नेपालमा लामो संघर्षपछि लोकतन्त्र र त्यसपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको यात्रा पूरा भएर आज सोही शासन प्रणालीअनुसारका कामहरु भइरहेका छन् । यद्यपि शासन प्रणालीको संस्थागत विकासका क्रममा विभिन्न समस्याहरु नदेखिएका होइनन् । तर ती समस्याहरु समाधान गर्न सकिने खालका छन् । कतिपयले केही विकृतिलाई आधार बनाएर मुलुक खत्तम भयो, ध्वस्त भयो, प्रमुख राजनीतिक दलहरु कामै लाग्दैनन्, सबै भ्रष्ट भए भन्नेजस्ता गलत भाष्य सिर्जना गरेर निराशाको खेती गरिरहेका छन् । यस्तो अवस्थामा विकासमूलक पत्रकारिताको अपरिहार्य बढेर गएको छ ।
सरकारलाई निरन्तर प्रश्न गर्नुपर्छ, खबरदारी गर्नुपर्छ तर निराशा फैलाउने खेती सबै पक्षबाट बन्द गरिनुपर्छ । नेपाली सञ्चारमाध्यमले पनि निराशाको खेती फैलाउनेहरुको सशक्त प्रतिरोध गर्दै विकास पत्रकारितामार्फत मुलुकमा आशाको सञ्चार फैलाउन अब ढिलाइ गर्नुहुँदैन । सरकारले पनि मिडियामैत्री नीति नियम ल्याएर आवश्यक वातावरण बनाउन सक्नुपर्छ । मिडियालाई सधैँ विरोधी देख्ने शासकीय सोच सबैले त्याग्नुपर्छ ।
हिजोका दिनमा मिसन पत्रकारितामार्फत देशको राजनीतिक संक्रमणमा अग्रणी भूमिका निर्वाह गरेको नेपाली पत्रकारिता आज नयाँ युगको मोडमा छ– अब पत्रकारिताको मूलधार विकासमूलक पत्रकारितामा केन्द्रित हुन आवश्यक छ । राज्यको संरचना बदलिएको छ तर नेपाली सञ्चार क्षेत्रले आफ्नो भूमिका अझै पनि समकालीन आवश्यकतानुसार परिभाषित गर्न बाँकी छ ।
देशको राजनीतिमा स्थायित्वको अपेक्षा राखिँदै गर्दा अबको प्राथमिकता विकास, समृद्धि र सामाजिक रुपान्तरण हुनुपर्छ । यही परिवर्तनको संवाहक बन्न सक्ने सामथ्र्य विकास पत्रकारितामा छ ।
तर यथार्थ के छ भने, नेपाली सञ्चारमाध्यम अझै पनि राजनीतिक वादविवाद, गुट–उपगुट, सत्ताका समीकरण र विवादकै वरिपरि घुमिरहेको छ । यहाँको केही मिडियाले कतिपय अवस्थामा स्वार्थपूर्तिका लागि चिथोर्ने र कोपर्ने सिद्धान्त अंगीकार गरिरहेका छन्, जुन मिडियाको वास्तविक धर्मभित्र पर्दैन ।
अधिकांश मिडियाका समाचारमा दुर्घटना र अपराधले पनि विशेष प्राथमिकता पाउँदै आइरहेका छन् । ती मिडियाको टिप्पणीमा निराशा छ, विश्लेषणमा विघटनको सन्देश छ– विकासका प्रयत्न, सफलताका कथा र आम नागरिकमा आशा जगाउने ऊर्जा भने विरलै पाइन्छ । नेपाली मिडिया आफ्नो मूल धर्म र कर्मको रुपमा रहेको सामाजिक उत्तरदायित्वको सिद्धान्तबाट च्यूत हुन पुगेको हो कि भन्ने चिन्ता सर्वत्र देखिन थालेको छ ।
त्यसैले यहाँको मिडिया गम्भीररुपमा घोत्लिन जरुरी छ । अब यहाँको मिडियाले विकास पत्रकारितामार्फत आर्थिक, सामाजिक, सांस्कृतिक र विकासका मुद्दाहरुमा नागरिकको सरोकार र चासो प्रतिनिधित्व हुने गरी रिर्पोटिङको गति बढाउन जरुरी छ । विकास पत्रकारिताले मानवीय हित र विकासको प्रवद्र्धन गर्छ भने मानिसलाई गरिबीबाट मुक्त गर्न र गरिब बनाउने संयन्त्रसँग प्रश्न गर्ने र जवाफ माग्ने अधिकारको वकालत गर्छ ।
यसै गरी विकास पत्रकारिताले नै सामाजिक, आर्थिक मुद्दाहरुमा बहस र पैरवी गर्छ । समाचार वा विचार राजनीतिबाट पृथक छ र राजनीतिभन्दा धेरै विषयहरु छन्, जसले मानवीय चासो र सरोकारको प्रतिनिधित्व गर्छ भन्ने आत्मबोध गर्नु नै विकास पत्रकारिताको मर्म हो । यसले आम नागरिकलाई आफ्ना कथाहरु भन्न उत्प्रेरित मात्रै गर्दैन, बरु उनीहरुकै मुखबाट कथा बाहिर ल्याउँछ ।
