वीरगञ्ज।
वीरगञ्जमा हैंजाको प्रकोप देखिएको छ । वीरगञ्ज महानगरमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको हो । यसैका कारण विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ ।
दुई दिनयता वीरगजको सहरी वडाहरूमा झाडापखालासँगै हैंजाका बिरामीको संख्या निरन्तर बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथाममा जुटेको वीरगञ्ज महानगरपालिकाले भदौ ८ र ९ गते दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको हो । हैजाको संक्रमणलाई मध्यनजर गर्दै भदौ ८ र ९ गते दुई दिनका लागि वीरगञ्ज महानगरकाअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गरी जानकारी दिएको छ ।
महानगर क्षेत्रभित्र हालका लागि पानीपुरी, चाट, चटपटे (भाजा) आदिको बिक्री–वितरणमा पनि रोक लगाइएको छ । खुला रूपमा बिक्री–वितरण हँुदै आएका यस्ता खाद्यपदार्थमा प्रयोग हुने पानी दूषित भई हैजाका जीवाणु मिसिने सम्भावना भएकाले ती खाद्यपदार्थ बिक्री–वितरणमा रोक लगाइएको हो ।
वीरगञ्ज महानगरपालिकामा शनिवार बिहान मेयर राजेशमान सिंहले वीरगञ्जका अस्पतालहरूका प्रतिनिधिहरूसँग गरेको आकस्मिक बैठकले हैजाको रोकथाम र नियन्त्रणका लागि स्थानीय स्तरमा सचेतना फैलाउन र तत्काल रेस्पोन्स गर्नका लागि स्वास्थ्यकर्मीहरूको २५ वटा टोली गठन गरेर परिचालन गर्ने निर्णय पनि गरेको छ । यसका साथै हेल्प डेस्क र सूचना केन्द्र स्थापना गर्ने निर्णय पनि गरिएको जानकारी दिइएको छ ।
बैकठमा मेयर सिंहले झाडापखाला वा हैजाका बिरामीको उपचारमा गम्भीरताका साथ लाग्न अस्पतालहरूलाई निर्देशन दिनुभएको थियो । अस्पतालका प्रतिनिधिहरूसँगको आकस्मिक बैठकअघि शनिवार बिहान नै मेयर सिंहले महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्यकर्मीहरूसँग पनि छुट्टै बैठक गर्नुभएको थियो । उक्त बैठकमा मेयर सिंहले झाडापखाला र हैजाको संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा खटिएर काम गर्न निर्देशन दिएको उहाँको सचिवालयले जनाएको छ । आकस्मिक अवस्था व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, औषधि, एम्बुलेन्स तथा अन्य सवारीसाधन पनि स्ट्यान्डबाइमा राखिएको छ ।
अहिले वीरगञ्ज महानगरको १ देखि १६ नम्बर वडा हैजाको बढी जोखिमयुक्त क्षेत्र मानिएको छ । शुक्रवारदेखि शनिवारसम्मको प्राप्त रिपोर्टअनुसार १७ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको महानगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत सुमनचन्द्र ठाकुरले बताउनुभयो । तराई हस्पिटलमा ८, नारायणी अस्पतालमा ५, नेसनल मेडिकल कलेजमा ३ र अनि अर्थो सेन्टरमा १ गरी हालसम्म १७ जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको उहाँको कथन छ ।
हैजा पुष्टि भएका बिरामीहरू वडा नम्बर ११, १२ ,१३ र १४ का रहेको छ । वीरगञ्ज विभिन्न अस्पतालमा अहिले झाडापखाला र हैंजाका शंकास्पद बिरामी गरी २ सयभन्दा बढी उपचारत छन् ।











प्रतिक्रिया