विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई रुबेला रोग निवारण गर्न सफल मुलुकका रुपमा मान्यता दिएको घोषणा गरेको छ । यो एक ऐतिहासिक उपलब्धि हो ।
खोप अभियान र स्वास्थ्य संरचनामा विगत एक दशकभन्दा लामो समयदेखि गरिएको लगानी र निरन्तर प्रयासको फलस्वरुप नेपाल आज दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ मुलुक बन्न सफल भएको छ । रुबेला सामान्यतया ‘जर्मन दादुरा’ भनेर चिनिने रोग हो र गर्भवती महिलामा यो विशेष घातक हुन्छ । यसले गर्भपतन हुने, मृत शिशु जन्मिने वा जन्मजात अपांगताजस्ता आजीवन असर निम्त्याउने जोखिम बोकेको छ ।
तर यसलाई सुरक्षित र प्रभावकारी खोपद्वारा पूर्णरुपमा रोकथाम गर्न सकिन्छ । यही वैज्ञानिक तथ्यलाई आधार मानेर नेपालले सन् २०१२ मा खोप कार्यक्रमलाई राष्ट्रिय प्राथमिकतामा राखी सन् २०१६ मा दोस्रो मात्रासमेत नियमित तालिकामा समावेश ग¥यो र अहिले रुबेला रोग निवारणमा सफलता प्राप्त गरेको छ ।
नेपालले सन् २०२४ सम्ममा पहिलो मात्रा खोप कभरेज ९५ प्रतिशत नाघ्न सफल भएको तथ्य खुशीको विषय हो । तर पनि यो उच्च प्रतिशत सबै जिल्लामा समानरुपमा हासिल भएको छैन । भौगोलिक कठिनाइ, दुर्गम बस्तीमा स्वास्थ्यकर्मीको कमी र केही धार्मिक–सांस्कृतिक संकोचका कारण केही समुदाय अझै खोप सेवाबाट वञ्चित छन् । यदि यसलाई तत्काल सम्बोधन गरिएन भने रुबेलामुक्त अवस्थालाई दीर्घकालीनरुपमा कायम राख्न चुनौती बढ्नेछ ।
नेपालको स्वास्थ्य प्रणालीले भोगेका संकटहरु– सन् २०१५ को भूकम्प, कोभिड–१९ महामारी, बजेट सीमाबद्धता यी सबैबीच खोप अभियानलाई निरन्तरता दिनु निःसन्देह प्रशंसनीय काम हो । तर यस्तै संकटले स्पष्ट देखाएको छ कि हाम्रो स्वास्थ्य संरचना अझै कमजोर छ । नियमित खोप कार्यक्रमबाहेक प्रयोगशाला परीक्षण, रोग निगरानी प्रणाली र आपूर्ति व्यवस्थापन अझै कमजोर छ ।
यस सन्दर्भमा सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने देखिन्छ । दुर्गम, सीमान्तकृत र वञ्चित समुदायमा खोपको पहुँच अझै असमान छ । त्यसैले समान पहुँच सुनिश्चित गर्नु जरुरी छ । ‘पूर्ण खोपयुक्त स्थानीय तह’ घोषणा मात्र पर्याप्त होइन, गुणस्तरका कुरा अनिवार्य हुनुपर्छ । रुबेला निवारणको प्रमाणपत्र प्राप्त गर्नु अन्तिम लक्ष्य होइन, यो सफलतालाई दीर्घकालसम्म कायम राख्न सुदृढ निगरानी प्रणाली आवश्यक छ ।
समुदायस्तरको विश्वास र सहभागितामा महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय नेतृत्वकै कारण यो उपलब्धि सम्भव भएको हो । उनीहरुको क्षमता अभिवृद्धि र निरन्तर प्रोत्साहन अपरिहार्य छ । वैदेशिक सहयोग वा डब्लुएचओको सहयोगले ठूलो भूमिका खेले पनि दीर्घकालीन टिकाउपनका लागि नेपालले आफ्नै स्रोत–सामग्रीमा आधारित आत्मनिर्भर स्वास्थ्य प्रणालीतर्फ अघि बढ्नुपर्छ ।
यतिखेर रुबेला निवारणले नेपाललाई विश्व स्वास्थ्य क्षेत्रमा एउटा सकारात्मक उदाहरणका रुपमा उभ्याएको छ । तर यसलाई स्थायी उपलब्धि बनाउन ‘उत्सव मात्र नभई सुधारका कार्यक्रम’ पनि सँगसँगै अघि बढाउन जरुरी छ । अन्यथा, खोप कभरेज घट्ने वा निगरानी कमजोर हुनेबित्तिकै रोग पुनः देखा पर्न सक्ने सम्भावना उत्तिकै देखिन्छ । यो सफलता नेपालका स्वास्थ्यकर्मी, स्वयंसेवक र समुदायको सामूहिक प्रयासको परिणाम हो ।
तर अब प्रश्न उठ्छ– के यो उपलब्धि भविष्यमा पनि टिकाइनेछ ? यसको जवाफ सरकारको प्रतिबद्धता, स्थानीय तहको सक्रियता र समुदायमा आधारित सहकार्यमा निर्भर रहनेछ । रुबेलामुक्त नेपालको घोषणा उत्साहको समाचार हो तर यसले नेपालमा स्वास्थ्य प्रणाली अझै सबल र दिगो बनाउनुपर्ने आवश्यकता पनि झनै तीव्र बनाइदिएको छ । यतातर्फ सरकार र सरोकारवाला निकायहरुको ध्यान पुगोस् । हरेक खुशीसँगै जोडिएको भविष्य र चुनौतीलाई सरकारले बिर्सनुहुन्न ।











प्रतिक्रिया