काठमाडौँ
नेपाल पर्यटन बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागले संयुक्त रूपमा गरेको २० वर्षको तथ्यांक विश्लेषणमा ‘पर्यटक भिजिट सेल्स मिसन’ अन्य प्रवद्र्धनात्मक गतिविधिमध्ये सबैभन्दा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।
‘इम्प्याक्ट अफ टुरिज्म प्रोमोशन इन नेपाल’ शीर्षकमा भएको अन्तर्राष्ट्रिय कार्यक्रममा प्रस्तुत गरिएको सो अध्ययनअनुसार, सन् २००० पछि आयोजित करिब ४०० भन्दा बढी पर्यटन प्रवद्र्धनात्मक गतिविधि मध्ये प्रत्यक्ष अन्तरक्रियामूलक कार्यक्रम विशेष प्रभावकारी देखिएका हुन् ।
अनुसन्धानकर्ता डा. अनुवल अवाले र सुशील प्रशान्तले प्रस्तुत गरेको प्रतिवेदनमा विभिन्न सेल्स मिशनमार्फत नेपाल भ्रमण गर्ने पर्यटकको संख्या र त्यसबाट उत्पन्न आर्थिक योगदान उल्लेखनीय रूपमा वृद्धि भएको देखाइएको छ ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक जोशीले कार्यक्रममा स्वागत मन्तव्य दिँदै, तथ्यांकमा आधारित योजनाले मात्र पर्यटन क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने भएकाले यस प्रकारका अनुसन्धानलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो ।।
सोही अवसरमा त्रिवि व्यवस्थापन विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यले नेपालको पर्यटन प्रवद्र्धनका लागि वैज्ञानिक ढंगले प्राप्त तथ्याङ्क प्रयोग गरी रणनीतिक योजना बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सहभागी विज्ञहरूले पनि, नेपालको पर्यटन बजारलाई बलियो बनाउन ‘सेल्स मिसन’ जस्ता प्रत्यक्ष अन्तरक्रियामूलक पहल निरन्तरता दिनु अपरिहार्य भएको धारणा राख्नुभयो ।
यो अध्ययन २० भन्दा बढी देशमा आयोजित पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमको विवरण, प्रभाव र परिणाममा आधारित रहेकाले यसलाई ऐतिहासिक उपलब्धि मानिएको छ ।











प्रतिक्रिया