इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री मारिएको हुथी विद्रोहीद्वारा पुष्टि


सानाः
यमनको हुथी विद्रोही आन्दोलनले इजरायली हवाई आक्रमणमा आफ्ना स्वघोषित प्रधानमन्त्री अहमद गालेब नासेर अल-राहवी मारिएको पुष्टि गरेको छ।इरान समर्थित समूहले बिहीबार इजरायल रक्षा बल (IDF) ले राजधानी सानामा प्रहार गर्दा राहवीसहित अन्य उच्च तहका अधिकारीहरू मारिएको जनाएको छ।

IDF ले विज्ञप्तिमा भनेको छ, “सानामा भेला भएका राहवी र अन्य वरिष्ठ हुथी अधिकारीहरूलाई लडाकु विमानमार्फत लक्ष्यित गरी सखाप पारिएको हो।”

सन् २०१४ देखि उत्तर–पश्चिमी यमनको ठूलो भूभाग नियन्त्रणमा लिई आएको हुथी आन्दोलनले राहवीसँगै अन्य मन्त्रीहरू पनि मारिएको दाबी गरेको छ, तर नाम भने खुलाएको छैन। साउदी सञ्चारमाध्यम अल-हदथले हुथीका विदेशमन्त्री, न्यायमन्त्री, युवा तथा खेलकुद मन्त्री, सामाजिक मामिला तथा श्रम मन्त्री आक्रमणमा मारिएको रिपोर्ट गरेको छ।

हुथीका अध्यक्ष महदी अल-मशतको कार्यालयले आक्रमणमा अन्य मन्त्रीहरू गम्भीर घाइते भएको जनाएको छ। साथै, उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहलाई नयाँ प्रधानमन्त्रीको जिम्मेवारी दिइने घोषणा गरिएको छ।

राहवीले सन् २०२४ अगस्टदेखि पद सम्हालेका थिए। उनी सैन्य योजना निर्माणमा प्रत्यक्ष संलग्न नभई आन्दोलनको औपचारिक नेतृत्वकर्ता मानिन्थे। आन्दोलनका सर्वोच्च नेता अब्दुल-मलिक अल-हुथी, रक्षामन्त्री तथा कर्मचारी प्रमुख भने आक्रमणमा नपरेको स्पष्ट गरिएको छ।

IDF ले शनिबार राति जारी गरेको विज्ञप्तिमा, “गुप्तचर सूचनाको आधारमा केही घण्टाभित्रै आक्रमण गरिएको” उल्लेख छ। हाल आक्रमणको पूर्ण प्रभावको मूल्याङ्कन भइरहेको जनाइएको छ।

गाजामा युद्ध सुरु भएदेखि हुथीहरूले नियमित रूपमा इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गर्दै आएका छन्। साथै, लाल सागर र एडेन खाडीमा रहेका व्यापारी जहाजलाई निशाना बनाउँदै आएका उनीहरूले यसलाई प्यालेस्टिनी समर्थनको रूपमा व्याख्या गर्ने गरेका छन्। इजरायलले भने हुथी आक्रमणलाई कमजोर पार्ने उद्देश्यले यमनका हुथी नियन्त्रणमा रहेका क्षेत्रमा निरन्तर हवाई आक्रमण गर्दै आएको छ। -बीबीसी