काठमाडौं।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला अहिलेसम्म पनि ठूल्ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न अयोग्य ठहरिएको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएको पनि २ वर्ष हुन लागेको छ ।
पछिल्लोपटक यस रंगशालामा १७ नोभेम्बर २०२३ मा फिफा पुरुष विश्वकप २०२६ अन्तर्गत यमनविरुद्ध खेल भएको थियो । यद्यपि, यस रंगशालामा केही महिनाअघि महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, महिला साफ च्याम्पियनसिप भने आयोजना भएको थियो ।
यही अगस्ट १० मा एसियाली फुटबल महासंघ (एएफसी) को प्रतिनिधिमण्डल दशरथ रंगशालाको निरीक्षण गर्न आएको थियो । सोे प्रतिनिधिमण्डलले दशरथ रंगशालामा कुनै सुधार नभएको निक्र्यौल निकालेको छ । जसले गर्दा दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नसकिने भएको हो ।
यसले गर्दा नेपालले घरेलु मैदानमा खेल्ने आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्नबाट वञ्चित हुने भएका छन् । नेपालले साउदी अरेबियामा २०२७ मा हुने एएफसी पुरुष एसियन कपको तेस्रो चरणको छनोट खेलहरू अब बाहिरी देशमा खेल्नुपर्ने बाध्यता यथावत् रहनेछ ।
यसअघि गत वर्ष अगस्ट २०२४ मा पनि एएफसीबाट दशरथ रंगशालाको निरीक्षण गर्न टोली आएको थियो । त्यति बेला नै अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सुधार गर्न अनुरोध गरेको थियो । तर, एक वर्ष बितिसक्दा पनि दशरथ रंगशालाको सुधार नहुनाले एएफसीको अनुरोधमा कुनै कार्य नभएको सजिलै बुझ्न सकिन्छ ।
नेपालले २०२३ नोभेम्बरयता अहिलेसम्म घरेलु मैदानका खेलहरू बाहिरी मैदानमा खेल्नुपरेको छ । जसमा बहराइन, यूएईविरुद्धका खेलहरू सामेल थिए । नेपालले बाहिरी मैदानमा खेल्नुपर्दा परिणाम पनि आफूले सोचेजस्तो निकाल्न सकेन । नतिजा विपक्षी टोलीलाई सुम्पिनेबाहेक अरू विकल्प नै रहेन ।
२०२७ मा हुने एएफसी पुरुष एसियन कप तेस्रो चरणको छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालले दुई खेल खेलिसकेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ । नेपालले मलेसिया तथा लाओसविरुद्धका घरेलु मैदानबाहिर खेल्नुपर्ने खेलहरूमा क्रमशः २–० र २–१ ले पराजय बेहोरेको थियो ।
यस छनोटअन्तर्गत नेपालले भियतनाम, मलेसिया र लाओसविरुद्धका दशरथ रंगशालामा खेल्नुपर्ने घरेलु खेलहरू कुनै तटस्थ मैदानमा खेल्न जानुपर्ने छ । यसले गर्दा नेपाली फुटबल समर्थकहरूसमेत नेपालको खेलको मजा लिन वञ्चित हुने भएका छन् । नेपाली समर्थकले नेपालमा अन्तर्राष्ट्रिय खेलको मजा लिन कहिलेसम्म पर्खनुपर्ने भन्नै नसकिने अवस्था छ ।
चार टोली रहेको समूहमा मलेसिया ६ अंकसहित शीर्ष स्थानमा छ । समान ३ अंक जोडेका भियतनाम दोस्रो र लाओस तेस्रो स्थानमा छन् । अंकविहीन नेपाल भने चौथो स्थानमा छ ।
नेपालले एसियन कपमा खेल्ने घरेलु खेलहरू
१४ अक्टोबर २०२५ भियतनामविरुद्ध
१८ नोभेम्बर २०२५ मलेसियाविरुद्ध
३१ मार्च २०२६ लाओसविरुद्ध
के भन्छ एएफसीको प्रतिवेदन ?
-दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य ।
-च्यासल र नेपाली सेनाको मुख्यालयको मैदान पनि लाइन नरहेको ।
-दशरथ रंगशालाको फ्लड लाइटको अवस्था ठीक नभएको ।
-खेलाडी, टिम अधिकारी, खेल अधिकारी, भीआईपी, भीभीआईपी, मिडियालगायतका व्यक्तिहरू आउने जाने मुख्य ढोका एउटै मात्र रहँदा सुरक्षाको खतरा देखिएको ।
-यी विभिन्न विधाका लागि छुट्टै ढोकाको व्यवस्था गर्न भनेको ।
-प्यारापिटमा रहेका सिटहरूमा कुनै मार्किङ नभएको ।











प्रतिक्रिया