राष्ट्रिय मिनी स्केट म्याराथन हुने


काठमाडौं ।

द स्केट ल्यान्डको आयोजनामा तथा नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघको सहकार्यमा आगामी असोज ४ गते गोकर्णमा पहिलो राष्ट्रिय मिनी स्केट म्याराथन प्रतियोगिताआयोजना हुने भएको छ ।

काठमाडौं सुन्दरीजलको आलापोटबाट शुरु भई गोकर्ण तालिम चोकमा सम्पन्न हुने उक्त प्रतियोगिता ५ किलोमिटरको दूरी रहेको छ । प्रतियोगितामा नेपाल, भारत र दुबईका गरी दुई सय खेलाडीहरुले सहभागिता जनाउने मंगलवार आयोजित पत्रकार सम्मेलनमा आयोजक स्केट ल्यान्डका संस्थापक अब्राहिम राईले बताए ।

नेपालमा पहिलो पटक इनलाइन स्केटिङको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा स्वर्ण विजेताले ५० हजार रुपैंया स्केट सुज, सेफ्टी गियर, रजत पदक प्राप्त गर्नेले ३० हजार र स्केट सुज तथा काश्य पदक प्राप्त गर्नेले १५ हजार रुपैंया र सेफ्‌टी गियर प्राप्त गर्नेछ । नेपालमा हाल सञ्चालनमा रहेको ३ सयभन्दा बढी स्केट पार्कमा रहेका उत्कृष्ट खेलाडीहरु तथा भारतबाट ५० बढी खेलाडीहरु प्रतिस्पर्धाको लागि आउने बताइएको छ ।

प्रतियोगिता आयोजनाको उद्देश्य नेपालमा स्केट खेलको विकास तथा यो खेलमा आबद्ध युवा खेलाडीहरुलाई ब्यावसायिक बनाउने रहेको जनाइएको छ । नेपाल स्केटिङ एन्ड स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल स्केट मिनी म्याराथन प्रतियोगिता भविष्यमा इनलाइन स्केटिङ र स्केट बोर्डिङ खेलले ब्यावसायिक रुप लिन कोशेढुंगा सावित हुने बताए । उनले नेपालमा स्केटका विभिन्न १२ वटा इभेन्ट्स रहेको र त्यसमा इनलाइन स्केटको नयाँ विधामा खेलाडीहरुको ब्यापक सम्भावना रहेको बताए ।

३ वर्ष अगाडि स्थापना भएको द स्केट ल्यान्डका संस्थापक राईले अब नियमित रुपमा प्रतियोगिता गर्ने र इनलाइन स्केट खेललाई सक्रिय बनाउने बताए । उनले भने,“नेपालमा उत्कृष्ट खेलाडीहरु उत्पादन गर्ने र उनीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा एक्सपोजर दिई अन्तर्राष्ट्रिय पदक भित्राउने हाम्रो लक्ष्य हो ।”