दोलखा।
दोलखा जिल्लामा आर्थिक वर्ष ०८२-०८३ मा प्रदेश अन्तर्गतका झन्डै ३० किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिने पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले बताएका छन् ।
पूर्वाधार विकास कार्यालय दोलखाले आर्थिक वर्ष ०८२-०८३ मा शहरी तथा स्थानीय सडक र पुल गरी एक सय ८२ वटा योजना सञ्चालन गर्ने र त्यसमा झन्डै ३० किलोमिटर सडक कालोपत्रे तथा ढलान हुने कार्यालय प्रमुख ओझाले बताए ।
पूर्वाधार विकास कार्यालय दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ३३ वटा, जिरी नगरपालिकामा २५ वटा, मेलुङ गाउँपालिकामा २४ वटा, बैतेश्वर गाउँपालिकामा २३ वटा, तामाकोशी गाउँपालिकामा २१ वटा, गौरीशङ्कर गाउँपालिकामा १८ वटा, शैलुङ गाउँपालिकामा १५ वटा, कालिन्चोक गाउँपालिकामा १४ वटा र विगु गाउँपालिकामा आठ वटा योजना सञ्चालन गर्ने कार्यालय प्रमुख ओझाको भनाई छ ।
उल्लेखित योजनाहरु मध्य नौ करोड लागतको मुडे– मेलुङ– सितली सडक, नौ करोड लागतको भीरकोट– झुले– छौडे सडक, छ करोड ३० लाखको ढोली खोला– सहरे– हावा– सिक्रि जिरी सडक, चार करोड ५० लाखको सिंगटी सोरुङ खोला– खोपाचाँगु– विगु सडक, चार करोड ५० लाखको बालगृह– माघादेउराली सडकको बाँकी खण्ड, चार करोड ५० लाखको गोपी– गैरीमुदी– पुतलिकाठ– मिर्गे– बगर डाँडागाँउ– क्षेत्रपा सडक, चार करोड ५० लाखको नाम्दु– क्षेत्रपा– जुँगु सडक, चार करोड ५० लाखको पिखुती– झ्याँकु– लेखर्क– चेर्दुङ सडक, चार करोड ४५ लाखको मुडे– मेलु– सितली सडक, चार करोड पाँच लाखको मुडे– बाघखोर– कालापानी सडक र चार करोड पाँच लाखको सिंगटी– लादुक– बुलुङ– लामाबगर सडक मुख्य रुपमा रहेको कार्यालय प्रमुख ओझाले बताए ।
पूर्वाधार विकास कार्यालय दोलखाले सञ्चालन गर्ने योजनाहरुमा बहुवर्षीय योजनाहरु मध्य नौ वटा सडक र दुई वटा पक्की पुलको काम भै रहेको, सालवसाली ठेक्का अन्तर्गतका ४५ वटा योजनाको बोलपत्र आव्हान भै सकेको र अन्य सालवसाली आयोजनाहरु को पनि कार्तिक मसान्त भित्र ठेक्का मार्फत काम सुरु हुने र ४८ वटा योजना मंसिर मसान्तमा उपभोक्ता समिति मार्फत काम सुरु हुने कार्यालय प्रमुख ओझाले बताए ।
कार्यालयले आर्थिक वर्ष ०८१-०८२ मा भने मुख्य रुपमा ११.९ किलोमिटर सडकको नयाँ ट्रयाक निर्माण गरिएको, ६.९ किलोमिटर सडक कालोपत्रे गरिएको, ९.४९ किलोमिटर सडक ढलान गरिएको र २.७२ किलोमिटर सडक ग्रेभलिङ गरिएको कार्यालयका सूचना अधिकारी टंक प्रसाद तिवारीले बताए ।











प्रतिक्रिया