लाइब्रेरियन–विहीन पुस्तकालय : अनिश्चित भविष्य

सन्दर्भ : राष्ट्रिय पुस्तकालय दिवस

2.26k
Shares

पुस्तकालय ज्ञानको भण्डार मात्र होइन, समाजलाई मार्गदर्शन गर्ने प्राज्ञिक केन्द्र हो । जहाँ ज्ञानका सामग्रीहरूको सङ्कलन, व्यवस्थापन, संरक्षण तथा सम्प्रेषण गरिन्छ । पुस्तकालयको सञ्चालन भनेको अत्यन्तै प्राविधिक कार्य हो, जसका लागि दक्ष पुस्तकालयकर्मी अपरिहार्य हुन्छ । पुस्तकालय भवन, स्तरीय फर्निचर वा समृद्ध सङ्ग्रह भए पनि पेसागत दक्षता नभएका कर्मचारीविना पुस्तकालयको उद्देश्य पूरा हुन सक्दैन । किनकि कर्मचारी नै पुस्तक र पाठकबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने व्यक्तित्व हो । त्यसैले पुस्तकालयलाई डकुमेन्ट, पाठक र कर्मचारीको त्रिआयामिक संयोजनको रूपमा बुझ्न सकिन्छ । तर दुःखको कुरा नेपालीका अधिकांश पुस्तकालयहरू पेसागत दक्षता नभएका कर्मचारी वा स्वयंसेवकको भरमा जेनतेन चलिरहेका छन् ।

कर्मचारी व्यवस्थापनको मूल उद्देश्य केवल जनशक्ति व्यवस्थापन मात्र होइन, संस्थाको समग्र सेवा प्रभावकारिता वृद्धि गर्नु हो । पुस्तकालयमा वर्गीकरण, सूचीकरण, अभिलेखीकरण, सन्दर्भ सेवा, डिजिटल स्रोत व्यवस्थापनजस्ता कार्यहरू पूर्ण प्राविधिक प्रकृतिका हुन्छन् । यस्ता कामका लागि पुस्तकालय तथा सूचना विज्ञान विषयमा दक्षता, सीप र अनुभव भएका व्यावसायिक लाइब्रेरियन अपरिहार्य हुन्छन् । व्यावसायिक लाइब्रेरियनको सहयोगका लागि निश्चित समयको पुस्तकालय व्यवस्थापनसम्बन्धी तालिम प्राप्त अर्ध–व्यावसायिक र प्रशासनिक तथा सामान्य प्राविधिक कार्यहरू गर्नका लागि गैर–व्यावसायिक कर्मचारीहरू आवश्यक पर्छन् । विभिन्न तह र समूहका कर्मचारीहरूको सहकार्य र समन्वयबाट मात्र पुस्तकालय व्यवस्थितरूपमा सञ्चालन भई प्रभावकारी सेवा प्रवाह सम्भव हुन्छ ।

कर्मचारीहरूले सम्पादन गर्ने काम र त्यसका लागि आवश्यक योग्यताको मूल्याङ्कन गरी कर्मचारीको कार्य विश्लेषण गरिन्छ । कार्य विश्लेषणका आधारमा सम्बन्धित कर्मचारीहरूको कार्य विवरण तयार गरिन्छ, जसमा उनीहरूको जिम्मेवारी, अधिकार र उत्तरदायित्व स्पष्टरूपमा तोकिएको हुन्छ । कार्य विवरणको ढाँचामा सामान्यतः पदको नाम, कार्यको उद्देश्य, सम्पादन गर्नुपर्ने कामको संक्षिप्त विवरण, कर्तव्य तथा उत्तरदायित्व, आवश्यक योग्यता, सीप र अनुभव, सेवाका सर्तहरू, पारिश्रमिक, कार्य सम्पादन प्रक्रिया आदि स्पष्टरूपमा उल्लेख हुन्छ । यसले पुस्तकालयमा कार्यरत कर्मचारीहरूको तहगत जिम्मेवारीलाई स्पष्ट पार्दछ र संस्थागत कार्यसम्पादनलाई पारदर्शी तथा प्रभावकारी बनाउँछ ।

