गुल्मीमा चक्लाबन्दी खेती

470
Shares

गुल्मी ।

गुल्मी जिल्लामा कृषिको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन वृद्धिको लक्ष्यसहित चक्लाबन्दी खेती प्रणाली प्रभावकारीरुपमा अगाडि बढिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइबाट आर्थिक वर्ष २०७७÷०७८ देखि चक्लाबन्दी खेती शुरु भएको हो ।

हालसम्म जिल्लाका विभिन्न २१ वटा समूह तथा सहकारी संस्थामार्फत १२१ हेक्टर क्षेत्रफलमा चक्लाबन्दी खेती गरिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ परियोजना गुल्मीका प्रमुख रमेश जैसवालले बताए । यस अवधिमा तरकारी, मकै, कफी, ओखर, सुन्तलाजस्ता बालीमा प्रविधियुक्त कृषि प्रणाली प्रयोग गरिँदै आएको छ ।

शुरुवाती वर्ष २०७७÷०७८ मा ७ वटा समूहले चक्लाबन्दी खेती शुरु गरेका थिए भने २०७८÷०७९ र २०७९÷०८० मा समानरूपमा ५÷५ वटा, २०८०÷०८१ र २०८१÷०८२ मा २÷२ वटा समूहले यस प्रणाली अँगालेका छन् । गत आर्थिक वर्ष २०८१÷०८२ मा रेसुङ्गा नगरपालिका–४ को अर्खलेस्थित कृषि बहुउद्देश्यीय सहकारी फर्ममा सुन्तला खेती र रेसुङ्गा नगरपालिका–६, सीमाघाटस्थित आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्ममा तरकारी खेतीमा चक्लाबन्दी प्रविधि लागू गरिएको थियो ।

योजना कार्यान्वयन इकाइले यी स्थानहरूमा लागत साझेदारीको आधारमा चक्लाबन्दी प्रणाली लागू गरेको छ । कुल लागत १९ लाख रुपियाँमध्ये ५० प्रतिशत कार्यालयले र बाँकी ५० प्रतिशत कृषकले लगानी गरेका छन् । कार्यालयमार्फत स्थायी टनेल निर्माण, सिंचाइ सुविधा, उन्नत बीउ, मल तथा आवश्यक उपकरण र प्राविधिक सहायता उपलब्ध गराइएको छ । यसले वर्षभरि मौसमी तथा बेमौसी तरकारी उत्पादन गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

परियोजना शुरु भएको केही वर्षमै यसको प्रभाव देखिन थालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । चक्लाबन्दी खेती प्रणालीले कृषकहरूको आम्दानीमा वृद्धि, उत्पादनमा गुणस्तर सुधार र रोजगारी सिर्जनामा उल्लेखनीय योगदान दिएको कार्यालय प्रमुख जैसवालले बताए । कृषिमा आधुनिक प्रविधिको प्रयोगमार्फत गाउँ–गाउँमा परिवर्तनको लहर देखिन थालेको छ, जसले दीर्घकालीन कृषि समृद्धिको आशा जगाएको छ ।

उत्पादन बढाउने लक्ष्य :
१० वर्षदेखि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–६, सीमाघाटमा अवस्थित आरएनपी नवोदय बहुउद्देश्यीय कृषि फर्ममा प्रेम नेपालीको फर्ममा अहिले चक्लाबन्दी प्रविधिको प्रयोग गरी मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न लागेका छन् । परम्परागत खेती प्रणालीलाई छाडेर नयाँ प्रविधि र प्रणालीमा आधारित कृषि अभ्यासलाई आत्मसात् गर्दै नेपालीले तरकारी खेतीलाई सफल व्यावसायिक पेसाको रुपमा अगाडि बढाइरहेका छन् ।

परियोजनाले चक्लाबन्दीमार्फत लागत साझेदारीमा सहयोग गर्र्दै आएको छ, जसअनुसार कुल १९ लाखमध्ये कार्यालयको ५० प्रतिशत र ५० प्रतिशत कृषकको लगानी रहेको छ । यस वर्ष कार्यालयमार्फत १४ वटा स्थायी टनेल र ५ वटा अस्थायी टनेल निर्माण भएका छन् । यसले गर्दा बाह्रै मास मौसमी तथा बेमौसी तरकारी उत्पादन गर्न सहज हुने अपेक्षा गरिएको छ । परियोजनाले तीन वर्षसम्म उपकरण, सिंचाइ, उन्नत बीउ, मल तथा प्राविधिक सहयोग उपलब्ध गराउने गर्दछ ।

