बौद्ध सिद्धाचार्य लिलाबज्र बज्राचार्यको प्रतिमा अनावरण


काठमाडौं
काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो विहार श्रीखण्ड तरुमुल महाविहार परिसरमा काष्ठमण्डपको निर्माणमा विशेष योगदान दिएका प्रख्यात बौद्ध सिद्धाचार्य लिलाबज्र बज्राचार्यको प्रतिमा अनावरण गरिएको छ ।
बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्वको अन्तिम दिन पारेर आइतबार कुमारी घरसंगै रहेको यस महाविहारमा सातौं शताब्दीका बौद्ध सिद्धाचार्य लिलाबज्रको प्रतिमा अनावरण गरिएको हो । उक्त प्रतिमा मूर्तिकार महेश तुलाधरले बनाएका हुन् ।


काष्ठमण्डप बनाएर बचेको रूखका काठबाट सिंह सतल बनाएपछि बाँकी रहेको काठको टुक्राटाक्री र जराबाट बनाइएकोले सिखंमू बहाः को नामले पनि चिनिने यो महाविहार उनै लिलाबज्रको वासस्थान रहेको श्रीखण्ड तरुमुल महाविहारको संरक्षण तथा सञ्चालन समितिको अध्यक्षमा ई. दिल्लीरत्न शाक्यले बताउनुभयो ।


प्रतिमा अनावरण कार्यक्रममा काठमाडौंकी उपमेयर सुनिता डंगोलले आफ्नो संस्कृति र मौलिकतालाई जोगाउँदै पुस्तान्तरण गर्नुपर्ने आवश्यक्ता औंल्याइन् । त्यसैगरी वागमति प्रदेशका पूर्वमन्त्री एवं सांसद शैलेन्द्रमान बज्राचार्यले बौद्ध सिद्धाचार्य लिलाबज्रले बुद्ध धर्ममा दिएको योगदानबारे अन्तर्राष्ट्रिय रुपमै चर्चापरिचर्चा गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा यस पटकको एसईई परीक्षामा उतीर्ण हुने महाविहारका कूलपुत्र एवं कूलपुत्रीहरुलाई सम्मान पनि गरिएको थियो ।