उत्तराखण्डको चमोलीमा बादल फाट्दा एक जनाको मृत्यु, एक हराए


काठमाडौं ।

भारतको उत्तराखण्ड राज्य अन्तर्गत चमोली जिल्लाको थराली क्षेत्रमा शुक्रबार राति बादल फाटेर आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। राति करिब १२:३० देखि १ बजेसम्मको बीचमा आएको बाढीले एसडीएम आवास र स्थानीय बासिन्दाका घरमा पस्दा जनधनको क्षति भएको हो।

स्थानीय अधिकारीका अनुसार बाढीपछि आएको पहिरोमा परेर एक २० वर्षीया युवतीको मृत्यु भएको छ भने एक व्यक्ति अझै हराइरहेका छन्। घटनास्थलमा एनडीआरएफ र एसडीआरएफको टोली उद्धार कार्यमा खटिएको छ।

भारी वर्षाका कारण थरालीलाई कर्णप्रयाग–ग्वालदम राष्ट्रिय राजमार्गमार्फत जोड्ने सडकसमेत अवरुद्ध भएको छ।