एमाले दोलखा भन्छ- पूर्वराष्ट्रपतिलाई रोकौँ

4.32k
Shares

दोलखा।

नेकपा एमाले दोलखाले पार्टीको विधानमा उमेरको हद र कार्यकाल सम्बन्धी प्रावधानमा बन्देज लगाउन नहुने निर्णय गरेको छ । पार्टीको प्रस्तावित विधान मस्यौदामा राखिएको उमेर हद र कार्यकाल सम्बन्धी प्रावधानमा बन्देज लगाउन नहुने विषय उपयुक्त रहेको निष्कर्ष नेकपा एमाले दोलखा जिल्ला कमिटीको सातौँ बैठकले निकालेको अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।

यो निष्कर्ष पार्टीको टोल, वडा तथा पालिका कमिटीहरुको सुझावको आधारमा सर्वसम्मत रुपमा गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । बैठकले  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउन नहुने पार्टी केन्द्रको निर्णयलाई समेत समर्थन गरेको अध्यक्ष श्रेष्ठको भनाई छ । दोलखा एमालेको मत पूर्व राष्ट्रपतिलाई दलगत राजनीतिमा आउनबाट रोक्नुपर्ने नै रहेको अध्यक्ष श्रेष्ठले बताए ।

नेकपा एमाले दोलखा जिल्ला कमिटी सचिवालयको २०८२ असार ७ गतेको बैठकले विधानमा उमेर तथा कार्यकालको सीमा लगाइनु नहुने र सम्माननीय पूर्व राष्ट्रपति पुनः दल विशेष राजनीतिमा फर्कन नहुने सर्वसम्मत निर्णय गरी केन्द्रलाई सुझाव पठाएको अध्यक्ष श्रेष्ठको भनाई छ । सोही अनुसार पार्टी केन्द्रले हाम्रो निर्णयलाई सम्बोधन गरेकोले सातौँ जिल्ला कमिटी बैठकले धन्यवाद दिने निर्णय समेत गरेको छ– अध्यक्ष श्रेष्ठले भने ।

 बैठकमा सहभागी नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज पार्वत गुरुङ अहिलेको परिस्थितिमा नेकपा एमालेको नेतृत्वको लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प छैन भन्ने कुरा दोलखा एमालेले देशभरीमै पहिलो पटक कमिटीगत रुपमा निर्णय गरेको बताउँछन् । 

उमेर हद र कार्यकालको सीमा लगाउन नहुने तथा पूर्व राष्ट्रपतिलाई दलगत राजनीतिमा आउन रोक्ने कुरा ठिक भएको एमाले दोलखाको निर्णय स्वागत योग्य र दूरदर्शी रहेको पोलिटब्युरो सदस्य गुरुङले बताए । 

एमाले दोलखा जिल्ला कमिटीको सातौँ बैठकले पार्टीको जिल्ला कमिटीहरुलाई समन्वयकारी नभै कार्यकारीनै बनाउनु पर्ने, ३३ प्रतिशत महिला र युवाहरुको प्रतिनिधित्व हुने गरी पार्टी कमिटीहरुलाई समावेशी बनाउनु पर्ने, पार्टी सदस्यहरुलाई उत्पादनसँग जोड्ने कुरा विधानमै समावेश गरिनु पर्ने लगायतका निर्णय गरेको एमाले दोलखाका उप सचिव एवम् प्रचार विभाग प्रमुख हरि ओलीले बताए । बैठकले जिल्ला कमिटीमा रिक्त दुई सदस्यमा गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष उमा लुङ्गेली मगर र राजेश श्रेष्ठलाई मनोनयन गर्ने निर्णय समेत गरेको ओलीले बताए ।

एमाले दोलखाले पार्टी केन्द्रले पठाएको विधान मसौदामा सुझाव दिन टोल, वडा तथा पालिका कमिटीहरुमा तालिका बनाएरै छलफल चलाएको थियो ।