काठमाडौँ ।
अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसस्थित एक क्याथोलिक विद्यालयमा बुधबार भएको गोलीकाण्डमा दुई बालबालिकाको ज्यान गएको छ । एनुनसिएसन क्याथोलिक चर्च र त्यससँग जोडिएको विद्यालयमा भएको आक्रमणमा कम्तीमा १७ जना घाइते भएका छन् ।
स्थानीय प्रहरीका अनुसार २३ वर्षीय रोबिन वेस्टम्यानले आक्रमण गरेका थिए । प्रहरीको प्रतिकारपछि उनलाई पनि घटनास्थलमै मारिएको हो । वेस्टम्यानको कुनै पूवअपराधिक इतिहास नभएको जनाइएको छ ।
मृत्यु हुने बालबालिकामा आठ र दश वर्षका विद्यार्थी रहेका छन् । उनीहरू विद्यालय फर्किएको तेस्रो दिनमै यस्तो दुर्घटनामा ज्यान गुमाउनु परेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
“हाम्रा टोलीहरू संकट व्यवस्थापनका लागि तत्काल परिचालित भएका छन्,” स्थानीय अस्पतालले विज्ञप्ति जारी गर्दै जनाएको छ, “हाल ६ बालबालिकालाई अस्पताल भर्ना गरिएको छ, तर उनीहरूका परिवारको गोपनीयतालाई ध्यान दिँदै विस्तृत विवरण दिन सकिँदैन ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुस्ख व्यक्त गर्दै एफबीआई र अन्य सुरक्षा निकाय तत्काल सक्रिय भइसकेको जनाएका छन् । मिनियापोलिसका मेयर जेकब फ्रेले भने, “यो अकल्पनीय त्रासदी हो, जसलाई शब्दमा व्यक्त गर्न कठिन छ । यी पीडित बच्चाहरूलाई अरूका नभई आफ्नै बच्चा सम्झिनुपर्छ ।”
२४ घण्टाभित्र चौथो गोलीकाण्ड
यो विद्यालय आक्रमण मिनियापोलिसमा २४ घण्टाभित्र भएको चौथो गोलीकाण्ड हो ।
मंगलबार दिउँसो करिब १स्३० बजे फिलिप्स क्षेत्रमा भएको गोलीकाण्डमा एकजनाको मृत्यु र ६ जना घाइते भएका थिए।
मंगलबार राति करिब ८ बजे दोस्रो गोलीकाण्ड हुँदा एकको मृत्यु र अर्का एक घाइते भए।
बुधबार बिहान २ बजे तेस्रो घटनामा पनि एक व्यक्तिको ज्यान गएको थियो।
प्रहरी प्रमुख ब्रायन ओहाराले यी सबै घटनाहरूबीच हालसम्म कुनै प्रत्यक्ष सम्बन्ध नभएको तर हिंसात्मक गतिविधि रोक्न चुनौती थपिएको बताएका छन् ।











प्रतिक्रिया