अफगानिस्तानमा भूकम्प: २० जनाभन्दा बढीको मृत्यु, ११५ बढी घाइते


काबुल।

अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा २० जनाभन्दा बढीको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन्।अधिकारीहरूका अनुसार घाइतेहरूलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार आइतबार राति ११:४७ बजे ६.० म्याग्निच्युडको भूकम्प गएको हो। यसको केन्द्र पाकिस्तान सीमासँग नजिक, नान्गारहार प्रान्तमा रहेको र गहिराइ ८ किलोमिटर मापन गरिएको छ। प्रारम्भिक धक्कापछि ४.५ देखि ५.२ सम्म तीव्रताका कम्तीमा तीनवटा पराकम्प पनि गएको बताइएको छ।

स्थानीय अधिकारीका अनुसार मृतक र घाइतेहरू नान्गारहार र कुनार प्रान्तका बासिन्दा हुन्। दुर्गम पहाडी क्षेत्रमा घरहरू भूकम्प प्रतिरोधी नहुँदा क्षति अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल (करिब २०० किलोमिटर टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (करिब ४०० किलोमिटर टाढा) मा समेत महसुस गरिएको थियो।

कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीसँग कुरा गर्दै भूकम्पपछि पहिरो र बाढीका कारण सडक अबरुद्ध भएको र उद्धार कार्य हवाईमार्गबाट मात्र सम्भव रहेको बताएका छन्।

तालिबान सरकारका अधिकारीहरूले उद्धार तथा राहत कार्यका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै हेलिकप्टर र स्रोतसाधन उपलब्ध गराउन विश्व समुदायसँग आग्रह गरेका छन्।