एच-वानबी भिसा प्रणालीमा सुधार हुने, अमेरिकी सचिवले ‘धोखाधडी’ स्क्याम


काठमाडौं ।

अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले अमेरिकामा रोजगारी पाउने लोकप्रिय एच-वानबी (H-1B) भिसा प्रणालीलाई ‘धोखाधडी’ स्क्याम भएको भन्दै ठूला संरचनात्मक सुधार ल्याइने बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा सचिव लुटनिकले भने, “विगत लामो समयदेखि एच-वानबी भिसाको दुरुपयोग हुँदै आएको छ।

योग्य अमेरिकी नागरिकलाई रोजगारी नदिई विदेशी श्रमिकलाई प्राथमिकता दिइएको छ। यो अब बन्द हुन्छ।” अमेरिकाले सन् १९९० देखि सुरु गरेको एच-वानबी प्रणालीअन्तर्गत हरेक वर्ष करिब ८५ हजार विदेशी श्रमिकलाई उच्च प्राविधिक, अनुसन्धान, चिकित्सा र इन्जिनियरिङ क्षेत्रमा काम गर्ने अनुमति दिइन्छ।

यसमा भारत र चीनका कामदारको वर्चस्व रहँदै आएको छ भने नेपालका सयौँ युवाले पनि यो भिसामार्फत अमेरिकामा काम गर्दै आएका छन्। तर पछिल्ला वर्षहरूमा आउटसोर्सिङ कम्पनीहरूले यो प्रणालीलाई सस्तो श्रमिक भित्र्याउने साधनको रूपमा प्रयोग गरेको आरोप हुँदै आएको छ। ट्रम्प प्रशासनको ‘अमेरिका फर्स्ट’ नीतिअनुसार, विदेशी श्रमिकभन्दा अमेरिकीलाई प्राथमिकता दिने नीति अझ कडाइका साथ लागू गर्ने तयारी देखिएको हो।

विशेषज्ञहरूको भनाइअनुसार, आगामी सुधारपछि विदेशी नागरिकलाई भिसा पाउन अझ कठिनाइ हुने सम्भावना छ। तर प्रत्यक्ष रोजगारी प्रस्ताव पाउने योग्य युवाका लागि भने प्रणाली पारदर्शी र निष्पक्ष बन्न सक्ने अनुमान गरिएको छ। नेपालका लागि प्रभाव नकारात्मक पक्ष : अमेरिकामा अध्ययन पूरा गरेर एच-वानबीमार्फत काम गर्ने सपना देख्ने नेपाली युवाका लागि प्रतिस्पर्धा अझै कडा हुनेछ। सकारात्मक पक्ष : सीधा योग्यतामा भर पर्ने भएकाले वास्तविक सीप भएका नेपालीलाई अवसर पाउने सम्भावना बढ्नेछ। हाल विस्तृत सुधारको खाका सार्वजनिक नभए पनि, अमेरिकी प्रशासनले निकट भविष्यमै यो भिसा प्रणालीलाई पुनः संरचना गर्ने संकेत दिएको छ।