काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१|८२ को वार्षिक प्रतिवेदनले अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरूमा उल्लेखनीय सुधार देखाएको छ ।
प्रतिवेदनअनुसार सो वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको ३.६७ प्रतिशतभन्दा उच्च हो । त्यस्तै, वार्षिक औसत मुद्रास्फीति पनि घट्दै ४.०६ प्रतिशतमा झरेको छ । अघिल्लो आवमा मुद्रास्फीति ५.४४ प्रतिशत थियो ।
गत वर्ष कृषि क्षेत्र ३.२८ प्रतिशत, उद्योग ४.५३ प्रतिशत र सेवा क्षेत्र ४.२१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योगको १२.८३ प्रतिशत र सेवाको ६२ प्रतिशत रहेको छ।
गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपियाँले बचतमा रह्यो। अघिल्लो वर्ष यो ५ खर्ब २ अर्ब ४९ करोड रुपियाँले बचतमा मात्र थियो । चालु खातासमेत ४ खर्ब ९ अर्ब २० करोडले बचतमा पुगेको छ ।
त्यस्तै आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढ्दा बाह्य व्यापारमा सुधार देखिएको छ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेका थिए।
विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढ्दै १७ खर्ब २३ अर्ब २७ करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरको आधारमा १६.३ प्रतिशतले वृद्धि भएको छ । असार महिनामा मात्रै एक खर्ब ८९ अर्ब ११ करोड रुपियाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.२ प्रतिशतले वृद्धि हो । यो सञ्चिति १९ अर्ब ५० करोड अमेरिकी डलर बराबर छ, जसले १५.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसैगरी विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशतले वृद्धि भई ७२ खर्ब ६४ अर्ब रुपियाँ पुगेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेर ५४ खर्ब ९८ अर्बमा पुगेको छ । सरकारी ढुकुटीमा पनि वृद्धि भएको छ । असार मसान्तमा केन्द्र, प्रदेश र स्थानीय तहको खातामा जम्मा १ खर्ब ३० अर्ब ७३ करोड रुपियाँ मौज्दात रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६ अर्ब ७७ करोड बढी हो ।











प्रतिक्रिया