सहुलियतपूर्ण कर्जाको सीमा बढ्यो


काठमाडौंं ।

सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गरेको छ । यसअन्तर्गत अब विभिन्न आठ प्रकारका कर्जामा मात्र ३ प्रतिशतसम्म ब्याज अनुदान दिइनेछ ।

यसअघि महिला उद्यमशीलता कर्जामा ६ प्रतिशतसम्म, व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा ५ करोडभन्दा माथि २ प्रतिशतसम्म अनुदान दिने व्यवस्था खारेज गरिएको छ । नयाँ कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आधार दरमा १.५ प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने र सूचना शुल्क तथा बीमा शुल्कबाहेक अन्य शुल्क लिन नपाउने प्रावधान गरिएको छ ।

कर्जाको सीमा परिमार्जन भएअनुसार महिला उद्यमशीलता कर्जा १५ लाखबाट बढाएर २५ लाख रुपियाँ पुगेको छ । त्यस्तै शिक्षित युवा परियोजना कर्जा ७ लाखबाट बढाएर २० लाख रुपियाँ, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार कर्जा : १० लाखबाट बढाएर २० लाख रुपियाँ, दलित समुदाय उद्यम विकास कर्जा १० लाखबाट बढाएर २० लाख रुपियाँ, प्राकृतिक विपद् पीडित आवास कर्जा ३ लाखबाट बढाएर ५ लाख रुपियाँ, व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा सीमा भने घटाएर अधिकतम ५ करोड रुपियाँमा सीमित गरिएको छ ।

यसपटक सरकारले स्टार्टअप उद्यम कर्जा २५ लाखसम्म र उद्योगमा बोइलर प्रतिस्थापन कर्जा २५ लाखसम्म दिने नयाँ व्यवस्था गरेको छ ।त्यस्तै उच्च तथा प्राविधिक शिक्षा कर्जा, कपडा उद्योग सञ्चालन कर्जा, प्राविधिक शिक्षा तथा तालिम कर्जा र युवा वर्ग स्वरोजगार कर्जा हटाइएका छन् । ब्याज अनुदान बढीमा ५ वर्षसम्म मात्र उपलब्ध हुने । १५ लाख रुपियाँसम्मको कर्जामा बीमा तथा कर्जा सुरक्षण शुल्कको ५० प्रतिशत सरकारले व्यहोर्ने व्यवस्था छ ।१५ लाखभन्दा माथिको बीमा तथा सुरक्षण शुल्क ऋणी वा बैंकले व्यहोर्नुपर्ने हुन्छ ।

कर्जाको दुरुपयोग भए बाँकी अवधिको ब्याज अनुदान रोक्ने तथा भुक्तानी गरिसकेको अनुदानसमेत असुल गर्ने व्यवस्था सरकारले गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विगतमा सहुलियतपूर्ण कर्जामा दुरुपयोग र अनियमितता बढेकाले नयाँ कार्यविधि ल्याइएको हो । सरकारद्वारा अनुदान रकम वितरण रोकिने क्रमसँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दुई वर्षदेखि सहुलियतपूर्ण कर्जा प्रवाहमा अनिच्छा देखाउँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा कूल ९४ हजार ९२० ऋणीलाई प्रवाह भएको .७८ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ३५ हजार ८६१ ऋणीलाई प्रवाह भएको रु.५७ अर्ब ५५ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ५७ हजार ६३६ महिला उद्यमीलाई प्रवाह भएको २० अर्ब ९ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १ हजार ४२३ ऋणीको १ अर्ब २ करोड कर्जा बक्यौता रहेको छ ।

सहुलियत कर्जाको सीमा

– महिला उद्यमशीलता कर्जा : २५ लाख रुपियाँसम्म ।
– शिक्षित युवा परियोजना कर्जा : २० लाख रुपियाँसम्म ।
– वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार कर्जा : २० लाख रुपियाँसम्म ।
– दलित समुदाय उद्यम विकास कर्जा : २० लाख रुपियाँसम्म ।
– प्राकृतिक विपद् पीडित आवास कर्जा : ५ लाख रुपियाँसम्म ।
– व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा : ५ करोड रुपियाँसम्म ।
– स्टार्टअप उद्यम कर्जा : २५ लाख रुपियाँसम्म ।
– उद्योगमा बोइलर प्रतिस्थापन कर्जा : २५ लाख रुपियाँसम्म ।