जल तथा मौसम विज्ञान विभागको औसत वर्षाको तथ्याङ्क हेर्ने हो भने तराई क्षेत्रमा मनसुनको समय मा १२०० देखि १८०० मिलिलिटरसम्म वर्षा भएको देखिन्छ । यो तथ्याङ्कलाई अझै भित्र गएर केलाउने हो भने कम वर्षा भएको समयमा या वर्ष यो तथ्याङ्क ८०० देखि १००० मिलिलिटर हुन्छ । अलिक वर्षा भएको मनसुनमा चाहिँ १८०० देखि २००० मिलिलिटरसम्म देखिन्छ । यो औसत वर्षाको आँकलन हो । यसमा थपघट वा तल–माथि पनि देखिन्छ । यसबाहेक जलवायु परिवर्तनको असरका आयाम धेरै छन् । एकातर्फ अत्यधिक वर्षाले अकल्पनीय विपद् आउन सक्ने अवस्था पनि हुन सक्छ भने अर्को, अत्यधिक खडेरीको सम्भावना पनि उस्तै हो । हाल तराई क्षेत्रमा पानी पर्ने मौसममा अत्यधिक खडेरी पर्नु पनि हो । अहिले नेपालको तराई क्षेत्र खडेरी र सुक्खाको चपेटामा परेको छ ।
जलवायु परिवर्तनका धेरै आयाममध्ये हाल उल्लेख्यरुपमा बढेको कुरा तापक्रममा भएको वृद्धि हो । विगत दुई दशकमा तराईमा गर्मीको मात्रा उल्लेख्य बढेको छ । अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेटमाथि पुग्ने घटना बढ्दो छ, विशेष गरी वैशाख, जेठजस्ता गर्मीका महिनाहरुमा । ‘हिट वेभ’ को प्रभावले मानव स्वास्थ्य, पशुपालन र कृषि प्रभावित भएको छ । जलवायु परिवर्तनको अर्को महत्वपूर्ण प्रभाव भनेको वर्षाको अनियमितता हो । सामान्यतया नेपालको वर्षा मनसुन केन्द्रित छ । मनसुनको सिजनमा वर्षा ८० प्रतिशतभन्दा धेरै भएको देखिन्छ । मनसुनको आगमन छिटो वा ढिला गरी आउने र असामान्य घटनाहरुको कारण विपद् बढ्ने भइरहेको देखिन्छ । हालै तराई केन्द्रित सुक्खाका कारण किसान आक्रान्त भइरहेका छन् । यस्तै अवस्थालगायत मनसुनको आगमन ढिलो हुने वा असामान्य समयमा हुने घटना बढेका छन् । जलवायु परिवर्तन यो हो वा होइन भन्नुभन्दा पनि यसको असर कहिले अत्यधिक वर्षा (अतिवृष्टि) हुन्छ त कहिले लामो समयसम्म खडेरी हुन्छ । यो अनियमित मौसमी अवस्था पनि सामान्य अवस्थाभन्दा फरक र पूर्वानुमान गर्न नसकिने अवस्था हो । यसका धेरै आयाम छन् । प्रत्यक्ष र परोक्ष प्रभाव अत्यधिक छ । नेपालजस्तो कृषिप्रधान देशमा यो अनियमितताले खेतीपाती गर्ने र उत्पादनको समयमा प्रत्यक्ष असर पार्दछ ।
अर्को महत्वपूर्ण पक्ष खडेरी र पानीको संकट हो । मधेस र तराई क्षेत्र सामान्यतया सतहभन्दा मुनिको पानीमा भर पर्ने हुन्छ । यसले मानिसलाई प्रत्यक्ष, परोक्ष दुवै प्रभाव पारिरहेको छ । तराई र मधेस क्षेत्रमा बोरिङ र इनारहरू सुक्ने दर बढेको छ । मनसुनको समयमा पनि पानी राम्रोसँग नपरेको र त्यसको फलस्वरूप पानीको सतह घटन गई कम गहिराइमा खनिएका बोरिङ–इनारहरु सुक्न गएपछि हालको अवस्था सृजना भएको हो । यसको मूल कारण भूगर्भीय जलको स्तर घटिरहेको छ ।
