दर्जन ठेकेदार कालोसूचीमा


काठमाडौं ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार ११ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा परेकामध्ये कास्यम निर्माण सेवा एण्ड सप्लायर्सलाई दुई वर्षका लागि, मष्टा भवानी निर्माण सेवालाई डेढ वर्षका लागि र बाँकी कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
कालोसूचीमा पर्ने कम्पनीहरुमा बाँकेको शुभ आर एस बिल्डर्स सप्लायर्स, अछामको नवीन निर्माण सेवा, सुर्खेतको जे एम सी कन्स्ट्रक्सन प्रालि र काठमाडौंको कास्यम निर्माण सेवा एण्ड सप्लायर्स रहेका छन् ।

त्यस्तै उदयपुरको विशाल होम निर्माण सेवा, बूढानीलकण्ठ काठमाडौंको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन, मोरङको सगुन फेब्रिक्स प्रालि, काठमाडौंको ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि, जालपा निर्माण सेवा एण्ड सप्लायर्स, डोल्पाको मष्टा भवानी निर्माण सेवा र अर्घाखाँचीको शहीद निर्माण सेवा पनि कालोसूचीमा राखिएको छ ।

ती कम्पनीलाई कालोसूचीमा राख्न पूर्वाधार विकास कार्यालय ओखलढुङ्गा, लिसंखु पाखर गाउँपालिका सिन्धुपाल्चोक, जिरी नगरपालिकाको कार्यालय दोलखा, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रबर्धन केन्द्र, हरिहरभवन, गुर्भाकोट नगरपालिका कार्यालय सुर्खेत, सडक डिभिजन, सुर्खेत, सोलुदूधकुण्ड नगरपालिका कार्यालय सोलुखुम्बु, नेपाल स्टक एक्सचेन्ज लिमिटेड काठमाडौं, छार्का ताङ्सोङ गाउँपालिका कार्यालय डोल्पा र सडक डिभिजन कपिलवस्तुले सिफारिस गरेका थिए ।