वीरगन्ज महानगर हालै हैजाको प्रकोपसँग जुधिरहेको छ । सोमबारसम्म ३४४ जनाभन्दा बढी बिरामी अस्पताल पुगिसकेका र तीमध्ये ९३ जनामा हैजाको सङ्क्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु भइसकेको छ । नारायणी अस्पतालदेखि तराई अस्पताल, नेसनल मेडिकल कलेज, भवानी अस्पताललगायतका स्वास्थ्य संस्थामा सयौँ बिरामी उपचाररत छन् । यसै बीच केही वर्षअघि जाजरकोटमा पनि हैजाको प्रकोपले धेरैको ज्यान गएको थियो ।
दुर्गम क्षेत्रदेखि शहरी महानगरसम्म हैजा फैलनुले नेपालमा संक्रामक रोग नियन्त्रणका लागि अझै धेरै काम गर्नुपर्ने तथ्य उजागर गरेको छ । विश्वले नेपाललाई नियाल्दा हैजा, कलेराको समस्या रहेको मुलुकमा आफ्ना नागरिकलाई यात्रा नगर्न सुझाउँछन् । त्यसैले पर्यटन व्यवसायमा यस प्रकोपको नकारात्मक असर पर्ने हुन्छ ।
नेपालमा समय–समयमा हैजाको प्रकोप आइरहेको देखिन्छ । दूषित पानी र अस्वच्छ सरसफाइ यसको मुख्य कारण हो भन्ने थाहा हुँदाहुँदै पनि रोग नियन्त्रणमा सरकार एवं स्थानीय तहहरू निरन्तर चुकिरहेका देखिन्छन् । वीरगन्जमा मात्रै हैजा नियन्त्रणका लागि संघीय, प्रदेश र स्थानीय सरकारले ‘अधिकतम प्रयास’ गरेको बताइए पनि संक्रमितको संख्या दिनदिनै बढ्दो छ । त्यसैले हाम्रो रोग नियन्त्रण संरचना, दु्रत परीक्षण प्रणाली र जनचेतना अभियानलाई गम्भीररुपमा लिन नसकेको प्रस्टै देखिन्छ । विगतमा जाजरकोटमा फैलिएको हैजाले थुप्रैको ज्यान लियो ।
पहाडी जिल्लामा दूषित खानेपानी, असुरक्षित ढल व्यवस्थापन र स्वास्थ्य पूर्वतयारीको कमजोरी नै त्यस प्रकोपको मूल कारण थियो । त्यही अनुभवबाट पाठ सिकेर शहरी क्षेत्रमा पूर्वतयारी गर्नुपर्नेमा फेरि पनि ढिलासुस्ती भयो । संकट आउँदासम्म प्रतीक्षा गर्ने र त्यसपछि मात्र तात्कालिक कदम चाल्ने सरकारको प्रवृत्तिले विश्वसामु लज्जाबोध गराएको छ । राज्यले दायित्वबोध नगर्दा यस्तो समस्या पटक–पटक दोहोरिने गरेको हो । जनस्वास्थ्यप्रति सरकार जवाफदेही नभएको भन्ने प्रमाण वीरगन्ज घटनाले प्रस्ट पार्छ ।
हैजा नियन्त्रणका लागि सरकारले सुरक्षित खानेपानी आपूर्ति, दूषित स्रोतको पहिचान, स्वास्थ्यकर्मीहरूको परिचालन, निःशुल्क उपचार र औषधि वितरण गर्नुका साथै दीर्घकालीन रणनीति बनाउनु महत्वपूर्ण कुरा हो । नेपालका धेरै शहर र गाउँमा ढल व्यवस्थापन अव्यवस्थित छ, खानेपानी धारा प्रणाली पुरानो र जीर्ण छ र पानी शुद्धीकरणमा पर्याप्त लगानी गरिएको छैन । यी संरचनागत समस्याले हैजाजस्ता रोग बर्सेनि दोहोरिने खतरा रहन्छ । स्थानीय सरकारलाई जनस्वास्थ्य अभियानमा जिम्मेवारी दिइएको भए पनि उनीहरूको क्षमता र स्रोत न्यून छ ।
प्रदेश सरकारको भूमिका अपेक्षाअनुसार सक्रिय छैन । संघीय सरकारले रोग नियन्त्रणमा औषधि र उपकरण पठाए पनि दीर्घकालीन संरचनागत सुधारमा गम्भीर भएकै छैन ।अब सरकार र सरोकारवालाले बुझ्नुपर्ने कुरा के हो भने, हैजा नियन्त्रण केवल आपत्कालीन कदमले सम्भव हुँदैन । शिक्षा, सरसफाइ र पूर्वाधार सुधार नै यस रोगविरुद्धको स्थायी समाधान हो । विद्यालय स्तरमै स्वास्थ्य शिक्षा प्रभावकारी बनाइनु जरुरी छ ।
वीरगन्जको हैजा प्रकोप चेतावनीको घण्टी हो । यो रोग नियन्त्रण गर्न नसक्दा जनस्वास्थ्य मात्रै होइन, मुलुकको समग्र विकास पनि प्रभावित हुन्छ । ढल निकास र खानेपानीको पाइप लाइन बिच्छ्याउने कार्यमा समयमै ध्यान दिनुपर्छ । एउटै लाइनमा ढल र खानेपानीको पाइप राख्नु, सडक तथा ढल निर्माणका क्रममा पाइपहरु फुटेर अस्तव्यस्त हुनु, मुहानको संरक्षण नहुनु, सरसफाइमा जनचेतना नपुग्नुजस्ता विषयमा सरकार गम्भीर हुनु जरुरी छ । अब ढिलाइ नगरी सरसफाइ, सुरक्षित खानेपानी र स्वास्थ्य पूर्वतयारीमा क्रान्तिकारी सुधार गर्ने बेला आएको छ ।











प्रतिक्रिया