काठमाडौं ।
राजधानीमा भदौ ३ गतेदेखि ८ गतेसम्म आयोजित नाडा अटो शो २०२५ मा करिब ४६ सय सवारीसाधन बुकिङ भएको आयोजकको दाबी छ । आइतबार सम्पन्न शोमा विभिन्न ब्रान्डका ४ हजार ५८२ वटा सवारी साधान बुकिङ भएका छन्। यसमध्ये सबैभन्दा बीवाईडी १ हजार ४ सय वटा गाडी बुकिङ भएको छ ।
त्यस्तै, नामी ब्रान्डका ८१२ वटा गाडी, टाटाका विभिन्न मोडलका ८ सय, दिपालका ६०७ र सेरेसका १०३ वटा गाडी बुकिङ भएका छन् । त्यस्तै, जीलीका १८७, जिनपेङका १०२, स्काइवेलका १३१ र एक्सपेङका ७० वटा गाडी बुकिङ भएको छ ।
नाडा अटो शोमा दुई पाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्डका १६० र हिरोका ६० वटा बुकिङ भएको छ भने अन्य ब्रान्डका १५० वटा सवारीसाधन बुकिङ भएको आयोजकले जनाएको छ ।
यसपटकको १७ औं नाडा शो छ दिनसम्म चलेको थियो । जसमा करिब १ लाख ६० हजार अवलोकनकर्ता उपस्थित भएको दाबी गरिएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा १९ वटा चारपाङ्ग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी ब्रान्ड, ४ वटा दुईपाङ्ग्रे सवारी ब्रान्ड र ३५ वटा अटो पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा वित्तीय सेवा प्रदायक गरी १ सय २५ भन्दा बढी कम्पनी सहभागी थिए ।
साथै आठ वाणिज्य बैंकहरूबीच आकर्षक अटो लोन योजनामा प्रतिस्पर्धा देखिएको थियो । सहभागी बैंकहरूले ग्राहकलाई न्यूनतम ६ दशमलव २३ प्रतिशतदेखि ८ दशमलव १५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेका छन् । साथै विद्युतीय सवारी साधनप्रति ग्राहकको आकर्षण देखिएको थियो ।











प्रतिक्रिया