नेपाल बंगलादेशसँग पराजित


काठमाडौं ।

साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको छ । भुटानको थिम्पुमा जारी यस प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि नेपाल भारतसँग ७–० ले पराजित भएको थियो । अधिल्लो खेलमा भने नेपालले भुटानलाई हराएको थियो ।

दुई पटकको विजेता बंगलादेशले पहिलो हाफमै २–० को अग्रता बनाई नेपालमाथि दबाब सिर्जना गरेको थियो । त्यसो त नेपालकी गोलकीपर लक्ष्मी ओलीले विपक्षीबाट भएका खतरनाक प्रहारलाई बचाउँदैं ४० मिनेटसम्म गोलरहित बराबरीमा राखेकी थिइन् ।

४१ औं मिनेटमा बक्सभित्रबाट थिनयुन मार्माले गोल गरिन् । त्यसपछि ४५ औं मिनेटमा नेपाली गोलकीपर डिबक्सभन्दा बाहिर आउँदा सौरवी अकान्डा प्रितीले गोल गर्न सफल भइन् । यस गोलसँगैं बंगलादेशले पहिलो हाफमा २–० को अग्रता बनायो । बंगलादेशले दोस्रो हाफको अन्त्यतिर एक गोल गरेको थियो । यसअघि बंगलादेशले भुटानलाई ३–१ ले हराउँदा भारतसँग २–० को हार आत्मसात गरेको थियो ।