नेपालका पुस्तकालयमा कर्मचारी छनोटका फरक–फरक प्रणाली रहेका छन् । नेपाल सरकारका पुस्तकालयहरूमा लोक सेवा आयोगमार्फत लिखित, मौखिक र प्रयोगात्मक परीक्षा लिएर कर्मचारी छनोट गरिन्छ । विश्वविद्यालय तथा अन्य स्वायत्त संस्थाहरूले आफ्नै सेवा आयोगमार्फत कर्मचारी छनोट तथा सिफारिस गर्छन् । सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूले आफ्नै कार्यविधिअनुसार कर्मचारी भर्ना गर्ने गरेका छन् भने निजी पुस्तकालयहरूले कार्यसमिति वा सञ्चालकको निर्णयमा आधारित भएर नियुक्ति गरेका उदाहरण छन् । यसरी पुस्तकालयको प्रकार र संस्थागत संरचनाअनुसार कर्मचारी व्यवस्थापन फरक हुने देखिन्छ ।
पुस्तकालयको लक्ष्य, उद्देश्य, सङ्कलनको परिमाण, सेवाको प्रकार, दैनिक सेवा प्रवाह गर्ने समय आदिका आधारमा कर्मचारी संख्या निर्धारण गरिन्छ । पुस्तकालय विज्ञानका प्रणेता एस.आर. रङ्गनाथनले ६ हजार भोलुम पुस्तक छनोट, अर्डर र दर्ता गर्नका लागि एकजना कर्मचारीको आवश्यकता पर्ने उल्लेख गरेका छन् । त्यसै गरी एकजना कर्मचारीले वर्षमा २ हजार पुस्तकको प्राविधिक कार्य (सूचीकरण र वर्गीकरण) गर्न सक्छ । ५० जना पाठकहरूलाई रेफरेन्स सेवा दिनका लागि एकजना कर्मचारी हुनुपर्ने आधार तोकेका छन् । यद्यपि यो नियम सबै पुस्तकालयमा लागू हुन नसके पनि दरबन्दी सृजनाका लागि आधार मान्न सकिन्छ । नेपालमा भने यस्ता वैज्ञानिक आधारलाई बेवास्ता गरेर अनुमान र हचुवामा दरबन्दी तोक्ने प्रवृत्ति रहँदै आएको छ ।

नेपालका धेरै पुस्तकालयहरूमा व्यावसायिक लाइब्रेरियनको दरबन्दी नै छैन । नीति निर्माणकर्ताहरूले पुस्तकालयलाई पुस्तक राख्ने र फिर्ता गर्ने स्थानका रूपमा मात्र बुझ्ने प्रवृत्तिले व्यावसायिक कर्मचारीको महत्त्वलाई कमजोर पारेको छ । सरकारको दरबन्दी समायोजन नीतिअनुसार रहेका लाइब्रेरियनका पदहरू पनि अन्य प्रशासन समूहमा परिणत गरिँदा पुस्तकालय सेवा अझ ओझेलमा परेको छ । यद्यपि पुस्तकालयको प्रकार, सङ्कलन, प्रयोग, सेवा–सुविधा र खुल्ने समयलाई ध्यानमा राखी व्यावसायिकका साथै अन्य तह र समूहसहितको दरबन्दीको नियम बनाउनु वाञ्छनीय देखिन्छ ।

व्यावसायिक जनशक्ति उत्पादनका लागि त्रिभुवन विश्वविद्यालयले वि.सं. २०५२ बाट पुस्तकालय तथा सूचना विज्ञानमा उच्च शिक्षा शुरु गरेको हो । हालसम्म २५० भन्दा बढी विद्यार्थी यस विषयमा दीक्षित भएका छन् । नेपाल खुला विश्वविद्यालयले पनि डिप्लोमा र स्नातक तह सञ्चालन गरेको छ । तर, त्यहाँ पनि अध्ययन गर्ने विद्यार्थीको संख्या अत्यन्त न्यून रहेको छ । देशमा पर्याप्त मात्रामा दक्ष जनशक्ति उपलब्ध नभएको यथार्थलाई आत्मसात् गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रममा आधारित तालिम कार्यक्रमहरू पनि सञ्चालनमा आएका छन् । हालसम्म नेपालमा पुस्तकालय तथा सूचना विज्ञान विषयमा दक्ष तथा अर्धदक्ष गरी करिब १५ सय जनशक्ति मात्र रहेको अनुमान गरिएको छ, जुन संख्या देशभरका पुस्तकालयहरूको मागको तुलनामा निकै न्यून रहेको स्पष्ट देखिन्छ ।

