मार्तडी–कोल्टी सडकखण्डको ठाउँ–ठाउँमा पहिरो, यात्रुको कन्तबिजोग 

जोखिममा लक्ष्मी माध्यमिक विद्यालय

4.79k
Shares

बाजुरा। 
 
 बाजुराको सदरमुकाम मार्तडी–कोल्टी सडक खण्ड अवरुद्ध भएको भरपुर तीन महिना भयो। वर्षादको समयमा सडकखण्डका ठाउँठाउँमा झरेका साना ठूला पहिरोले उक्त सडक सञ्जाल अवरद्ध भएको हो । बडीमालिका नगरपािलका वडा न. सात रज्याउडा, दानचौरमा निरन्तर पहिरो खस्दा छल्पुन्ना वारी जिल्ली, तलगाउँ, घुँगाडीपाटा ,गाडचौर र पानीखाल लगायतका गाउँबाट आउने लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवतजावत  गर्न निक्कै सास्ती भएको छ ।

 बाटोमा सधैं लेदो माटोसहित पहिरो बगिरहन्छ  । सडकको नाम निशाना छैन । छल्पुन्नादेखि रज्याउँडा सम्म करिब दुई सय मिटर सडकखण्ड पहिरोमा परिणत भएको छ । स्व. नन्दराम  पण्डित, नरप्रशासद जैशी र रामलाल जैशीको जग्गा पुरै गइसक्यो , स्कुलको गेट चर्किसकेको छ । स्कुल तलमाथि वरिपरि पहिरो छ । विद्यालय भवननै जोखिममा परेको छ ।  सडक तलमाथि पहिरो लाग्दा स–साना विद्यार्थीले त गत असारदेखि स्कुल आउनै छोडेका छन् । लक्ष्मी माविमा एक सय ६७ विद्यार्थी अध्ययनरत छन् । तर, पहिरोकै कारण ३०-४० विद्यार्थी मुस्किले स्कुल पुग्छन्। त्यो पनि शिक्षकले विद्यार्थिलाई काखी च्यापेर पहिरो कटाउनु पर्छ,लक्ष्मी माविका लेखापाल रणवहादुर विकले भने। 

 रज्याउडो  जग्गा र मार्तडी कोल्टी सडकखण्ड भत्केर स्कुल सम्मै पुगिसकेको छ। अब कुनदिन स्कुल बगाउँछ थाह छैन, लेखापाल विकको भनाई छ  । उसो त हिड्ने बाटो नहुँदा  गत असारमा लेकछाना तिर चराउन लगेका उक्त गाउँका एक सय पचास बढी  परिवारका गाइभैसी  माउलेख हलेडीमै थुनिएका छन् तलगाउँका नन्दे विकले भने । 

  छलपुन्ना दानचौर सडक खण्ड पहिरोले छेद्विच्छेद हुँदा सदरमुकाम मार्तडी आउने जाने यात्रुको कन्तबिजोग भएको छ। मार्तडी–कोल्टी जम्मा ४२ किलो मिटर सडक खण्डमा ठाउँ ठाउँ गरी पाँच स्थानमा सानाठूला पहिरा गएका छन् । बडीमालिका नगरपािलका वडा नं ७ को दानचौर, सिराडी, रजातोली र भासुपातल पोरखेमा पहिरो खस्दा तिन महिनादेखि बाटो अवरुद्ध भएको छ  । जहाँ पैदल हिँड्न बाटो पनि छैन । सदरमुकाम मार्तडी देखि पूर्वी उत्तरी क्षेत्रका दुई नगरपािलका र दुई गाउँपलिका गरी चार पालिकाका करिब पैंचालिस हजार नागरिक प्रभावित भएकाछन् ।  बाजुराका चार पालिका लगायत छिमेकी जिल्ला हुम्ला,मुगुका नागरिकपनि बाजुराको बाटो भएर कैलाली कञ्चनपुर हुँदै भारत पस्ने प्रमुख बाटो हो, तिन महिना देखि अवरुद्ध छ । बाजुराको पुर्वीभेगका दुःखी विरामीले सहज उपचारबाट वञ्चित हुनपरेको छ ।  नागरिकता, राष्ट्रिय परिचयपत्र, घरजग्गापास लगायत अत्यन्त जरुरीकाम रोकिएका छन्,बुढिनन्दा नगरपालिका वडा न. १०का वडाध्यक्ष मानवहादुर रावतको भनाईछ। 

“बाटो नहुँदा पाण्डुसैन,अंगाउँपानीका सयौं कृषकका स्याउ बारीमै कुहिने डर छ । स्याउ भण्डारण गर्ने प्रविधी भए भण्डारण गरिन्थ्यो । बोकेर लैजाउँ हिड्ने बाटो छैन ।  गाउँमा स्याउ टिपेर खाइदिने मान्छे छैनन् । ” सहारा एप्पल गार्डेनका सञ्चालक पुरवहादुर रावतको भनाई छ ।  

यता सदरमुकाम नजिकैको बाउली खोलामा निर्माणाधीन पुल वर्षैैै देखि अलपत्र छ । उता बुढीनन्दा नगरपालिकाको कमारेकोटमा पहिरो र बड्डीगाड खोलामा पुल नहुँदा तिन महिना देखि बाटो अवरुद्ध छ ।  कोल्टीबाट मार्तडी आउन पाँच गाडी फेर्नु पर्छ नागरिकलाई निक्कै सास्ती  भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सितलवहादुर रावलको भनाई छ ।  पि.एस. जेभि बानियाँले मार्तडी कोल्टी  पक्की सडक सडक निर्माणको जिम्मा लिएको सात वर्ष बित्न थाल्यो पचास प्रतिशत काम पनि भएको छैन । 

   मार्तडी–कोल्टी सडक खण्डको पहिरो पञ्छाउन बडिमालिका नगरपालिकाले सडक डिभिजन कार्याय साँफेको स्काईभेटर भाडामा लिएको सुनिन्छ। तर ,प्रयोग कहि गरेको देखिदैन । दशैं आसपास र असार मसान्तमा पचासौं टुक्रे योजना गरी करोड रुपियाँ बढिका कोटेशनमा काम गराउने तर यात्रुलाई हिड्नेबाटो र विद्यालयमा पढ्ने वालाविकाको  यति कन्तबिजोग हुँदा पनि  बडिमालिका नगरपालिकाको ध्यान नगएको स्थानीयको गुनासो छ।