–नयाँ उपाध्यक्ष नियुक्ति रोकिने सम्भावना
–शुरूमा उपाध्यक्ष वैतनिक भए पनि नियुक्ति हुने अवैतनिक
काठमाडौं।
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय लेखनाथ पौडेल र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले शुक्रवार राजभण्डारीलाई पूर्ववत् अवस्थामा आयोगको उपाध्यक्षको रूपमा काम गर्न दिन महानगरपालिकालाई निर्देशन दिएको हो ।
संयुक्त इजलासले आदेशमा आयोगको उपाध्यक्षमा राजभण्डारीलाई वि.सं. २०८० भदौ १ गते कार्यपालिकाको निर्णयबाट नियुक्त गरिएको उल्लेख गर्दै सो पद मनोनयनबाट नियुक्ति हुने पद नभएको ठहर गरेको राजभण्डारीका सहयोगी मनोज नेवाःले जानकारी दिनुभयो ।
कामपाले गत साउन १८ गते मनोनयन फिर्ता गरिएको भनी पत्र जारी गर्दै पदमुक्त गर्ने निर्णय गरेको थियो । मेयर बालेन्द्र साहले साउन १८ गते आफैंले मनोनयन फिर्ताको निर्णय गर्दै राजभण्डारीलाई पदमुक्त गरिएको पत्र दिने प्रयास गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध राजभण्डारी भदौ ६ गते उच्च अदालत पाटन पुग्नुभएको थियो । उच्च अदालतले १५ दिनभित्र राजभण्डारीको नियुक्तिको प्रक्रियासहित १३ गते पेसी तोक्न आदेश दिएबमोजिम शुक्रवार पेसी भएको थियो ।
निवेदक राजभण्डारीको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार खड्का र युवराज भण्डारीसहितका अधिवक्ताले बहस गनुभएको थियो भने विपक्षी काठमाडौं महानगरपालिकाको तर्फबाट अधिवक्ता कमलप्रसाद इटनीले बहस गर्नुभएको थियो । मेयर साहले अघिल्ला कानुनी सल्लाकार ओमप्रकाश अर्यालले राजीनामा दिएपछि उक्त पदमा इटनीलाई नियुक्ति गर्नुभएको थियो ।
उक्त आदेश जारी भएपछि मेयर साहलाई ठूलो झड्का लागेको छ । आफ्नै गुरु राजभण्डारीलाई सहरी योजना आयोगमा नियुक्ति गरेका मेयर साहले सल्लाहकारको कुरा सुनेर पदमुक्त गर्नुभएको थियो ।
गैर कानुनी रूपले पत्र तयार गरेको भन्दै राजभण्डारीले पत्र बुझ्न इन्कार गर्नुभएको थियो । आफू कानुनी उपचारमा जाने निधो गरेपछि मात्र उहाँले सो पत्र बुभुनुभएको थियो । अदालतले सुनुवाईको अवसर नदिइकन गरिएको सो निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको भन्दै आदेश नटुंगुन्जेलसम्म कार्यान्वयन नगर्नु र राजभण्डारीलाई उपाध्यक्ष पदको जिम्मेवारी निर्वाह गर्न दिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यस मामिलामा अब अन्तिम आदेशपछि आउने भए पनि हालका लागि राजभण्डारी पुनः उपाध्यक्षको हैसियतमा आयोगमा फर्कन सक्ने हुनुभएको छ ।
राजभण्डारीका सहयोगी नेवाःले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार उपाध्यक्ष राजभण्डारी आज आइतबार दिउँँँसो १ बजेतिर प्रमाणीकरण भएको पत्र लिएर कार्यकक्षमा जाने तयारीमा हुनुहुन्छ । यसैबीच मेयर साहको नयाँ उपाध्यक्ष नियुक्ति गर्ने तयारी अदालतको निर्णयले रोकिने सम्भावना भएको छ । स्रोतका अनुसार सहरी योजना आयोग गठन तथा सञ्चालन ऐन २०७५ अनुसार मेयर साहले स्ट्रक्चरल इन्जिनियर सुमन प्रधानलाई उपाध्यक्ष नियुक्ति गर्ने तयारी थियो । हालसम्म सबै उपाध्यक्ष वैतनिक थिए, तर प्रधानलाई अवैतनिक सल्लाहकार नियुक्ति गर्ने तयारी थियो ।
हटेका सल्लाहकारलाई फेरि ल्याउन दबाब
काठमाडौं ।
गत साउन ३१ गतेबाट कामपा जान छाडेको बताउँदै आउनुभएका कामपाका पूर्व सल्लाहकार पूर्वसचिव शंकरप्रसाद पाण्डे फेरि सोही पदमा नियुक्ति लिन दौडिरहनुभएको छ ।
प्रति बैठक करिब ४ हजार रुपियाँ बैठक भत्ता लिने, विभिन्न खरिदको सूचना निकाल्दा आफ्नै सल्लाह लाद्ने गर्नुभएका पाण्डेलाई फेरि नियुक्ति दिन उहाँका आफन्ती सुनिल लम्साल लाग्नुभएको छ । स्रोतका अनुसार लम्सालले पाण्डेको पुनः नियुक्तिका लागि नियुक्ति लगातार दबाब दिइरहनुभएको छ ।
टेन्डर प्रक्रिया, कर्मचारी प्रशासन सुधार, बोलपत्र कागजात अध्ययन सहजीकरण समितिलगायतका विषयमा सुझाव दिइरहेका पाण्डे फेरि कामपा आउने भएपछि महानगर तरंगित भएको छ । हट्नुअघि सल्लाहकार पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यकक्षसँगै कोठा व्यवस्था गरेको थियो । उहाँलाई फेरि कामपा आउन दिने विषयमा महानगरका कर्मचारीलगायत अधिकांश असहमत छन् ।











प्रतिक्रिया