उद्योग–शिक्षा सहकार्य हुने


काठमाडौं ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम)बीच उद्योग–शिक्षा सहकार्यलाई मजबुत पार्ने उद्देश्यसहित समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता अनुसार दुबै संस्थाले इन्टर्नसिप तथा रोजगारीका अवसर सिर्जना, संयुक्त अनुसन्धान, तालिम, कार्यशाला, सम्मेलन, क्षमता अभिवृद्धि कार्यक्रम तथा उद्यमशीलता प्रोत्साहनजस्ता गतिविधिमा सहकार्य गर्नेछन् । यसले विद्यार्थीलाई व्यावहारिक सीप प्रदान गर्दै शैक्षिक ज्ञान र औद्योगिक अभ्यासबीचको सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

निक्कीले नेपाल–भारतबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा सीमा–पार सहकार्यलाई प्रोत्साहन गर्दै आएको छ भने कुसुम नेपालमा अन्तर्राष्ट्रिय स्तरको एमबीए कार्यक्रम सञ्चालन गर्ने अग्रणी शैक्षिक संस्था हो ।