अर्थ मन्त्रालयमा फेरि ठूलो सरुवा, ९० अधिकृतको जिम्मेवारी हेरफेर


काठमाडौँ ।

अर्थ मन्त्रालयले ९० जना शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशनमा भएको यो हेरफेर केही दिनअघि मात्र उच्च पदस्थ ८० कर्मचारीको सरुवापछि गरिएको हो।

रसुवागढी भन्सारका रवीन्द्र प्याकुरेललाई आन्तरिक विभागमा तानिएको छ भने ठूला करदाता कार्यालय, ललितपुरका निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ।

यसअघि वीरगन्ज भन्सार प्रमुख राजेन्द्र ढुङ्गानालाई मन्त्रालय तानेर काजीबाबु कोइरालालाई पठाइएको थियो। भन्सार विभागमा एक वर्षमै चार महानिर्देशक फेरिएका छन्। हालै महेश भट्टराईलाई हटाएर श्याम भण्डारीलाई महानिर्देशक बनाइएको छ।

अन्य सरुवामा जनकराज शर्मा, रमेश अर्याल, भरतमणि पाण्डे, टंकनाथ लम्साल लगायतका अधिकृतको जिम्मेवारी परिवर्तन गरिएको छ। लगातारको सरुवाले बजेट कार्यान्वयन प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।