जलवायु परिवर्तनका कारण बाढी र डुबानको जोखिम वृद्धि भइरहेको छ । भारी वर्षापछि बाढी आउने र होचा इलाकामा पानी जम्ने समस्या बारम्बार दोहोरिने गरेको छ । पहाडी इलाकामा भन्दा तराई र मधेसमा यस्तो समस्या धेरै छ ।जलवायु परिवर्तनको प्रभावले कृषिबालीको उत्पादन घट्ने, सिंचाइमा कठिनाइ हुने र नवीकरणीय स्रोतहरूमा समेत असर पर्ने गरेको छ ।
यसबाहेक जलवायु परिवर्तनका कारण बाढी र डुबानको जोखिम वृद्धि भइरहेको छ । भारी वर्षापछि बाढी आउने र होचा इलाकामा पानी जम्ने समस्या बारम्बार दोहोरिने गरेको छ । पहाडी इलाकामा भन्दा तराई र मधेसमा यस्तो समस्या धेरै छ ।जलवायु परिवर्तनको प्रभावले कृषिबालीको उत्पादन घट्ने, सिंचाइमा कठिनाइ हुने र नवीकरणीय स्रोतहरूमा समेत असर पर्ने गरेको छ । कीरा–फट्यांग्राका समस्या पनि बढेका छन् । गर्मी बढेसँगै झाडा–पखाला, डेंगु, मलेरिया, टाइफाइडजस्ता रोगहरू विस्तार भइरहेका छन् । जलजन्य रोग र मलेरिया नियन्त्रण चुनौती बनिरहेको छ । वातावरणीय असन्तुलन बढ्दै जाँदा वनक्षेत्र घट्दै गएको छ । जैविक विविधतामा कमी आएको छ ।
तमाम प्रभावमध्ये हाल मधेस तराई सुक्खाग्रस्त भरहेको छ । माथि भनिएबमोजिम नै हुने वर्षाको तथ्याङ्कमध्ये २० प्रतिशत पनि पानी परेको छैन । पानीको व्यवस्थापनका तमाम पक्षहरु होलान् । तर यसको मुख्य कारणलाइ दुई कारणमा व्याख्या गर्न सकिन्छ । पहिलो कारण चुरे क्षेत्रको हठात् विनाश हो भने दोस्रो हामीले भोग्दै आएको जलवायु परिवर्तन नै हो । जलवायु परिवर्तनको एउटा प्रभाव औसतको मौसमी अवयवहरु परिवर्तन हुनु हो । हालको यही अवस्थालाई स्वीकार नगर्नु मूर्खता र अल्पज्ञानबाहेक केही होइन ।
जलवायु परिवर्तनको सीमा बढ्दै जाँदा पानी र यसका स्रोतहरुको उचित व्यवस्थापन गर्न नसकेको खण्डमा यस्ता प्रभाव अझै आउने छन् । त्यसको लागि तयार भएर जुध्न सक्ने प्रणालीको विकास गर्नु अबको आवश्यकता हो । हालको अवस्थालाई व्यवस्थापन गर्नको लागि तत्कालीन, अल्पकालीन, मध्यकालीनं र दीर्घकालीन उपायहरु अवलम्बन गर्नु आवश्यक छ ।
तत्कालीन उपायहरू :
हालको सुक्खाले तत्काल बनाएको अप्ठेरोचाहिँ खानेपानीको उपलब्धता र पानीको अभाव हो । त्यसको लागि छिटोभन्दा छिटो खानेपानीको आपूर्ति सुनिश्चित गर्नु हो । यो विभिन्न तरिकाले गर्न सकिन्छ । जस्तै– ट्यांकरमार्फत पानी आपूर्ति गर्ने वा अस्थायी पानी वितरण केन्द्रको स्थापना गरी त्यहीँबाट पानीको आवश्यकता पूर्ति गर्ने हो । दोस्रो पक्षचाहिँ अस्थायी वर्षाको पानी संकलन÷भण्डारण गर्नु हो । यसलाई प्लास्टिक ट्यांकी, ड्रम वा खाडल खनी वर्षाको पानी संकलन गर्न सकिन्छ । जहिले पानी पर्दछ, त्यही समयमा नै यो कार्य गर्न सकिन्छ । अर्को तात्कालिक उपाय सुक्खा प्रतिरोधी बाली तथा छिटो फल्ने बीउ वितरण गरी सोही बीउलाई उत्पादन गर्ने हो । स्थानीय स्तरमा सहजै उत्पादन हुने बीउ वितरण गरी त्यसको उत्पादन बढाउने गरी कार्य गर्नुपर्दछ । कृषि सिंचाइको लागि आपत्कालीन सौर्य वा डिजेल पम्पको व्यवस्था गरी सामूहिक सिंचाइ योजना वा किसान समूहमार्फत सिंचाइ गर्ने व्यवस्था अनिवार्य हो ।
