दशैंलाई खसीबोकाको अनलाइन बुकिङ खुल्यो

सुपथ मूल्य पसल कहाँ कहाँ खुल्दैछन् ?


काठमाडौं।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दशैंलाई लक्षित गरी खसी, बोका र च्याङ्ग्र्राको अनलाइन अग्रिम बुकिङ सुरु गरेको छ । कम्पनीका अनुसार अनलाइन बुकिङ मंगलबारदेखि खुला भई भदौ ३० गतेसम्म बुकिङ गर्न सकिनेछ ।

उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमार्फत चाहिएको पशु छनोट गरी अग्रिम भुक्तानी गरेर बुकिङ गर्न सक्नेछन् । खसी वा बोकाका लागि ४ हजार रुपियाँ र च्याङ्ग्राका लागि ५ हजार रुपियाँ अग्रिम शुल्क तिर्नुपर्ने व्यवस्था छ । अन्तिम मूल्य भने पशुको तौलअनुसार निर्धारण हुनेछ ।

कम्पनीले २० देखि ४० किलो तौलका समूहमा पशु छनोट गर्ने विकल्प उपलब्ध गराएको छ । घटस्थापनादेखि सप्तमीसम्म बुकिङ गरिएको पशु तोकिएको मितिमा उपभोक्ताले कम्पनीको बिक्री केन्द्रबाट प्राप्त गर्न सक्नेछन् । बुकिङ पुष्टि भएपछि उपभोक्तालाई एसएमएसमार्फत कोड नम्बर पठाइनेछ, जसको आधारमा पशु बुझिलिन सकिने कम्पनीले जनाएको छ ।

यस वर्ष कम्पनीले करिब २ हजार खसी, बोका तथा च्याङग्रा बिक्री गर्ने लक्ष्य राखेको छ ।
अनलाइन बुकिङमा खसी–बोका मात्र नभई चामल, दाल, तेल, गेडागुडी र कर्णालीका विशेष उत्पादनलगायत दैनिक उपभोग्य वस्तु पनि समावेश छन । यी सामग्री काठमाडौंको चक्रपथभित्र निःशुल्क डेलिभरी गरिने व्यवस्था गरिएको छ।

यससँगै दशैं, तिहार र छठ पर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भदौ ३० गतेदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् ।

खाद्य कम्पनीले ४५ जिल्लाका १११ स्थानमा पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले देशभर न्यूनतम ४० स्थानमा बिक्री केन्द्र राख्नेछ । ती पसलमार्फत चामल, दाल, गहुँ, गेडागुडी, तेल, आटा, मैदा, चिउरा, नुन, चिनी लगायत उपभोग्य वस्तु सहुलियत दरमा उपलब्ध गराइनेछ ।
साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा मात्र कालीमाटी, जावलाखेल, कोटेश्वर, कपन, बालाजु लगायत स्थानमा बिक्री केन्द्र सञ्चालन गर्नेछ ।