रियटरले भिडियो, रिल्स, स्टोरी वा लाइभ स्ट्रिममा आएका विज्ञापन, स्टार र सब्सक्रिप्सनमार्फत प्रत्यक्ष आम्दानी गर्न सक्नेछन् । यसले नेपाली क्रियटरका लागि युट्युबझैं ‘क्रिएटिभ पेशा’ अपनाउने अवसर खोल्ने अपेक्षा गरिएको छ।