माओवादी केन्द्र र समाजवादी सांसदका बखेडाले संघीय निजामती सेवा विधेयक संकटमा 

उमेर हदको प्राविधिक विषयमा अनावश्यक भाँजो 


कााठमाडौं।  

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा अन्तिम छलफलका क्रममा रहेको संघीय निजामती सेवा विधेयकमा प्रतिपक्षी माओवादी केन्द्र र नेकपा समाजवादीका सांसदहरुको अनावश्यक बखेडा झिकेपछि  सो विधेयक संकटमा परेको छ । माओवादी केन्द्र र समाजवादीका सांसदहरुको अनावश्यक रवैया र   अडानका कारण विधेयक संकटमा परेसँगै संघीय निजामती सेवा ऐन आउने बाटो नै अवरुद्ध हुन सक्ने  देखिएको छ । 

प्रतिनिधि सभाबाट पारित भएको विधेयकमाथि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल भई अन्तिम रुप दिने क्रममा माओवादी र समाजवादीका सांसदले  उमेर हदको  प्राविधिक विषयमा अनावश्यक अडान राखेपछि विधेयक संकटमा परेको हो । विधेयकमा कर्मचारीको  उमेरहद क्रमश ५९ र ६० वर्ष कायम गरिएको छ  । यो विधेयक प्रमाणीकरण हुनासाथ तुरुन्त लागू हुनुपर्नेमा माओवादी र समाजवादीका  सांसदहरुले अर्को आर्थिक वर्ष देखि मात्रै ऐन लागू हुनुपर्ने अनावश्यक र अमिल्दो अडान राखेका छन् ।

 सत्तापक्षका सांसदहरुले भने विधेयक प्रमाणीकरण हुनासाथ लागू हुनुपर्ने गरी सहमति कायम गर्न आग्रह गर्दै आइरहेका छन् । तर विधेयक रोक्ने उद्धेश्यले  माओवादी र समाजवादीका सांसदहरुले अहिले प्रमाणीकरण हुने कानुन अर्को वर्षदेखि मात्रै   लागू हुनुपर्ने हाँस्यस्पद र अमिल्दो तर्क गरिरहेका छन् । विश्लेषकहरुले भने संघीय निजामती सेवा ऐन नल्याउने  उद्धेश्यले यस्तो प्राविधिक विषयमा अनावश्यक बखेडा निकालिएको बताएका छन् । सो विधेयक राष्ट्रिय सभाबाट पारित भएर भोलिसम्म  प्रतिनिधि सभामा पुग्नै पर्ने कानुनी व्यवस्था छ । त्यसो नभएमा सो विधेयक अलपत्र पर्नेछ । ‘माओवादी केन्द्र र समाजावादीका सांसदहरु ऐन समयमा नल्याउने पक्षमा छन्, त्यसैले उनीहरुले योजनावद्ध रुपमा भाँजो हालिरहेका छन् ।’स्रोतको  दावी छ । 

 राज्यव्यवस्था तथा सुशासन समितिमा व्यापक छलफल र निष्कर्ष निकालेर प्रतिनिधि सभाबाट पारित भई सो विधेयक राष्ट्रिय सभामा गए पनि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले  प्रतिनिधि सभाबाट पारित भएका कतिपय विषयहरु उल्टाइसकेको छ । सरकारको असहमतिका बाबजुद विधेयकमा भएका कतिपय प्रावधान उल्टिए पनि सरकारी  पक्षले  ऐन समयमा नै  आओस भन्ने उद्धेश्यले लकचकता देखाउदै आएको थियो । सहसचिवमा खुला प्रतिस्पर्धा हटाउने यस अघिको निर्णयलाई उल्टाएर खुला प्रतिस्पर्धा राख्ने निर्णय राष्ट्रिय सभाले गरेको छ । यसैगरी प्रतिनिधि सभाले पारित गरेको अतिरिक्त सचिव राख्ने निर्णय पनि उल्टाएर  हटाइएको छ भने खरिदारमा मात्रै खुला राख्ने तर नासुमा नराख्ने यस अघिको  निर्णय समेत उल्टाएर नासुमा समेत खुला राख्ने निर्णय भएको छ ।

 यी सबै विषयमा सरकारी पक्षले लचकता देखाउँदै  आएको छ । सरकारी पक्षले कुलिङ पिरियड १ वर्ष मात्रै राख्ने प्रस्तावलाई पनि छोेडेर  २ वर्षमा सहमति  जनाइसकेको छ । सत्तारुढ दलका सांसदहरुले आफूहरु धेरै विषयमा लचिलो भएको र उमेरहदको विषयमा प्रतिपक्षी पनि लचिलो हुनुपर्ने बताएका छन् । यो विधेयक प्रमाणीकरण भएलगत्तै लागू हुनुपर्ने विषयमा प्रतिपक्षहरु सहमतिमा आएमा विधेयकले अन्तिम टुङ्गो पाउने र समयमा  नै संघीय निजामती सेवा ऐन आउने दावी सत्तापक्षका  सांसदहरुको छ  । ‘विधेयक प्रमाणीकरण हुनासाथ लागु हुनुपर्ने कुरामा प्रतिपक्ष सांसदहरु सहमतिमा आउनु पर्छ नत्र उहाँहरुकै कारण  संघीय निजामती  सेवा ऐन आउने बाटो अवरुद्ध हुन्छ , यसको दोष उनीहरुले लिनु पर्छ । ’ राष्ट्रिय सभाका सत्ता पक्षका एक सांसदले भने । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सबैजना सहमतिमा आएर विधेयकलाई अन्तिम रुप दिनुपर्ने आवश्यकता औँल्याइन्  ।