काठमाडौं ।
ज्ञान निकेतन, स्वर्णिम, बेसिक लर्निङ, ब्राइट होराइजन र रिब्सले तेश्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताको उपाधि जितेका छन् । बास्केटबलको ब्वाइजमा ज्ञान निकेतन र गल्र्समा स्वर्णिम च्याम्पियन बने । ब्वाइज फुटसलको यु–११ मा बेसिक लर्निङ, यु–१३ मा ब्राइट होराइजन र यु–१६ मा रिब्स पहिलो भए ।
भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा मंगलबार भएको बास्केटबलको ब्वाइज फाइनलमा ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–४३ ले पराजित ग¥यो । टोलीको जितमा महेन्द्र प्याकुरेलले ३३ अंक योगदान गरे । गल्र्सतर्फ हिसी ल्हामु लामाको ८ अंक सहयोगमा स्वर्णिमले रिब्सलाई २४–२२ को झीनोअन्तरले हराएर उपाधि जित्यो ।
ब्वाइजमा महेन्द्र र गल्र्समा हिसी आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा कन्स्टिलेसनका सुनिदन तामाङ र गल्र्समा रिब्सकी लिस्का थापा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
फुटसलको यु–११ फाइनलमा बेसिकले चेल्सी वल्र्ड स्कुललाई टाइब्रेकरमा ५–४ ले पाखा लगायो । यु–११ को फाइनलमा ब्राइट होराइजनले हार्टल्यान्ड एकेडेमीलाई ७–० ले पन्छायो । यु–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजमाथि १–० को कठिन जित दर्ता ग¥यो ।
यु–११ मा एआईका सोयाङ लामा, यु–१३ मा विद्यावाणीका आरभ कलौनी र यु–१६ मा रिब्सका श्रमन गुरुङ उत्कृष्ट खेलाडी चुनिए । यु–११ मा चेल्सीका समृद्ध कडेल, यु–१३ मा ब्राइट होराइजनका महेन्द्र सन्ज्याल र यु–१६ मा रिब्सका आयुश केसी उत्कृष्ट गोलरक्षक ठहरिए ।
यु–११ मा बेसिक लर्निङका सरोज तामाङ (१० गोल), यु–१३ मा रेडियन्टका सुलभ गुरुङ (११ गोल) र यु–१६ मा रिब्सका ब्लेस गुरुङ (६ गोल) सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
बास्केटबलको ब्वाइजमा एभीएम र गल्र्समा केसीसीएस अनुशासित टिम चुनिए । फुटसलको यु–११ मा मनास्लु, यु–१३ मा जेसिस र यु–१६ मा समृद्धिले अनुशासित टिमको ट्रफी हात पारे ।











प्रतिक्रिया