अवैध प्राकृतिक श्रोत दोहन गर्नेलाई २८ लाखबढी जरिवाना

राजस्वका कर्मचारी निलम्बन

3.38k
Shares

उदयपुर । 

उदयपुरको चौदण्डीगढी नगरपालिका ४ कालीखोलामा सरकारी जग्गाबाट अवैध रुपमा गिटी बालुवा माटो उत्खनन गराउन संलग्न कर्मचारी प्रकाश वनलाई निलम्बन गरिएको छ । उनको ठूलो परिणाममा गिटी, बालु, माटो लगायतका प्राकृतिक श्रोतहरुको अवैध रुपमा दोहन गराउन संलग्ता देखिएपछि बुधबारको कार्यापालिका बैठकले उनलाई निलम्बन गरेको छ । प्राकृतिक श्रोत दोहनमा प्रयोग भएको १७ वटा ट्रक प्रहरी नियन्त्रणमा छ भने ३ थान स्काभेटर ठेकेदारले लुकाएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नं ४ का वडाध्यक्ष तथा छानबिन समितिका सदस्य लुंगराज राईले नगरपालिकाको राजस्व शाखाका कर्मचारी प्रकाश वनको संलग्नतामा अवैध उत्खनन भएको छानबिन समितिले पत्ता लगाएको र प्रतिवेदनका आधारमा नगरपालिकालाई हानी नोक्सानी गरेको पु¥याएको देखिएकोले बुधबारको कार्यसमितिको बैठकले वनलाई निलम्बन गरेर कानुनी कारबाही प्रक्रिया अघि बढाएको बताए ।

प्रदेश सरकारको आर्थिक ऐन २०८१ को अनुसूची ११ अनुसार प्रत्येक वर्षको जेठ १ गतेदेखि भदौ मसान्तम्म नदी जन्य पदार्थ उत्खननमा पूर्ण प्रतिबन्ध गरिएको छ । तर यस्तो नियम कानुनलाई चुनौती दिँदै राजस्व शाखाका कर्मचारी प्रकाश वनले आर्थिक प्रलोभनमा परेर केही रकम हात पारेर ठेकेदार कम्पनी चौदण्डीगढी ६ को सीताराम कन्स्ट्रक्सनसँगको मिलेमतोमा अवैध उत्खनन गर्न दिएको प्रतिवेदनमा समेटिएको बताइएको छ ।

नगरपालिकाको स्वीकृति विना नै सरकारी तथा व्यक्तिको जग्गाबाट ठूलो परिणाममा प्राकृतिक श्रोत दोहन गरेको भन्दै केही दिन अघि स्थानीयले बिरोध जनाएका थिए । यस विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि छलफल समेत भएको थियो । छलफलले छानबिन समिति गठन गरेर के कति प्राकृतिक श्रोत दोहन गरेको हो सो अनुसार कानुनी प्रक्रियामा गएर आवश्यक कारबाही गर्ने निर्णय भएको थियो ।

बुधबार बिहान बसेको चौदण्डगिढी नगरपालिकाको कार्यपालिका बैठकमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरिएको जानकारी दिँदै छानबिन समितिका संयोजक नगरपालिकाका प्रवक्ता तथा ९ नं वडाका अध्यक्ष प्रकाश राउतले बुधबार बिहान कार्यपालिकाको बैठक बसेको थियो । प्रतिवेदनले दिएको सुझावहरूका आधारमा १७ वटा ट्रकलाई १७ लाख जरिवाना, र प्राकृतिक श्रोत दोहन गरेकोमा बिगो बराबर नै जरिवाना समेत गरेर २८ लाख १० हजार १५४ रुपैयाँ जरिवाना गर्ने निर्णय भएको बताए ।

चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले प्राकृतिक श्रोत दोहनमा प्रयोग भएका तर हराएको भनिएको ३ थान स्काभेटर खोजी गर्न प्रहरीसँग पत्राचार भएको जानकारी दिँदै अवैध गिटी, बालुवा, माटो बोक्न प्रयोग भएका १७ थान डमट्रक पक्राउ गरी इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको बताए ।

