लघुवित्तले २५ प्रतिशतसम्म लाभांश बाड्न पाउने


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई पूँजीकोष र निष्क्रिय कर्जा अनुपातका आधारमा अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने व्यवस्था गरेको छ। यसअघि १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा अतिरिक्त रकम साधारण जगेडा कोषमा राख्नुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशन, २०८१ मार्फत लाभांशसम्बन्धी नयाँ प्रावधान ल्याएको हो। नयाँ व्यवस्थाअनुसार लघुवित्तले अब लाभांश वितरण गर्दा आफ्नो खराब कर्जा (निष्क्रिय कर्जा अनुपात) र वितरणपछिको पूँजीकोष अनुपातलाई मुख्य आधार मान्नुपर्नेछ।

नयाँ प्रावधानमा पूँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि र निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका लघुवित्तले २५ प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् ।

पूँजीकोष १०–१२ प्रतिशत र निष्क्रिय कर्जा ५प्रतिशतभन्दा कम हुने लघुवित्तले २० प्रतिशत लाभांश दिन सक्नेछन्।
त्यस्तै पूँजीकोष ८–१० प्रतिशत र निष्क्रिय कर्जा ५प्रतिशतभन्दा कम हुने लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् । निष्क्रिय कर्जा ५–१० प्रतिशतबीच हुने अवस्थामा पूँजीकोष अनुपातअनुसार अधिकतम २० प्रतिशत सम्म मात्र लाभांश दिन सक्नेछन् ।