चिसापानी-कुइने सडकको काम सुरु

वर्षातका कारण सडक निर्माणको काम प्रभावित

2.07k
Shares

धनगढी। 

रणनैतिक मार्गका रुपमा रहेको कैलालीको चिसापानी देखि कुइने सम्मको सडक निर्माणको काम सुरु भएको छ । उक्त सडक मार्गमा पर्ने रुख कटानी नहुँदा दुई वर्ष अर्थात् आर्थिक वर्ष २०८१ असार मसान्तमा निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएपनि हालसम्स सडक निर्माणले गति लिएको छैन । सरकारले ठेक्का सम्झौता गर्दा रुख कटानीको निर्णय नहुँदा सडक निर्माणको काम हुन सकेको थिएन । सरकारी निकायहरुबीचको समन्वय विना नै ठेक्का सम्झौता गरेकोले सडक निर्माणको काम रोकिएको थियो ।

एक निर्वाचन क्षेत्र एक रणनैतिक महत्वको बाटो योजना अन्तरगतको चिसापानी देखि कुईने तर्फको ७ कि.मि सडक कालोपत्रे गर्नकालागि दिब्यज्योति शाही जेभिले भ्याट सहित १२ करोड ८० लाख ८१ हजार रुपैयाँमा २०७९ साउन ३ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको मितिले दुई वर्षमा सडकको  निर्माण कार्य सक्नुपर्ने थियो तर रुख कटानी नभएका कारण काम सञ्चालन गर्न नसकेको निर्माण कम्पनीका सञ्चालक उमेश शाहीले जानकारी दिए । निर्माणको काम ढिला सुरु गर्नुपर्दा निर्माण सामग्रीको मूल्य  बढी तिर्नुपर्ने अवस्था भएको शाहीको भनाई छ ।

कैलाली क्षेत्रनम्बर २ का तत्कालीन सांसद  झपट रावलले उक्त सडकलाई रणनैतिक मार्गको रुपमा छनौट गरेर काम अघि बढाएका थिए । तर सडक मार्गमा पर्ने रुख कटानी आदेशको ढिलाईले निर्माणको काम प्रभावित भएपछि राजनीतिक पार्टीका नेताहरु,स्थानीय बासिन्दाहरुले विरोध जनाएपछि सरकारले रुख कटानीको आदेश दिएको थियो । रुख कटानीको आदेश नआउँदा सडक निर्माणको काम रोकिएपछि लम्कीचुहा नगरपालिका गुलराका युवा नेता नेत्र भण्डारीले सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेश तत्काल दिनुपनर्पे माग राख्दै कर्णाली पुलमा आमरण अनशन बस्नुभएको थियो । सबै तिरबाट दबाब परेपछि सरकारले सडक क्षेत्रमा पर्ने रुख कटानीको आदेश दिएको थियो ।

उक्त सडक मार्गमा पर्ने करिब ४१० रुख कटानी भई घाटगद्धीको काम भइरहेको छ । रुख कटानको काम सम्पन्न भएपछि निर्माण कम्पनीले सडक चौडा गर्दै पर्खाल निर्माणको काम सुरु गरेको छ । वर्षातका कारण ठाउँ ठाउँमा पहिरो खस्दा काम प्रभावित हुने गरेको निर्माण कम्पनीले जनाएको छ । २०८३ असार मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने गरी म्याद थप भएकाले वर्षात रोकिनेवित्तिकै कामले गति लिने निर्माण कम्पनीका सञ्चालक शाहीको भनाई छ । उक्त सडकको ५.५ मिटर कालोपत्रे एक एक मिटर सडक पेटी र नाली सहित निर्माण हुनेछ ।

 चिसापानी जंगलघाट मंलसेन ट्याक्टर बाटोको नाममा करिब साढे तीन दशकदेखि सामान्य काम हुँदै आएको थियो तर यो सडक प्रयोग गर्ने मानिसहरुको संख्या उल्लेख्य भएकाले सरकारले मोटर बाटो निर्माण गर्ने निर्णयमा पुगेको हो । कैलालीको हाल मोहन्याल गाविस पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका,चौकुने गाँउपालिकाका साथै अछाम, दैलेख, कालीकोट,जुम्ला र हुम्लाका मानिसहरुले प्रयोग गर्ने बाटोको रुपमा रहेको छ । अछामको जंगलघाटमा पक्की पुल बनेपछि र उक्त सकडक कालोपत्रे भएपछि जुम्ला कालीकोट लगायत दैलेखका मानिसहरुलाई नेपालगञ्ज जानुभन्दा कैलालीको लम्की टीकापुर पुग्छ छिटो हुने भएकाले यो सडक छिटो निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । सो सडकमा पर्ने कर्णाली र भेरी नदीमा पक्की पुल बनेकाले यो सडक कालोपत्रे भएपछि सवारी साधन आवागमनमा सहजता हुने विश्वास गरिएको छ ।