चारदिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

1.32k
Shares

जुम्ला।

  ४ दिनदेखि बन्द भएको कर्णाली राजमार्ग आज खुलेको छ ।अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको हो । भदौ १४ गते बिहान ९ बजेदेखी अवरुद्ध भएको राजमार्ग मंगलबारदिउँसो १२ः४५ बजेदेखी संचालनमा आएको हो ।

  चारदिनपछि सडक सुचारु भएपछि रोकिएका स्याउ बोकेका ट्रक सुर्खेत नेपालगन्ज तर्फ गएका छन् । चार दिनदेखी सडक अवरुद्ध भएपछि २३ वटा ट्रक सडकमै अलपत्र परेका थिए । झन्डै १३ करोड बढीको १८४ मेट्रिकटन स्याउ बोकेका २३ वटा ट्रक चार दिनसम्म बाटोमै रोकिएका थिए ।

कर्णाली राजमार्गको गगने खोलामा भदौ १४ गते बिहान ढुंगासहितको भीषण पहिरो आएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो । बे्रकर लगाएर ढुंगा फोड्ने प्रयास गरेपनि सम्भव नभएपछि ब्लाष्ट गरिएको थियो । मंगलबार नेपाली सेनाले चार पटक सम्म ब्लाष्ट गर्दा समेत ढुंगा नफुटेको र वर्षात जारी रहेकाले लेदो पहिरो आउने सक्ने जोखिमलाई मध्यनजर गरी काम रोकिएको थियो ।

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले कालिकोट प्रहरी प्रशासन तथा नेपाली सेनाको सहयोगमा सडकका सबै जनशक्ति परिचालन गरेर सडक संचालनमा आएको बताए । मौसम प्रतिकुलता,भौगोलिक कठिनाइ, स्रोत साधनको अभाव लगायतका कारणले सडक चाँडो खुलाउन नसकिएको उनको भनाई छ ।