चक्लाबन्दी प्रविधिको माध्यमबाट खेती गर्दा उत्पादन व्यवस्थापन सजिलो हुनुका साथै भूमि उपयोगमा पनि सुधार आउने अपेक्षा गरिएको छ । सरकारको सहयोग र प्राविधिक सल्लाहले प्रेम नेपालीजस्ता कृषकको जीवन नै फेरिएको छ ।

चक्लाबन्दी प्रविधिको माध्यमबाट खेती गर्दा उत्पादन व्यवस्थापन सजिलो हुनुका साथै भूमि उपयोगमा पनि सुधार आउने अपेक्षा गरिएको छ । सरकारको सहयोग र प्राविधिक सल्लाहले प्रेम नेपालीजस्ता कृषकको जीवन नै फेरिएको छ ।

नेपालीले भाडामा लिएको १४० रोपनी जग्गामा गोलभेँडा, काँक्रो, बोडी, फूलकोपी, बन्दाका साथै धान र मकैजस्ता अन्नबालीसमेत उत्पादन गर्दै आएका छन् । यति मात्रै होइन, उनले माछापालनसमेत गरेका छन् । यसले समग्र फर्मलाई एकीकृत कृषि प्रणालीको नमुना बनाएको छ । अहिले प्रविधिको सहयोगले खेती व्यवस्थित छ ।

चक्लाबन्दी प्रविधिको प्रयोगले सिंचाइ, मल व्यवस्थापन, बीउ छनोट, नर्सरी व्यवस्थापनदेखि लिएर कीरा नियन्त्रण र उत्पादन संकलनसमेत सहज बनाएको नेपालीको अनुभव छ । यसले लागत घटाउनुका साथै उत्पादकत्व बढाएको छ ।

बाँझोमा घर्तीमगरको सफलता :

वर्षौंसम्म उपयोगविहीन बनेको बाँझो जमिन अहिले हरियाली तरकारी फार्ममा परिणत भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–३ स्थित गुठ क्षेत्रमा कृषक भवीन्द्र घर्तीमगरले चमत्कारीरूपमा बाँझिएको जमिनमा समृद्धिको खेती शुरु गरेका छन् ।

धुर्कोट गाउँपालिका–३ निवासी घर्तीमगर विगत केही वर्षदेखि गुठको जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन् । उनले गोलभेँडा, काँक्रो, बोडी, फूलकोपी, बन्दा, धान, मकै, माछालगायतका मौसमी तथा बेमौसमी उत्पादन गर्दै आयआर्जनमा उल्लेखनीय प्रगति गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कार्यान्वयन इकाइ, हालको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ गुल्मीको सहयोगमा उनको कृषि यात्रामा ठूलो सहजता आएको छ । परियोजनाले तीन वर्षदेखि चक्लाबन्दी खेती कार्यक्रमअन्तर्गत मल, बीउ, सिंचाइ उपकरण, तालिम र प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको कार्यालयका सूचना अधिकारी विष्णु पोखरेलले बताए ।

यस सघन सहयोगपछि घर्तीमगरले करिब २५ वटाभन्दा बढी टनेलमा तथा खुल्ला खेतमा तरकारी खेतीको विस्तार गरेका छन् । सँगसँगै उनले माछापालन पनि शुरु गरेका छन्, जसले समग्र खेती प्रणालीलाई अझै समृद्ध बनाएको छ । २०७९ सालमा दर्ता गरिएको रेसुङ्गा एग्रो बिजनेस कन्सर्न नामक व्यवसायमार्फत उनले तम्घासमा तरकारी संकलन केन्द्रसमेत स्थापना गर्ने गरेका छन् ।

यसले उत्पादनसँगै बजारीकरण प्रक्रियालाई सहज बनाएको छ । स्थानीय बजारमा ताजा तरकारीको पहुँच बढाउनुका साथै अन्य कृषकलाई पनि व्यापारिक सोच विकास गर्न प्रेरणा मिलेको छ । कृषक घर्तीमगरको कठिन परिश्रम र परियोजनाको सहयोगले बाँझो जमिनलाई उत्पादनशील बनाएको छ । यसबाट स्थानीय स्तरमै रोजगारी, आम्दानी र आत्मनिर्भरता बढ्ने संकेत देखिएको छ ।