खोटाङ।
खोटाङका स्थानीय तहहरुले सेवाग्राही बसोबास गरिरहेकै स्थानमा पुगेर सेवा प्रवाह गरिरहेका छन् । काठमाडौँ तथा इटहरी लगायतका शहरहरुमा रहेका सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही लगायतका सेवाग्राही नागरिकलाई सोही स्थानमा पुगेर सेवा प्रदान गरिरहेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता तथा एकीकृत सेवाको शिविर सञ्चालन गरेका हुन् । बर्षायामका कारण भएको यातायातको असुबिधा तथा जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति तथा बालबालिकालाई मध्येनजर गर्दै स्थानीय तहहरुले आफ्ना सेवाग्राहीलाई खोजी–खोजी सेवा दिने योजना बनाएका हुन् ।
जिल्लाको सबैभन्दा बढी सेवाग्राही रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौँको सिनामङ्गलस्थित होटल जन्मभूमिमा बुधबारदेखि चार दिने शिविर जारी राखेको छ । काठमाडौँमा सञ्चालन गरिएको शिविरमा वडा नम्बर २ सोल्माका वडाध्यक्ष ध्रुवबिक्रम राई र वडा नम्बर–१४ बुइपाका वडाध्यक्ष दिनेशकुमार राईको समन्वयमा शिविर आयोजना गरिएको हो । नगरपालिकाका करिब ६ सय बढी लाभग्राही काठमाडौँमै रहेका छन ।
तराईमा रहेका लाभग्राहीका लागि इटहरीस्थित इटहरी उपमहानगरपालिकामा आगामी भदौ १६ र १७ गते शिविरको आयोजना गरिने बताईएको छ ।
केपिलासगढी गाउँपालिकाले पनि काठमाडौँको सुकेधारास्थित गोर्खाली फिटनेस सेन्टरमा यही भदौ–१० र ११ गते दुई दिने शिविरमार्फत सेवा प्रदान गरेको थियो । शिविरमा ४३ जना महिला तथा ३८ जना पुरुष गरि ८१ जना लाभग्राहीको सामाजिक सुरक्षाभत्ता नवीकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राइले जनाए ।
जिल्लाकै ऐसेलुखर्क गाउँपालिकाले गत साउन–२७ र २८ गते काठमाडौँस्थित चाबहिलको फुजी एकेडेमी तथा भदौ–१ र २ गते इटहरीमा एकीकृत सेवा शिविर सञ्चालन गरेको थियो । राजधानी काठमाडौँ र पूर्वी तराईको इटहरीमा सञ्चालन गरेको एकीकृत सेवा शिविरबाट ३ सय २० सेवाग्राहीले सेवा लिएका थिए ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले पनि यही महिना शिविर सञ्चालन गर्ने तयारी गरेको छ । यही भदौ–१६ र १७ गते इटहरीस्थित दुर्गा पाटी प्यालेस ब्याङ्क्वट इटहरी, भदौ–१९ र २० गते उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारस्थित सिटीहलमा र भदौ–२४ र २५ गते काठमाडौँको तीनकुनेस्थित सिद्धार्थ कटेजमा शिविर सञ्चालन गरिने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, रावाबेंसी गाउँपालिकाले यही भदौ–१४ र १५ गते पूर्वी तराईमा बसोबास गर्ने लाभग्राहीका लागि इटहरीस्थित इटहरी उपमहानगरपालिकाको सभा हलमा शिविरको आयोजना गरेको छ । यसअघि, गाउँपालिकाले भदौ–५ र ६ गते सामाजिक सुरक्षा भत्ता नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण तथा एकीकृत सेवा प्रवाह शिविर सम्पन्न गरेको थियो । शिविरमा ३ सय ३८ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको पालिकाका पञ्जीकरण शाखाका प्रमुख गिरिराज रानामगरले जानकारी दिएका छन् ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले समेत आ–आफ्ना पालिकाका लाभग्राहीहरु खोजि गरेर सामाजिक सुरक्षाभत्ता नवीकरणको काम गरिरहेका छन् । नेपाल सरकारले जारी गरेको सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०८२ मा उल्लेख भएको व्यवस्थाअनुसार हरेक लाभग्राहीको बायोम्याट्रिक भेरिफिकेसनसहित प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था लागू भएपछि स्थानीय तहहरुले लाभग्राहीहरु खोजिखोजि नवीकरणको काम सुरु गरेका हुन् ।।











प्रतिक्रिया