लुकाइएको स्काभेटरका बारेमा प्रहरीलाई खोजी गर्न भनिएकोले फेला परेपछि आवश्यक छलफल गरेर कानुनी कार्वाहीका बारेमा निर्णय लिइने प्रमुख प्रशासकीय अधिकृत रार्यले बताए । 

प्रमुख प्रशासकीय अधिकृत राईले सरकारी व्यक्तिको जग्गाबाट उत्खनन गरिएको र जगाधनीले ३ य ५० टिफर गिटी बालुवा माटो लगेको आफूलाई जानकारी दिएको र ठेकेदारले ४२सय घनमिटर लगेको भन्ने बुझिएको छ । तर नगरपालिकाका प्राविधिक जो छानबिन समितिमा रहेको थिए यनका अनुसार १९, ८९०.६७५ घनमिटर प्राकृतिक श्रोत चोरी निकासी गरी लगेको बताए ।

अवैध उत्खनन ओसार्ने १७ वटा टिफर बानियाँ  विल्डर्सका सञ्चालक सुसन बानियाँको रहेको र उनले चौदण्डीगढी ६ को सिताराम कन्सट्रक्सनका सञ्चालक तेजनारायण साहलाई भाडामा दिएको बुझिएको छ । सो टिफर भाडामा प्रयोग गर्ने सिताराम कन्स्ट्रक्सनलाई प्रदेश आर्थिक ऐन २०८२ को अनुसूची १४ बमोजिम राजस्व सहित जरिवाना गर्ने सिफारिस भएको छ । नगरपालिकाको स्वीकृति विना अवैध प्राकृतिक श्रोत दोहन गरेकोमा प्रति घनमिटर  २ का दरले हुन आउने बिगो र सोही बराबरको जरिवाना समेत गरी २८ लाख १० हजार १५४ रुपैयाँ र १७ वटा टिफरको प्रति टिफर १ लाखका दरले १७ लाख जरिवाना गर्ने छानबिन समितिले कार्यपालिका  बैठकमा नगरपालिका समक्ष सिफारिस गरेको छानबिन समितिका अध्यक्ष तथा ९ नं वडाध्यक्ष  राउतले बताए । 

प्राविधिक प्रैतिवेदन अनुसार १४ लाख ५ हजार ७७ रुपैयाँ बराबरको प्राकृतिक श्रोत अवैध रुपमा दोहन गरेकोले बिगो बराबर नै जरिवाना समेत हुने हुँदा जम्मा २८ लाख १० हजार १सय ५४ रुपैयाँ अवैध रुपमा प्राकृतिक श्रोत दोहन गर्ने सिताराम कनस्ट्रक्सनलाई जरिवाना गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

चौदण्डीगढी ४ बाट अवैध रुपमा उत्खनन गरेर लगिएको गिटी, बालुवा, माटो पूर्व पश्चिम लोकमार्गको कमला कंचनपुर खण्डमा चाइना रेल्वे नंं २ इन्जिनियरिङ कम्पनी कन्स्ट्रक्सनले ठेक्का पाएको ६ लेन सडक निर्माणमा सीताराम कन्स्ट्रक्सनका सञ्चालक तेजनारायण साहर्को  माध्यमबाट प्रयोग भएको बताइएको छ । 

यस अवैध उत्खननमा चौदण्डीगढी नपाका मेयर कालुमान लामाको , उनकाभाइ विपिन तामाङ, ४ नं वडाका वडाध्यक्ष लुंगराज राई, अर्का व्यवसायी अमर खवास लगायतकाको संलग्नता रहेको स्थानीयले र विभिन्न संचार माध्यमहरुले आरोप लगाएका छन ।यस विषयमा मेयर कालुमान लामासँग सम्पर्क गर्दा फोन उठेन भने ४ नं वडाध्यक्ष लुंगराज राईले विना प्रमाणको  आरोप लगाउने गरेको र आफू जनप्रतिनिधि भएकोले कानुन सम्मत काम बाहेकका काममा संलग्नता नभएको बताए ।