नेपालमा नीतिगतरूपमा विश्वविद्यालयदेखि विद्यालय तहसम्म पुस्तकालयको आवश्यकता महसुस गरिएको छ । विश्वविद्यालय वा सो सरहका प्रतिष्ठानहरूको संख्या २० भन्दा बढी रहेका छन् भने उच्च शिक्षा अध्ययन गर्ने क्याम्पस तथा कलेजहरूको संख्या १५ सयभन्दा बढी छ । त्यसै गरी सरकारी तथा निजी विद्यालयहरूको संख्या ४० हजारभन्दा बढी रहेको पाइन्छ । यी सबै संस्थामा पुस्तकालय सञ्चालनका लागि पुस्तकालय पेसामा दक्षता हासिल गरेका जनशक्तिको आवश्यकता हुन्छ । तर दुर्भाग्य ! हाम्रो देशमा पुस्तकालयकर्मीहरूको संख्या अत्यन्त न्यून छ । कतिपय विश्वविद्यालयका पुस्तकालयहरूसमेत दक्ष पुस्तकालय पेसाकर्मीविना नै सञ्चालन भइरहेका छन् भन्ने यथार्थ हामीमाझ छ । आवश्यक जनशक्ति उपलब्ध नभएको कारणले होला, नेपालको पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिकाले सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरू स्वयंसेवकमार्फत सञ्चालन गर्ने परिकल्पना गरेको छ ।

नेपालको उच्च शिक्षाको मेरुदण्डका रूपमा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित केन्द्रीय पुस्तकालयमा ९३ दरबन्दीमध्ये १९ जना व्यावसायिक लाइब्रेरियन दरबन्दी रहेको छ, जसमा ५ जना मात्र कार्यरत रहेको अवस्था छ । त्यसै गरी त्रिभुवन विश्वविद्यालय सम्पूर्ण निकायका पुस्तकालयमा ६० जनाभन्दा बढी व्यावसायिक लाइब्रेरियनको दरबन्दी रहे तापनि जम्मा २० जना मात्र कार्यरत रहेका छन् । सामुदायिक पुस्तकालयहरू स्वयंसेवक वा स्थानीय निकायको अस्थायी सहयोगमा जेनतेन सञ्चालन भइरहेका छन् भने अधिकांश क्याम्पस÷कलेजका पुस्तकालयहरू दक्ष पुस्तकालयकर्मीभन्दा पनि परिवार वा आफन्तलाई रोजगारी दिने अभ्यासमै सञ्चालन हुँदै आइरहेका छन् ।

पुस्तकालय पेसामा सबैभन्दा बढी जनशक्ति खपत हुने त्रिभुवन विश्वविद्यालय नै हो । तर नियमितरूपमा विज्ञापन नखुल्ने, खुलेका विज्ञापनमा पनि विभिन्न कारण देखाई मुद्दा दर्ता हुनेजस्ता कारणले धेरै दरबन्दी खाली नै रहँदै आएका हुन् । हालै प्रकाशित विज्ञापनमा २६ जना पुस्तकालय अधिकृत पदका लागि जम्मा ४० जनाको दरखास्त मात्र परेको छ । त्यही विज्ञापनमा शाखा अधिकृत पदमा भने ४९ जनाका लागि २२ सयभन्दा बढी दरखास्त परेको तथ्याङ्कले स्थिति प्रस्ट पारेको छ । अन्य सेवामा सामान्यतया एउटा पदका लागि सयौँ दरखास्त पर्ने हुँदा प्रतिस्पर्धा अत्यधिक हुन्छ तर पुस्तकालय सेवामा प्रतिस्पर्धा भने अत्यन्त न्यून देखिन्छ । पुस्तकालय पेसामा सरकारी जागिरको अवसर सहज रहेको स्पष्ट हुन्छ ।

