गाजामा भोकमरीको घोषणा, चौथाइ जनसंख्या संकटमा


काठमाडौं ।

संयुक्त राष्ट्र–समर्थित विश्व भोकमरी निगरानी संस्थाले गाजा सिटी र वरपरका क्षेत्रमा औपचारिक रूपमा भोकमरी फैलिएको जनाएको छ। हाल करिब ५ लाख १४ हजार प्यालेस्टिनीहरू भोकमरीको स्थितिमा छन्, जुन सेप्टेम्बरसम्म ६ लाख ४१ हजार पुग्ने अनुमान गरिएको छ।

२२ महिनादेखिको युद्धका कारण इजरायली आक्रमणले पूर्वाधार नष्ट गर्नु, सहायताको आपूर्ति रोक्नु र निहत्था नागरिकहरूलाई लक्षित गर्नु प्रमुख कारण भएको बताइएको छ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले यस अवस्थालाई “मानव निर्मित विपत्ति” भन्दै कडा आलोचना गरेका छन्। उनले इजरायललाई अन्तर्राष्ट्रिय कानुनअनुसार खाद्यान्न र औषधिको आपूर्ति सुनिश्चित गर्न आग्रह गरेका छन्।

यो अफ्रिका बाहिर पहिलोपटक भोकमरी औपचारिक रूपमा घोषणा भएको घटना हो।