यससँगै पशुचौपायाका लागि घाँस तथा पानीको आपत्कालीन व्यवस्था पनि किसानको अर्को आवश्यकता हो । हाम्रो जस्तो पशुपालन र कृषिसँगसँगै गर्ने जनस्तरमा पशुचरन क्षेत्र संरक्षण वा अस्थायी पशु शिविर पनि उक्त क्षेत्रमा गरिने तात्कालिक उपाय हुन सक्छ । यसबाहेक सुक्खापीडितलाई तत्काल राहत वितरण, खाद्यान्न, लत्ताकपडा, प्राथमिक उपचार सामग्री वितरण, जलवायु र मौसमसम्बन्धी सूचनाको व्यापक प्रचारप्रसार, रेडियो, माइकिङ, एसएमएस वा मोबाइल एपमार्फत किसानलाई मौसम सूचना स्वास्थ्य सेवा प्रवद्र्धन तथा सचेतना, पानीजन्य रोगहरूबाट बच्न औषधि, स्वास्थ्य शिविर इत्यादि कार्यहरु तकालीनरुपमा गरिनुपर्ने कार्यहरु हुन् ।
अल्पकालीन उपायहरू :
एकदेखि दुई वर्षसम्मको लागि अपनाइने अल्पकालीन उपायहरुलाई अलिक व्यवस्थितरुपमा कार्ययोजना बनाएर कार्यन्वयन गर्नुपर्ने हुन्छ । छोटो समयको लागि गरिने यस्ता उपायहरुमा सुक्खा प्रतिरोधी बालीहरू (जस्तै– मकै, गहुँ, बाजरा, दाल आदि) को प्रवद्र्धन, सुक्खा प्रतिरोधी जात, सिंचाइमा दक्ष प्रविधिको प्रयोग, खडेरी प्रतिकारक पशु आहार र पानीको आपूर्तिको व्यवस्थापन, पानी संकलन र भण्डारण प्रणाली (घर, खेत वा सामुदायिक तहमै वर्षा पानी संकलन) जस्ता कार्यहरु पर्दछन् । यी कार्यहरु समुदायस्तरमा गर्न सकिन्छ ।
यसका साथै समुदायमा गएर जलवायु सूचना सेवा प्रवद्र्धन (कृषकलाई मौसमी पूर्वानुमान, सतर्कता सन्देश) प्रदान गर्ने, सुसूचित गर्ने गर्नुपर्दछ । अनुकूलनको लागि समुदाय पहिचान गरी संवेदनशील समुदायको क्षमता वृद्धि तालिम प्रदान गर्न सकिन्छ । आपत्कालीन राहतको लागि स्थानीय तहमा तयारी गर्नुपर्दछ र सँगसँगै सामाजिक, आर्थिकरुपमा स्थानीय कृषक, तथा प्रभावितहरुलाई अल्पकालीन कृषिऋण र बिमा सेवा प्रवद्र्धन गरेर आर्थिकरुपमा मजबुत गर्नुपर्दछ ।
मध्यकालीन उपायहरू :
पाँच वर्ष वा त्यसभन्दा धेरै समयको लागि मध्यकालीन उपायहरु अवलम्बन गर्नु जरुरी छ । सिंचाइ प्रणालीको स्तरोन्नति (नहरहरूको मर्मत, सौर्य पम्पको प्रयोग) अनिवार्य छ, कृषि कार्य गर्नको लागि । त्यसबाहेक वातावरणमैत्री अथवा जलवायु अनुकूलित कृषि अभ्यास (जैविक मलको प्रयोग, मल्चिङ, फसल चक्र) लाई अगाडि बढाउनु जरुरी हुन्छ । घट्दै गएको गुणस्तरमा वनक्षेत्रको पुनःस्थापना (सामुदायिक वन र हरित