काठमाडौं ।
यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सबै सरकारी, निजी तथा सार्वजनिक सवारीसाधनमा क्रमशः इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने जनाएको छ । तर, तत्कालै नम्बर प्लेट जडान नगरेका सवारीसाधनलाई असोज १ गतेदेखि नै जरिवाना वा कारबाही गर्ने भन्ने भ्रम गलत भएको स्पष्ट पार्दै विभागले अहिलेलाई कुनै किसिमको दण्ड–जरिवाना नहुने जनाएको छ ।
मंगलबार जारी विज्ञप्तिमा विभागले वाहनधनीलाई आफूलाई अनुकूल भएको समयमा सवारी दर्ता कार्यालयमा पुगेर स्वेच्छाले नम्बर प्लेट जडान गरी डिजिटलाइजेशन अभियानमा सहयोग गर्न आग्रह गरेको छ। यो व्यवस्था संघ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ बमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको समितिको निर्णयअनुसार लागू गर्न लागिएको हो। यसअघि विभागले भदौ ३ गते सूचना जारी गर्दै असोज १ देखि नयाँ सवारी दर्ता, नामसारी र नवीकरणका क्रममा नम्बर प्लेट अनिवार्य हुने जनाएको थियो ।
यसैबीच सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने घोषणा गरेको छ । सोमबार जारी विज्ञप्तिमा महासंघले अव्यावहारिक प्रावधान संशोधन नभएसम्म कुनै पनि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो ।
महासंघले सार्वजनिक, निजी, पर्यटक र मालवाहक सबै प्रकारका सवारी साधन व्यवसायीलाई नम्बर प्लेट जडान नगर्न आह्वान गरेको छ । साथै सरकारले जबर्जस्ती कार्यान्वयन गर्न खोजे त्यसबाट उत्पन्न हुने प्रतिरोध र आन्दोलनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनी दिएको छ ।
यसअघि पनि विभिन्न यातायात व्यवसायी संघ–संस्थाले इम्बोस्ड नम्बर प्लेटको विरोध गर्दै आएका छन् । सरकारले भने यातायात व्यवस्थापनलाई व्यवस्थित र सुरक्षामुखी बनाउन यो अनिवार्य गरिएको बताउँदै आएको छ । महासंघले सरकारलाई चेतावनी दिँदै जबर्जस्ती कार्यान्वयन गरिए प्रतिरोध र आन्दोलन गर्ने उल्लेख गरेको छ । यातायात व्यवसायीहरूले नम्बर प्लेट महँगो र प्रविधि अपूरो भएको कारण अस्वीकार गर्दै आएका छन् ।











प्रतिक्रिया