मामा डेरामै, ‘भाञ्जा’ लाई घर


हेटौंडा ।

नाम–राजु अधिकारी । उमेर–२३ वर्ष । जो २०६८ कात्तिक २६ गतेसम्म हेटौंडा–१० स्थित बसपार्कमा रहेको कवाडीको थुप्रोमा रुमल्लिरहेका देखिन्थे । सडकमा रहँदा उनी ‘कोब्रा ग्याङ’ का डन थिए ।

मकवानपुरको सिस्नेरीका उनका बुबाआमा दुवैको मृत्यु भइसकेको छ । उनको औपचारिक शिक्षा ४ कक्षामा सीमित रह्यो । उनी घरघर डुलेर पत्रिका बेच्ने हकर, फ्रिज मर्मतकर्ता, प्लम्बर, कफीमेकर बने । पछि उनी हकीका राष्ट्रिय खेल खेल्न सफल भए भने कुनैकुनै प्रतियोगितामा त उनी क्याप्टेनको भूमिकामा पनि रहे । अधिकारी हाल कतारमा व्यक्तिगत् सुरक्षा गार्डका रुपमा कार्यरत् छन् । पछिल्लो समय उनको मेहनतले हेटौंडामा घर किनेका छन् । उनि नेपालमा रोजगारी नपाएर करिब ३ वर्षअघि विदेश गएका थिए ।

हेटौंडा–११, डाङ्डुङेमा करिब ५० लाख मूल्यबराबरको १० धुर जग्गामा बनेको ४ कोठेघर उनले किनेका हुन् । घर किन्ने पैसामध्ये केही आफैंले कमाएका हुन् भने केही उनलाई सडकबाट उद्धार गरी ‘मामाघर’ पु¥याएका ‘मामा’ उपमा दिइने अर्पण पराजुलीले दिएका हुन् । अधिकारी आफ्नो घरमा आज (बुधबार) विहान पत्नी सिन्धुपाल्चोककी प्रमिला खड्कासहित गृहप्रवेश गर्ने गरेका हुन् । अधिकारीले गत मंसिरमा विवाह गरेका थिए ।

अधिकारीलाई आश्रय दिएका पराजुली हालसम्म डेरामै छन् भने उद्धार गरिएका अधिकारीले घर किनेका छन् । ‘मेरो जीवनमा यो भन्दा ठूलो सन्तुष्टि नै छैन,’ पराजुली भन्छन–मेरो मुटुको टुक्राले घर किनेको खुशीमा मेरो बोल्ने शब्द नै छैनन् ।

अधिकारीको यो सफलता शुरु हुन्छ २०६८ ताकाबाट । एक दिन पाहुनालाई स्वागत गर्न हेटौंडा बसपार्क पुगेका पराजुलीले नजिक ठेलामा बेच्न राखिएको मम माग्दै गरेका बालकहरु देखे । तीमध्ये एक थिए अधिकारी । ग्राहकले मम खाइसकेपछि फ्याँकेका पात भुईंमा खस्न नपाउँदै अधिकारीले टिपेर चाटेको उनले देखे।

हेटौंडा बसपार्कमा यस्तो दृष्य देखेपछि भावुक बनेका हेटौंडेली युवा पराजुलीले आफ्नो अनुसन्धानको विषय तिनै सडक बालकलाई बनाए । प्रारम्भमा उनीसँग बोल्न नमान्ने र पिटुँलाझैं गर्ने सडकबालकहरु हिजोआज उनलाई ‘मामा’ भनी सम्बोधन गर्छन्, सँगै खान्छन् र सँगै सुत्छन् ।

अनुसन्धानसँगै उनीहरुलाई सुरक्षित आश्रय दिने प्रयास पनि थालियो । प्रारम्भमा हेटौंडा नगरपालिकाले उनिहरुलाई खाने-लगाउने खर्च व्यहोरेको थियो । हाल भने ती सबै पूर्वसडक बालकलाई दीर्घकालिन पुनस्र्थापना गर्ने लक्ष्यले हेटौंडामा ‘मामाघर’ निर्माण गरिएको छ । सडकबालबालिकाको अनुसन्धानका क्रममा करिब २ महिना उनीहरुसँगै बिताएर पुनस्र्थापनाका लागि राजी परेका पराजुलीको सम्मानमा उक्त केन्द्रको नामसमेत ‘मामाघर’ राखिएको छ ।

४५ दिनसम्म सडकबालकहरुको दिनचर्या र उनीहरुको सर्वपक्षीय गतिविधि अध्ययनका लागि बोरा ओडेर पराजुलीले एक साता रातभर बसपार्कमा बिताएका थिए । अनुसन्धानको क्रममा उनीहरुलाई नुहाइदिन राप्तिखोलामा लैजाँदा १४ जनाको शरीरबाट एक सय ९६ वटा जुम्रा भेटिएको पराजुलीले स्मरण गरे । उनले बसपार्कवरपर भेटिएका सडकबालकहरुको अध्ययन-अनुसन्धान प्रतिवेदन तयार परेका थिए । अनुसन्धानमा समेटिएका बालक १० देखि १७ वर्ष उमेरका थिए । तीमध्ये ८ जना मकवानपुरका थिए । भेटिएकामध्ये अधिकांश पारिवारिक कलह, सहरको रमझम र साथीको लहैलहैमा लागेर सडकमा आइपुगेका थिए ।

अनुसन्धानका क्रममा हेटौंडामा २३ जना सडकबालक भेटिएको जानकारी पराजुलीले दिए । हेटौंडामा भेटिने सडक बालकहरु ‘बिच्छु’, ‘कोब्रा’ र ‘भ्यान्टे’ गरी तीन ग्याङमा विभाजित थिए । अधिकारी ‘कोब्रा’ ग्याङका डन थिए । अभिभावकबाट टाढा भएका उनीहरु आफ्नो समूहका नाइकेको निर्देशनमा चल्ने चलन थियो । सबैले मागेको र चोरेको कुरा सामूहिक उपभोग गर्थे । भोक लाग्दा डेन्ड्राइड सुँघ्ने बानी भएका उनीहरुले हाल ती सबै गलत कुरा भुलेका छन् । वाक्कैपिच्छे निस्कने अपशब्द उनीहरुको मुखबाट निस्कँदैन ।

उहाँहरुलाई सुरक्षित आश्रयका लागि मामाघर नेपालले ती नयाँ सुबिधासम्पन्न २१ कोठे भवन बनाएको छ । मामाघर नेपालको ‘एक व्यक्ति–एक ईंटा’ अभियानअन्तर्गत हेटौंडा–११ मा समाजसेवी सिद्धिलाल श्रेष्ठले उपलब्ध गराएको ३ कठ्ठा २ धुर जग्गामा भवन निर्माण भएको छ । संरक्षक पराजुलीका अनुसार मामाघर नेपालको सञ्चालन र व्यवस्थापनमा स्थायी दाता कोही छैनन् । मकवानपुर तथा आसपासका व्यक्तिले जन्मदिन, विवाह उत्सवका दिन गरेको सहयोगले मामाघरका ‘भाञ्जा’ हरुको जीवनयापन भइरहेको छ ।