विकास पत्रकारिताको शुरुवात एसिया महादेशबाटै भएको इतिहास छ । फिलिपिनी प्राध्यापक नोरा क्रुज क्युब्रालले सन् १९७० को दशकमा विकास सञ्चार अवधारणा सार्वजनिक गरेसँगै विकास सञ्चार र विकास पत्रकारिता प्रयोगमा आउन थालेको हो । विश्वस्तरमा हेर्ने हो भने गरिबी, भोकमरी र महामारीजस्ता कारणले केही मुलुकहरु प्रभावित छन् । यसो हुँदा विकास पत्रकारिताले समेट्ने मुद्दा र क्षेत्रहरुमा पनि परिवर्तन आइरहेको छ ।
तर नेपालको परिवेश अलि फरक छ । यहाँ भोकमरी हुने गरी चरम गरिबीको अवस्था छैन । तर आम नागरिकले संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि जुन रफ्तारमा मुलुकको विकास र प्रगति हुने अपेक्षा गरेका थिए, त्यो रफ्तारमा नहुँदा असन्तुष्टि चुलिएको हो । नागरिकको यही असन्तुष्टिलाई चिर्न पनि नेपाली मिडियाले सरकारलाई विकासप्रति समर्पित हुन झकझकाउनुपर्छ भने भएका विकास निर्माणका कार्यको उल्लेख्य प्रचारप्रसार गरिदिनुपर्छ ।
आशावाद होइन, सकारात्मक तथ्यको प्रसार
विकासमूलक पत्रकारिता भन्नेबित्तिकै कतिपयले बुझ्ने गर्छन्– सत्ताको पक्षपोषण, प्रोपोगान्डा वा ‘सकारात्मक समाचार’ मात्र । तर विकास पत्रकारिता न त चाप्लुसी हो, न त आँखामा पट्टी बाँधेर लेखिने प्रशस्ती । यसको मुख्य उद्देश्य भनेको देशमा भइरहेका सकारात्मक पहल, रणनीति र योजनाको तथ्यमा आधारित प्रसार गर्नु, विकृति र असफलताको समीक्षा गर्दै सुधारका लागि आवश्यक सुझाव दिनु र निरन्तर खबरदारी गर्नु ।
साथै विकास निर्माण कार्यमा सरकारी पक्षलाई जिम्मेवार बनाउनु पनि विकासमूलक पत्रकारिताको उद्देश्य हो । यसका लागि प्रेसले विकासलाई राष्ट्रको प्रमुख एजेन्डा मानेर त्यसैको वरिपरि संवादको वातावरण सिर्जना गर्नुपर्छ । अहिले मुलुकमा सरकारका थुप्रै महत्वाकांक्षी कार्यक्रमहरू कार्यान्वयनको चरणमा छन् ।
उदाहरणका लागि :
1फास्ट ट्रयाक परियोजना तीव्र गतिमा अगाडि बढिरहेको छ ।
2 दैलेखमा मिथेन ग्याससहितको ग्यास खानी पत्ता लागेर काम धमाधम अघि बढेको छ । ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको तथ्य फेला परेको छ ।
3 नवलपरासीमा फलाम खानीको सम्भाव्यता पुष्टि भएको छ ।
4 आधुनिक सिंचाइ कार्यक्रममार्फत तराईको कृषि उत्पादनमा वृद्धि गर्न थालिएको छ ।
5 सुरुङ मार्ग र सडक विस्तारका ठूला आयोजनाहरू कार्यान्वयन भइरहेका छन् ।
6 स्टार्टअप कर्जामार्फत युवालाई स्वरोजगारको बाटो देखाइएको छ ।
7 रुग्ण हजारौं आयोजनामध्ये २ सय आयोजना छनौट गरी गति दिलाउने प्रयास जारी छ । यी र यस्तै सकारात्मक पहल भइरहेका छन् ।
यी कुनै पनि सामान्य प्रयास होइनन् । यस्ता विषयले आम जनतालाई आशावादी बनाउँछन् । मुलुकको समग्र छवि सुधार गर्ने हुन्छ । तर यिनै प्रयासलाई पत्रकारिताले उचित स्थान दिन सकेको छैन । समाचार कक्षमा, टक–शोमा, सम्पादकीय पृष्ठमा यस्ता मुद्दा अझै छेउका विषयजस्ता बनाइएका छन् । अब विकास पत्रकारितामार्फत यस्ता महत्वपूर्ण विषयलाई निरन्तर उठाइरहनुपर्छ ।
निराशावादको खेती र मिडियाको भूमिका
राजनीतिक अस्थिरता, बेरोजगारी, महँगी, भ्रष्टाचार आदि समस्याको निरन्तर बहस हुनु स्वाभाविक हो । तर निरन्तर यिनै विषयलाई अत्युक्तिपूर्वक प्रस्तुत गरेर देश नै खत्तम भयो, अब केही हुँदैन्, सबै नेता चोर छन्, सबै योजना धोका हुन् भन्ने भाष्य मिडिया आफैंले बनाउने हो भने त्यो राष्ट्रघातसमेत हुन सक्छ ।
