काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अटोमोबाइल व्यवसायी वा निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा सुरु भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित १७औँ संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले निजी क्षेत्र तथा अटो क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ नभएको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले मौद्रिक नीतिदेखि वित्त नीति पनि निकै व्यवहारिक र व्यवसायीमैत्री बनेको दाबी गर्दै सरकारले स्टार्टअप, इनोभेसन र उत्पादनलाई सधैं प्रोत्साहन गरेको बताउनुभयो । उहाँले सडकलगायत पूर्वाधार विकासमा प्राथमिकताका साथ काम भइरहेको समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थासहित पूर्वाधार विकासमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै निजी क्षेत्रले लगानी र व्यवसाय गर्न कुनै अवरोध नहुने आश्वासन दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्डर भइसकेका युरो–६ भन्दा तलका गाडी एकपटकका लागि आयात गर्न दिन सरकारसँग आग्रह गर्नुभयो ।
उहाँले युरो–६ मापदण्ड सकारात्मक भए पनि तत्कालै कार्यान्वयन गर्दा केही समस्या आउन सक्ने भन्दै अस्थायी सुविधा दिनुपर्ने धारणा राख्नुभयो ।
ढकालले नाडा अटो शोले नेपालको अर्थतन्त्रमा योगदानको दिएको भन्दै यस्ता प्रदर्शनीहरूले बजार र ग्राहकलाई नजिक ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
अध्यक्ष ढकालले पछिल्लो दुई वर्षयता चुनौतीपूर्ण आर्थिक अवस्था भए पनि अहिले बजारमा सुधारका संकेत देखिएको भन्दै सवारी साधनको बिक्री करिब ४० प्रतिशतले वृद्धि भएको, कर्जा प्रवाह ८.७ प्रतिशतले बढेको छ, बैंकहरूको नाफा बढ्दो अवस्थामा रहेकाले बजारमा विश्वास बढेको बताउनुभयो ।
भृकुटीमण्डपमा सुरुमा टेस्ला, टाटा, सुजुकी, हार्ले डेविड्सनलगायत १२५ भन्दा बढी ब्रान्डका सवारीसाधन, पाट्र्स, उपकरण र वित्तीय सेवाहरू प्रदर्शनीमा राखिएका छन्।
यसअघि केही हप्तामै सम्पन्न भएको नाइमा मोबिलिटी एक्स्पो पछि आयोजना गरिएको यस शोले नेपालमा तीव्र गतिमा विकसित भइरहेको अटोमोबाइल प्रविधिलाई प्रस्तुत गर्ने उद्देश्य लिएको आयोजकहरूको भनाइ छ।











प्रतिक्रिया