डोटी।
डोटीसहित समग्र सुदूरपश्चिममा आज गौरादेबीलाई विधिवत् रुपमा भित्राइएको छ । गौरादेबीलाई भित्राइएसँगै अहिले सुदूरपश्चिमका डोटी लगायतका सात पहाडी जिल्लादेखि तराईका कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धांगिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरादेवीका रुपमा पूजा अर्चना गरिँदै आएको गौरा सम्बन्धि संस्कृतिका जानकार डोटीका मेखराज भट्टले जानकारी दिए ।
उनका अनुसार भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्व परम्परागत रीतिअनुसार यहाँका जिल्ला र ठाउँ अनुसार मनाइने गरिन्छ । गौरा पर्वकै लागि भनेर अहिले यहाँका पहाडी जिल्लाबाट कामका लागि छिमेकी मुलुक भारतदेखि जिल्ला बाहिर रहेकाहरु गाउँ फर्किन थालेपछि गौरापर्वले झनै रौनकता पाएको अर्का स्थानीय केशव साउँदले जानकारी दिए ।
उनले भने, “कामका लागि परदेश गएकाहरू पनि अहिले गौरा पर्वकै लागि घर फर्किन थालेका छन् । सहर भन्दा अहिले गाउँमा निकै रौनकता छाएको छ ।”
विवाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब–धागो लगाउने चलन यस क्षेत्रमा रहेको तथा नारीले पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुब–धागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गरिएको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगर प्रमुख घनश्याम पाठकले बताए ।
उनले भने, “सुदूरपश्चिममा गौरालाई विषेश महत्वपूर्णका साथ हेरिन्छ । यहाँका अन्य चाडपर्व भन्दा यसपर्वको महत्व र रौनक छुट्टै हुन्छ ।”
यहाँ साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ती बनाइ पूजाआजा गर्ने चलन रहीआएको छ । खेतबारीबाट साउ, अपामार्ग लगायतका वनस्पतीहरूको प्रतिमूर्ती बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ । आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरूले धारण गर्ने गर्ने चलन रहेको जोरायल गाउँपालिका–५ दुर्गा विष्टले बताइन् । उनका अनुसार नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रही आएको छ ।
गौरापर्वको मुख्य दिनका रूपमा रहेको सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरूले राति मिठोमसिनो खाना खाने चलन छ । मौलिक पर्वका रूपमा रहेको गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन रही आएको छ।
गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्ने चलन रहीआएको छ । सुदूरपश्चिममा दशैँभन्दा पनि बढी गौरापर्वलाई महत्त्व दिइने गरिएको छ ।











प्रतिक्रिया