क्षेत्रको संरक्षण) अथवा अन्य क्षेत्रको संरक्षण आवश्यकता हुन्छ । सामुदायिक जलाशय, पोखरी, ताल निर्माण र सुधार गरी तिनीहरुको पर्यावरणीय कार्यलाई सुचारु बनाउनुपर्छ । चुरे क्षेत्रमा यस्ता पोखरी र जलाशयले धेरै महत्व राख्ने गर्दछन् । यो समग्र कार्यको लागि पानीका स्रोतहरूको पुनर्जीवन आवश्यकता छ । चुरे क्षेत्रमा भएका विनाशका कार्यहरुले पानीका स्रोतहरुलाई सुक्खा बनाएका छन् । यसलाई पुनर्जीवन बनाउनु आवश्यक छ । बस्ती बस्दै र बढ्दै गएका क्षेत्रहरुमा जलवायु अनुकूल आवास प्रवद्र्धन आवश्यक छ । अनुकूलित बस्ती र सीमित स्रोतहरुको उपयोग कसरी गर्ने भन्ने योजना हुनुपर्छ । खडेरी तथा अन्य मौसमीय अवस्थालाई समग्रमा खडेरी प्रतिरोधी बस्ती विकास योजना बनाई लागू गर्नुपर्दछ । हाल आएका नयाँ र उन्नत प्रविधिलाई कृषिमा नवप्रविधिको प्रयोग गर्दै उत्पादन बढाउनुपर्छ ।
दीर्घकालीन उपायहरू :
यी उपायहरु ७ वर्षभन्दा धेरैको योजना अनुरुप जानु जरुरी छ । यसका लागि व्यवस्थित योजना बनाई अगाडि बढाउनुपर्छ । ठोस जलवायु–प्रतिकूल पूर्वाधार निर्माण (जस्तै– बहुउद्देश्यीय बाँध, जल व्यवस्थापन प्रणाली) लाई अनिवार्य बनाउनुपर्दछ । दीर्घकालीन जलस्रोत संरक्षण रणनीति तयार गरी त्यसका विविध पक्षलाई कार्यान्वयन गर्नुपर्दछ । तराई र मधेस क्षेत्रको समग्र भूमिसुधार र भूउपयोग योजना बनाई विकासलाई उक्त योजनामा मूल प्रवाहीकरण गर्नु आवश्यक छ । यी सबै प्रभावको जड कारण जलवायु परिवर्तन भएकोले जलवायु अनुकूलन नीति र कानुनीरूपमै सुनिश्चितता गर्दै कार्यान्वयन गर्नु आवश्यक छ । यसका लागि शिक्षा प्रणालीमा जलवायु अनुकूलन विषय समावेश गर्दै हरेक नागरिकसमक्ष जानकारी पु¥याउनुपर्ने हुन्छ ।
जलवायु परिवर्तनको मुख्य कारक ऊर्जा र यसको प्रयोगले ल्याएको बाइ–प्रोडक्ट हो । यो तथ्यलाई हृदयङ्गम गर्दै पुनर्नवीकरणीय ऊर्जा प्रवद्र्धन (सौर्य, बायोग्यास) जस्ता स्रोतलाई तत्कालैबाट शुरु गरी प्रवद्र्धन गर्दै जानुपर्ने हुन्छ । जलवायु परिवर्तन सामाजिक परिवेशबाट आएको वैज्ञानिक र सामाजिक, राजनीतिक विषय बनेको छ । त्यसकारण पनि सामाजिक सुरक्षा प्रणाली बलियो बनाउने (खडेरीले प्रभावित वर्गको लागि) संयन्त्रले कार्य गर्न सक्छ । यसरी प्रविधिको सहयोगमा वातावरणीय अनुसन्धान र डेटा व्यवस्थापन प्रणाली विकास गरी त्यसको उचित विश्लेषण गर्दै विकासका कार्यहरु अगाडि बढाउनु आवश्यक छ । सुक्खापन र खडेरीको कारक चुरे क्षेत्रको विनाश हो नै । त्यसमा जलवायु परिवर्तनका आयामहरु छन् । समग्रमा भन्दा एकीकृत योजना विकास गरी अनुकूलन हुनु नै यस्ता जलवायुजन्य विपद्सँग जुध्ने कार्यक्रम हुन् ।
(लेखक पोखरेल वातावरणविद् हुनुहुन्छ ।)











प्रतिक्रिया