यथार्थमा नेपालले पछिल्लो दशकमा धेरै महत्वपूर्ण सुधारहरू हासिल गरेको छ । विद्युत् आपूर्तिमा उल्लेखनीय सुधार आएको छ । ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच अभूतपूर्वरूपमा बढेको छ । शिक्षा र स्वास्थ्यमा आधारभूत पहुँच सुदृढ भएको छ । जनताले धेरै समस्याका बीच पनि केही परिवर्तनको अनुभूति गर्न थालेका छन् । अब मिडियाले यिनै अनुभूतिलाई सशक्त बनाउनेतर्फ लाग्नुपर्छ ।
तथ्यमा आधारित प्रश्न, दिगो बहस
विकासमूलक पत्रकारिता भनेको सरकारको हरेक कामको गुणगान गाउनु भन्ने होइन । बरु योजनाको प्रभावकारिता, पारदर्शिता, कार्यान्वयनको गति र जनताको वास्तविक अनुभवको गहिरो रिपोर्टिङ गर्नु हो । सरकारको आलोचना गरिनुपर्छ तर तथ्यमा आधारित ढंगले । यसो गर्दा मात्र सरकार पनि जिम्मेवार बन्न बाध्य हुन्छ ।
आजको सन्दर्भमा पत्रकारिता तीनवटा खतरनाक प्रवृत्तिबाट गुज्रिरहेको छ । एक– निरन्तर नकारात्मकता प्रसार गरेर जनतालाई निराश बनाउने प्रवृत्ति, दुई– स्वार्थ समूहको एजेन्डा बोकेर खबर बनाउने प्रयास र तीन– सामाजिक सञ्जालको हाइपमा चढेर ‘सेन्सेसनलिज्म’ गर्नु । यी तीनवटै प्रवृत्ति विकास पत्रकारिताको मूल भावना विपरीत छन् ।
संघीयता र मिडियाको पुनः जिम्मेवारी
संघीय संरचनाअनुसार देशमा ७७ वटा जिल्ला, ७ प्रदेश र ७५३ स्थानीय तहका सरकारहरू सक्रिय छन् । तिनका आफ्नै योजना, चुनौती र उपलब्धि छन् । तर राष्ट्रिय मिडियाको नजर अझै पनि राजधानी केन्द्रित छ । विकास पत्रकारिता भनेको स्थानीय तहको विकास प्रयास, सफल नीतिको अध्ययन, असफलताको समीक्षा र अनुकरणीय अभ्यासको प्रसार गर्ने काम हो । स्थानीयस्तरमै स्वास्थ्यमा सुधार ल्याउने योजना, शिक्षा गुणस्तरीय बनाउन गरिएका पहल र घरेलु रोजगारीका प्रयासजस्ता सानातिना कुराहरू समेटेर सम्पूर्ण राष्ट्रका लागि पाठ बन्न सक्ने सामग्री बनाउनु पत्रकारिताको धर्म हो ।
जागरण, शिक्षा र दिगो रुपान्तरण
विकास पत्रकारिता केवल समाचारको शैली मात्र होइन, यो राष्ट्र निर्माणको अभियान हो । जनतालाई सूचित गर्नु, उनीहरूलाई सरोकारका विषयमा जागरुक बनाउनु, उनीहरूको सहभागिता सुनिश्चित गर्न सक्ने वैचारिक आधार तयार गर्नु यसको गहिरो उद्देश्य हो ।
अब नेपाली मिडियाले आत्मसमीक्षा गर्नुपर्छ– के हामी केवल आलोचकका रूपमा सीमित हुने हो ? कि सुधारको सारथी बन्ने हो ? के हामी हरेक दिन जनतालाई निराश बनाउने मात्रै हो ? कि आशाको किरण पनि देखाउने हो ? उत्तर स्पष्ट छ– अब पत्रकारिता मुलुक विकासको पथप्रदर्शक बन्नुपर्छ र निराशा चिर्ने उत्प्रेरक ।
नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र अब स्थायीतर्फ उन्मुख हुँदै छ । यो संरचना नै मिडियाको स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र खोज पत्रकारिताको मेरुदण्ड हो । यस्तै संरचनामा सशक्त प्रेस हुर्कन्छ, नागरिक सशक्त हुन्छन् र देश समृद्ध बन्छ । अबको आवश्यकता नारा, भीड र विखण्डन होइन, दिगो विकास, सबल राज्य र आशावादी समाज हो । यसका लागि अबको पत्रकारिताको मुख्य बाटो नै विकासमूलक पत्रकारिता हो । पत्रकारहरूले अब कलम उठाउनुपर्छ तर केवल विरोधका लागि भने होइन । खोज, तथ्य, सन्तुलन र समाधानको प्रस्तावसहित कलम उठाउनुपर्छ । अनि मात्र पत्रकारिता लोकतन्त्रको चौथो अंग मात्र होइन कि राष्ट्र विकासको मेरुदण्ड बन्न सक्छ ।











प्रतिक्रिया