स्याङ्जा।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाले पछिल्लो एक वर्षको अवधिमा ५ हजार पशुको कृत्रिम गर्भाधान गरेको छ । केन्द्र सहित जिल्लाका ११ वटा कृत्रिम गर्भाधान केन्द्रबाट ५ हजार पशुको कृत्रिम गर्भाधान गरेको हो । आर्थिक वर्ष २०८१-०८२ मा ३ हजार ८ सय २८ भैसी, १ हजार ४१ गाई, १ सय १६ बाख्रा र १५ बंगुर गरी ५ हजार पशुको कृत्रिम गर्भाधान गरेको विज्ञ केन्द्रले जनाएको छ । कृत्रिम गर्भाधानबाट दुग्धजन्य पशुको नश्ल सुधार र मासुजन्य उत्पादन दिने पशुहरुको उत्पादकत्व बढाउन सहज हुनेछ ।
पशुहरुमा कृत्रिम गर्भाधान गर्दा उत्पादन वृद्धि हुने, हाडनाता प्रजननबाट उत्पादकत्वमा आउने ह्रासलाई रोक्न सकिने केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार पशुबाट पशुमा सर्ने रोगबाट बचाउन सजिलो हुने र प्रजनन् प्रक्रियाका लागि भाले जातको पशु पाल्नुपर्ने झन्झटबाट कृषकहरु मुक्त हुनेछन् । जिल्लाका कृत्रिम गर्भाधान गर्ने ११ केन्द्रमध्ये भेटेरिनरी अस्पतालमा ४ सय १९, नगरपालिकातर्फ पुतलीबजारमा ४ सय ४२, वालिङ्मा ५ सय ५७, भीरकोटमा ३ सय ५१, गल्याङ्मा ७ सय ७, चापाकोटमा १ सय २६ तथा गाउँपालिकातर्फ फेदीखोलामा १ सय ७७, आँधीखोलामा १ हजार ५ सय ३७, अर्जुनचौपारीमा ५ सय ६३, हरिनाशमा १७, कालीगण्कडीमा ५७ र बिरुवामा ४७ पशुलाई कृत्रिम गर्भाधान गरिएको छ ।
त्यस्तै केन्द्रले एक वर्षको अवधिमा १ लाख ७४ हजार ८० पशुचौपायाँलाई विभिन्न किसिमका खोप लगाएको जनाएको छ । खोप कार्यक्रमलाई अभियानका रुपमा संचालन गरेको केन्द्रले झन्डै ९० हजार भेडा, बाख्रालाई पिपिआर र ६० हजार गाई भैसीलाई एफएमडी खोप लगाएको छ । यस अवधिमा केन्द्रले ३१ हजार ७ सय ३ पशुको उपचार गरेको जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार करिब १८ हजार पशुको सामान्य र १२ हजार पशुको जटिल प्रकृतिको उपचार गरिएको हो । केन्द्रका अनुसार गएकै वर्षमा ४ हजार ७ सय ५८ पशुचौपायाँको प्रयोगशालामा स्वास्थ्य परीक्षण गरिएको छ ।
केन्द्रले आर्थिक वर्ष २०८१-०८२ मा ८५ दशमलब ३४ प्रतिशत वित्तीय प्रगति हासिल गरिएको छ । चालुतर्फ ७० लाख विनियोजित बजेटमा ६६ लाख खर्च गरेको केन्द्रले पुँजीगततर्फ ४ करोड ५४ लाख कुल बजेटमा ३ करोड ८१ लाख ८५ हजार खर्च गरेको छ । चालु र पुँजीगत गरी ५ करोड २४ लाखमा ४ करोड ४७ लाख २९ हजार खर्च गरेर उक्त वित्तीय प्रगति हासिल गर्न सफल भएको केन्द्रले जनाएको छ ।











प्रतिक्रिया