आफ्नै छात्रा बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

16.17k
Shares

उदयपुर। 

उदयपुरको बेलका नगरपालिका वडा नं २ कञ्चनजंघास्थित एक बोर्डिङ स्कुलका प्रधानाध्यापक आफूले पढाएको नावालिका छात्रालाई बलात्कार गरेको आरोपमा  पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कायाृल्य उदयपुरले दिएको जानकारी अनुसार बेलका नगरपालिका २ कञ्चनजंघास्थित हिम शिखर सामुदायिक बोर्डिङ स्कुलमा प्रधानाध्यापकका रुपमा रहेर पढाउँदै आएका ४० वर्षका युवराज श्रेष्ठले सोही विद्यालयमा अध्ययनरत आफैले पढाएको १४ वर्षीया बालिकालाई आइतबार बिहान १०ः४५बजेको समयमा  स्कुलको कार्यालय कोठामा बलात्कार गरेका थिए । 

पीडित बालिकाको भाउजुले यस घटनाका बारेमा जानकारी पाएपछि आइतबार नै तत्कालै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा नावालिकालाई जवरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकोले दोषीलाई पक्राउ गरी कारबाही गरीपाउँ भनेर उजुरी दर्ता गरेपछि बेलका नपा २ शिवालय टोल बस्ने प्रधानाध्यापक श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको प्रधानाध्यापक श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलका, रामपुरको नियन्त्रणमा राखी थप आवश्यक अनुसन्धान गर्ने कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।