देशमा पुस्तकालय पेसाको जनशक्तिको माग अत्यधिक रहेकाले त्रिभुवन विश्वविद्यालयले एकबर्से स्नातक तहको कोर्ससमेत सञ्चालन गर्ने योजना बनाएको छ । तर जम्मा दुईजनाले मात्र दरखास्त दिएपछि उक्त कोर्स सञ्चालन नै हुन सकेन । यसै गरी नेपाल खुला विश्वविद्यालयले अनलाइन माध्यमबाट स्नातक तह शुरु गरे पनि विद्यार्थी दोहोरो संख्यामा पुग्न सकेको छैन । त्रिभुवन विश्वविद्यालयमा चारबर्से स्नातक तहका साथै उच्च माध्यमिक तहका लागि पाठ्यक्रम निर्माण भइसके पनि अध्ययन–अध्यापन भने अझै शुरु हुन सकेको छैन ।

सरकारी सेवामा प्रवेश गर्ने पर्याप्त अवसर हुँदाहुँदै पनि यस विषयप्रति विद्यार्थीको आकर्षण बढ्न नसक्नु चिन्ताजनक पक्ष हो । पुस्तकालयको उज्यालो भविष्यका लागि दक्ष जनशक्ति उत्पादन, आकर्षक सेवा सर्त, प्राविधिक तालिम, सेवामा आधुनिकीकरण, व्यावसायिक उन्नयनका लागि स्पष्ट नीति नियमको व्यवस्था अनिवार्य छ । यसका लागि राज्य, विश्वविद्यालय, स्थानीय निकाय र सम्पूर्ण सरोकारवालाहरूले बेलैमा सोच्न जरुरी छ ।

हाम्रा पुस्तकालयहरूको सुधारका लागि व्यावसायिक लाइब्रेरियनको अनिवार्यता नीति तथा कानुनी सुधारमार्फत सुनिश्चित गर्न आवश्यक छ । पुस्तकालय विज्ञानमा स्नातक, स्नातकोत्तर तथा अनुसन्धानस्तरका अध्ययन कार्यक्रमलाई विस्तार गरी विद्यार्थीलाई आकर्षित गर्नुपर्छ । पुस्तकालय पेसा प्राज्ञिक भएकाले यसलाई हेर्ने दृष्टिकोण अन्य सेवाभन्दा उच्च र सम्मानजनक वातावरण सिर्जना गर्न आवश्यक छ । अल्पकालीन तालिममार्फत अर्धदक्ष जनशक्ति उत्पादन गरी विद्यालय तहमा पुस्तकालय कर्मचारी तथा ग्रामीण स्तरमा सञ्चालित सामुदायिक पुस्तकालयलाई सबल बनाउनुपर्छ । सार्वजनिक तथा सामुदायिक पुस्तकालयलाई स्थानीय निकायसँग जोडेर बजेट तथा कर्मचारी सुनिश्चित गर्न सकिन्छ ।

दक्षताविनाको पुस्तकालय व्यवस्थापन पुस्तक सङ्कलन केन्द्रका रूपमा मात्र सीमित हुन्छ । यसले गर्दा समयानुकूल प्रभावकारी बनाउन असम्भव देखिन्छ । पुस्तकालयको मूल उद्देश्य पनि कमजोर हुन्छ । पुस्तकालयको वास्तविक गन्तव्य अध्ययन–अनुसन्धानका लागि सक्षम ज्ञानकेन्द्र बन्नु हो, नवीन ज्ञान सिर्जनाको थलोका रूपमा विकास हुनु हो । त्यसैले पुस्तकालय सञ्चालनलाई आधुनिक, प्रविधिमैत्री र प्रभावकारी बनाउन व्यावसायिक कर्मचारीको आवश्यकतालाई बेवास्ता गर्न मिल्दैन । पुस्तकालय सेवाको सुधार, दक्ष जनशक्ति उत्पादन र तिनको व्यवस्थापन अहिलेको अपरिहार्य कार्यसूची बन्नुपर्छ । अनि मात्र पुस्तकालयको वास्तविक गन्तव्यमा पुग्न सकिन्छ । नत्र अठारौं पुस्तकालयले दिवसको आदर्श वाक्य ‘हाम्रा पुस्तकालय ः हाम्रो भविष्य’ नारामा मात्र सीमित भई व्यावहारिकरूपमा भने भविष्यविहीन बन्ने खतरा हुन्छ ।

(लेखक त्रि.वि. केन्द्रीय पुस्तकालयका पुस्तकालय अधिकृत हुनुहुन्छ ।)