प्रधानमन्त्री ओली र राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता सुरु


काठमाडौं ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता सुरु भएको छ।
शनिबार अपराह्न तियानजिन शहरमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच उच्चस्तरीय बैठक प्रारम्भ भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन पुगेका हुन्। स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे विशेष विमानमार्फत तियानजिन पुगेपछि ओलीलाई चीन सरकारका उच्च अधिकारी, नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली र चीनका लागि नेपालस्थित नेपाली राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए।

उच्चस्तरीय भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई अझ गहिरो बनाउनुपर्ने, व्यापार घाटा न्यून गर्ने उपाय, पारवहन सञ्जाल विस्तार, पूर्वाधार सहयोग, ऊर्जा र पर्यटन प्रवर्द्धनजस्ता मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। साथै, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत नेपालमा भइरहेका परियोजनाबारे पनि विचार–विमर्श हुने जनाइएको छ।

भेटवार्तामा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, वित्तीय तथा कूटनीतिक सल्लाहकारसहितको नेपाली टोली सहभागी छ भने चीनतर्फबाट परराष्ट्रमन्त्री, वाणिज्यमन्त्रीलगायत उच्च अधिकारीहरू उपस्थित छन्।

प्रधानमन्त्री ओलीको यो भेटवार्तालाई नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ। यसअघि तत्कालीन राजा महेन्द्र र प्रधानमन्त्री टंकप्रसाद आचार्यले मात्र चीनबाट यस्तै उच्च सम्मान प्राप्त गरेका थिए।
तियानजिनमा सुरु भएको यो वार्ता सम्पन्न भएपछि प्रधानमन्त्री ओलीले शिखर सम्मेलनका अन्य सहभागी नेताहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।