सुमनसिंको घर बनाउन मुख्यमन्त्रीले दिए २ लाख


हेटौंडा ।

नेपाल समाचारपत्रमा प्राथमिकतासाथ समाचार प्रकाशनपछि मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–१, इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उनको घर निर्माणका लागि पहिलो किस्ताबापत सोमबार २ लाख रुपियाँ हस्तान्तरण गरेका छन् ।

पालिकाका जनप्रतिनिधि र नेपाली कांग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् । सुत्केरी पत्नीलाई खुवाउने केही नभएको र बस्ने घर पनि नभइ झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउँपालिका र नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने घोषणा गर्दै काम थालनी गर्न निर्देशन दिएका थिए ।

मुख्यमन्त्री नियुक्त भएसँगै बानियाँले आफ्नो तलबभत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका अतिविपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम राक्सिराङको चेपाङ र मनहरीकी एक विपन्न दलित महिलाको घर निर्माण सुरु भएको छ ।

दसैंअघि नै दुवै घर निर्माण सक्ने गरी काम गर्न मुख्यमन्त्री बानियाँले स्थानीय जनप्रतिनिधि र पार्टी नेताहरुलाई निर्देशन दिएका छन् । सुमनसिंंको २ वटा कोठा, एउटा भान्छासहित शौचालय, बाथरुम भएको घर दसैंअघि निर्माण सम्पन्न गर्ने योजना रहेको पालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

उक्त घर बनाउन खर्च हुने सबै रकम मुख्यमन्त्री बानियाँले बेहोर्ने भएका छन् । मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि यसअघि पहिलो किस्ताबापत २ लाख रुपियाँ हस्तान्तरण गरिसकेका छन् । उक्त क्षेत्र मुख्यमन्त्री बानियाँको निर्वाचन क्षेत्र हो ।