दक्षिण अफ्रिकाको नाममा ठूलो हार


लन्डन । (एजेन्सी)

दक्षिण अफ्रिकाले उनीहरूको एकदिवसीय अन्तर्राष्ट्रिय (वानडे) क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो हार बेहोरेको छ ।
आइतबार अस्टेलियाविरुद्धको वानडे सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिका २ सय ७६ रनले हारेको हो । माकेको ग्रेट बेरियर रीफ एरेनामा खेलिएको खेलमा अस्टेलियाले २ विकेटको क्षतिमा ४ सय ३१ रन जोडेको थियो ।जवाफमा दक्षिण अफ्रिकाको टोली दबाबमै खेल्दै १ सय ५५ रनमा सीमित भएको थियो । टोलीले ५० रन जोड्दा नै ४ विकेट गुमाइसकेको अवस्था थियो । यसपछि उनीहरू रिकभर हुन सकेनन् । यद्दपि दक्षिण अफ्रिकाले अघिल्ला दुई खेल जितेर सिरिज पहिले नै हासिल गरिसकेको थियो ।

दक्षिण अफ्रिकाको योभन्दा अघि ठूलो हार भारतविरुद्ध थियो । सन् २०२३ मा इडेन गार्डेनमा भारतविरुद्ध भएको वानडे खेलमा दक्षिण अफ्रिका २ सय ४३ रनले पराजित भएको थियो । यससँगैं दक्षिण अफ्रिकी टोली वानडे क्रिकेट इतिहासमा दुई पटक २ सय भन्दा बढी रनले पराजित भयो ।

यो अस्टेलियाको वानडेमा दोस्रो ठूलो जित थियो । अस्टेलियाको सबैभन्दा ठूलो जित सन् २०२३ मा नेदरल्यान्ड्सविरुद्ध ३ सय ९ रनको जित थियो । साथै यो अस्टेलियाको वानडेमा दोस्रो ठूलो स्कोर थियो । यसअघि अस्टेलियाले सन् २००६ दक्षिण अफ्रिकाविरुद्ध नै ४ सय ३४ रन जोडेको थियो । जुन स्कोर पार गरेर दक्षिण अफ्रिकाले इतिहास रचेको थियो । तर, यसपटक भने अस्टेलियाले दक्षिण अफ्रिकालाई १९ वर्षअघिको ऐतिहासिक क्षणलाई दोहो¥याउन दिएन ।

अस्टेलियाका तीन ब्याटरको शतक

अस्टेलियाका लागि ओपनर ट्राभिस हेड र मिचेल मार्शले पहिलो विकेटका लागि २ सय ५० रनको साझेदारी गरेका थिए । हेडले १ सय ४३ रन बनाउँदा मार्शले १ सय रन जोडे । तेस्रो नम्बरमा ब्याटिङ गरेका क्यामरुन ग्रीनले मात्र ४७ बलमा शतक बनाए । यो वानडे क्रिकेटमा अस्टे«लियाको तर्फबाट दोस्रो छिटो शतकसमेत हो । ५५ बल खेलेका उनी १ सय १८ रनमा नटआउट रहे ।

कोनोलीले ५ विकेट लिए

कूपर कोनोलीले घातक बलिङ गरेर दक्षिण अफ्रिकाको ब्याटिङ धरासयी बनायो । अस्टे«लियाका स्पिनर कोनोलीले मात्र २२ रन खर्चेर ५ विकेट लिएका थिए । दक्षिण अफ्रिकाको तर्फबाट सर्वाधिक रन डेभाल्ड ब्रेभिसले बनाए । उनले २८ बलमा ४९ रन बनाएका थिए ।