सहुलियतपूर्ण कर्जा ७८ अर्ब, कृषिमा मात्रै साढे ५७ अर्ब


काठमाडौं ।

सहुलियतपूर्ण कर्जा ७८ अर्ब ६६ करोड रुपियाँभन्दा बढी पुगेको र सो कर्जा ९४ हजार ९२० जना ऋणीले उपयोग गरिरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा छ ।

सहुलियत कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा कृषि र महिला उद्यमशीलतामा गएको छ । कृषि तथा पशुपंक्षी व्यवसायका लागि ३५ हजार ८६१ जनाले ५७ अर्ब ५५ करोड रुपियाँ कर्जा लिएका छन् भने महिला उद्यमशीलताका लागि ५७ हजार ६३६ जनालाई २० अर्ब ९ करोड रुपियाँ कर्जा प्रवाह भएको छ । अन्य शीर्षकमा १ हजार ४२३ जनाले १ अर्ब २ करोड रुपियाँ ऋण लिएका छन् ।
यसैबीच, निजी क्षेत्रलाई दिइने कर्जा गत आवमा ८.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वृद्धि २.६ प्रतिशत बिन्दुले बढी हो । सो अवधिमा कुल ४ खर्ब २३ अर्ब ७३ करोड रुपियाँ कर्जा प्रवाह भएको छ, जसको ६२.८ प्रतिशत कम्पनी तथा संस्थाले र ३७.२ प्रतिशत व्यक्तिगत तथा घरपरिवारले लिएका छन्।

क्षेत्रगत रूपमा यातायात, सञ्चार तथा सार्वजनिक सेवामा १५.५ प्रतिशत, सेवा उद्योगमा १२.८ प्रतिशत र औद्योगिक उत्पादनमा ७.९ प्रतिशतले कर्जा वृद्धि भएको छ। थोक तथा खुद्रा व्यापारमा ३.४ प्रतिशतले कर्जा बढेको भए पनि कृषि क्षेत्रमा भने ०.२ प्रतिशतले कर्जा घटेको प्रतिवेदनमा उल्लेख छ। शेयर बजारतर्फ लगानीकर्ताको आकर्षण बढेसँगै मार्जिन कर्जा उल्लेख्य वृद्धि भएको छ।

गत आवमा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ४० अर्ब ७७ करोड रुपैयाँभन्दा बढी शेयर धितो कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५६.२ प्रतिशत बढी हो। वाणिज्य बैंकहरूले १ खर्ब १६ अर्ब ८० करोड, विकास बैंकहरूले १९ अर्ब ५४ करोड र फाइनान्स कम्पनीहरूले ४ अर्ब ३५ करोड रुपैयाँ शेयर धितो कर्जा दिएका छन् ।

पछिल्लो समय ठूला शेयर धितो कर्जा लिनेहरूको संख्या तीव्र गतिमा बढेको छ। एक करोडभन्दा माथिको कर्जा लिनेहरू ७६.९ प्रतिशतले बढेका छन्। यसका कारण बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति मजबुत भएको अनुमान गरिएको छ। तर, कर्जा बढे पनि यसको प्रत्यक्ष प्रभाव बजारमा खासै देखिएको छैन । हाल शेयर धितो कर्जाको औसत ब्याजदर ७.८६ प्रतिशतमा झरेको छ, जसले लगानीकर्तालाई बजारतर्फ आकर्षित गरिरहेको राष्ट्र बैंकले जनाएको छ ।